जिल्लाको अन्न्पूर्ण गाउँपालिका–६ घार गाउँमा रहेका म्याग्दी जेसीजको अध्यक्षमा सुजन बरुवालले सचिवालयमा आयोजना हुने नियमित मासिक बैठक यसपटक सामूहिक भिडियो कन्फ्रेन्सबाट सञ्चालन गरे ।

उत्तरी म्याग्दीको गाउँमा रहेका बरुवाल सहित कार्यसमिति लगायत १९ जनाले जुम एप्सबाटै भर्चुअल मिटिङ गरी नयाँ वर्ष २०७७ को शुभकामना आदान–प्रदानसँगै विभिन्न योजनाहरूका बारेमा छलफल गरे ।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा सरकारले गरेको तीनसाता लामो लकडाउनले जेसीजमा आवद्ध रहेका सदस्यहरूलाई तालिम सहित विभिन्न गतिविधिका बारेमा जानकारी गराउन पछिल्लो समय सामूहिक भिडियो कन्फ्रेन्सका लागि लोकप्रिय बन्दै गएको जुम एप्सको प्रयोग गरेको अध्यक्ष बरुवालले बताए ।

‘देशभर छरिएका साथीहरूसँग भिडियो कन्फ्रेन्सबाटै योजना बनाइरहेका छौ,‘हामी घरभित्र सुरक्षित भएपनि डिजिलट प्रविधिले नजिक बनाएको छ’ बरुवालले भने । उनले लकडाउनमा समस्यामा परेमा, अस्पताल तथा अन्य आवश्यकता परेमा सहयोग आदान–प्रदान गरिने बताए ।

त्यस्तै कोरोना भाइरस बिरुद्धको अभियानमा खाद्यान्न सहयोग, जनचेतनामुलक कार्यक्रमसँगै बेनीबजारमा पशुचौपायालाई दानापानीको समेत ब्यवस्थापन गरिरहेको लायन्स क्लव बेनी पिस सिटीले समेत हरेक गतिविधिका बारेमा जानकारी गराउन भिडियो कन्फ्रेन्सलाई नै प्राथमिकता दिने गरेको अध्यक्ष नरेश श्रेष्ठले बताए । उनले प्रत्यक्ष कुराकानी गर्न फेसबुक लगायत अन्य एप्सको तुलनामा ‘जुम’ निकै गुणस्तरीय र सजिलो हुने गरेको बताए ।

म्याग्दीको सदरमुकाम बेनीमा रहेका केही निजि तथा सामुदायिक विद्यालयले समेत सञ्चालक समितिको बैठक, एसइई परीक्षको तयारीमा रहेका विद्यार्थीलाई कक्षा सञ्चालन तथा कुनै विषयका शिक्षकसँग कुराकानी गर्न परेमा ‘जुम’ को प्रयोग गर्ने गरेको माउण्ट एभरेष्ट आवासीय माविका प्रधानाध्यापक राजु केसीले बताए।

‘विद्यार्थीलाई एसइईमा सहयोग पुग्ने गरी सामाजिक सञ्जालमा जोडेका छौ,‘उनीहरूको निगरानी पनि हुन्छ’ केसीले भने । उनले दैनिक सम्पर्कमा आउने गरी अभिभावकमार्फत विद्यार्थीलाई पढाईको निगरानी समेत गरिएको बताए ।

भिडियो कुराकानी गर्नका लागि सबैभन्दा उपयोगी माध्यम बनेकाले लक–डाउनमा अनावश्यक रुपमा शिक्षक खोज्दै आउन नपर्ने विद्यालयले जनाएको छ । मोबाइल, ल्यापटप, डेस्कटपमा समेत प्रयोग गर्न मिल्ने भएकाले प्रयोगमा जोड दिने गरिएको छ । लकडाउन अगाडी सामाजिक सञ्जाल फेसबुकबाट मात्रै भिडियो कुराकानी गर्ने गरेकाहरू पछिल्लो समय जुम एप्समा केन्द्रित भएका छन् ।

Leave a Reply