बेनी नगरपालिका-७, मंगलाघाट निवासी सागर राजभण्डारीको नाम हिजोआज नेपाली सञ्चारमाध्यममा छाइरहेको हुन्छ।  डेढमहिना यता विहानदेखि बेलुकीसम्म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ब्यस्त हुने राजभण्डारीले कोरोना भाइरस सम्बन्धि तथा अस्पतालभित्र भइरहेका गतिविधिलाई सञ्चारमाध्यममा जानकारी गराउन समेत खटिन्छन् ।

अस्पतालमै विरामीको चाप बढिरहेको अवस्थामा देशभरबाट कोरोना सम्बन्धि जिज्ञासा मेट्ने जिम्मेबारी समेत उनको काँधमा छ।  विश्वभर कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा संक्रमणको जोखिमलाई मध्यनजर गरी डेढ महिना अगाडी राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक रहेका राजभण्डारीलाई स्वास्थ्य मन्त्रालयले टेकु पठाएको थियो।

चिकित्सा क्षेत्रमा लागेपछि अधिकांस मोफसलमै बसेर सेवा दिएका राजभण्डारीले अहिले बिरामीको उपचार देखि कोरोना भाइरस सम्बन्धि गतिविधिलाई प्रभावकारी बनाउने प्रयासमा छन्।

‘अहिलेको समयमा धेरै सेवामै खटिनुपर्छ,‘बिरामीसँगै मोवाइलमा आउने कलहरुलाई पनि तत्काले जवाफ दिनुपर्ने अवस्था छ’राजभण्डारीले बेनीअनलाइनलाई भने।

सरकारी संयन्त्र बाहेक विभिन्न सञ्चारमाध्यमलाई दैनिक कोरोनाको अपडेट, बिरामीका आफन्तलाई भेट्ने, क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको अवस्थामा बारेमा जानकारी लिन समेत मिलाउनुपर्ने उनको भनाई छ।

‘पेशाको नियमित कामभन्दा ठूलो जिम्मेबारी छ,‘बिरामीभन्दा भेट्न आउनेहरू धेरै चिन्तित देखिन्छन्’ राजभण्डारीले भने ।देशका विभिन्न जिल्लाहरूबाट चिनजानका मान्छेहरुले समेत तथ्य सूचना पाइने आशमा कोरोना संक्रमितको अवस्थाका बारेमा जानकारी लिन फोन गर्ने गरेको बताए ।

उनले अञ्चल अस्पताल बागलुङमा रहेका दुईजना संक्रमितलाई उपचारमा समेत फोनबाटै चिकित्सक र स्वास्थ्यकर्मीलाई हैसला प्रदान गर्ने गरेको बताए ।‘बागलुङमा बेला–बेलामा फोन गरेर सम्झाउँछु,‘त्यहाँ मैले पनि धेरै मेहनत गरेको थिए’ राजभण्डारीले भने । उनले अस्पतालमा सुविधा र उपकरणहरु पठाउन खेल्न सक्ने भूमिका समेत खेलेका छन् ।

अञ्चल अस्पतालमा थपिएका सुविधामा जनप्रतिनिधिहरुले सामाजिक सञ्जालमा बधाई खाइरहेपनि उनले आफ्नो भूमिका निर्वाह गरेका थिए । मेडिकल सुपरिटेण्डेनको रुपमा कार्यरत रहदाँको अवस्थामा सल्यान, दाङ लगायत अन्य केही जिल्लामा समेत त्रसित नहुन र संक्रमणको जोखिमबाट जोगाउन सबै शक्ती प्रयोग गर्न चिकित्सकलाई प्रोत्साहन गर्ने गरेको उनको भनाई छ ।

कोरोना आशंकामा अस्पतालमा स्वास्थ्य जाँचका लागि पुग्नेको संख्या बढिरहेको अवस्थामा अनावश्यक त्रसित हुनुपर्ने अवस्था नभएकाले सामान्य फ्लूका बिरामीलाई पनि कोरोना आशंकामा रिफर गर्ने अवस्थामा आम मानिस र चिकित्सकसहित सम्पूर्णलाई मनोसामाजिक परामर्श आवश्यक देखिएको निर्देशक राजभण्डारीको तर्क छ ।

गाउँदेखि सहरसम्म खटिएका राजभण्डारी
बागलुङ जिल्लाको राङ्खानी हेल्थ पोष्टबाट बि.स २०४१ सालमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका राजभण्डारीले म्याग्दी अस्पतालमा समेत २०५९ सालमा अस्पताल प्रमुखको जिम्मेबारी पाएका थिए । उनले आफ्नै जिल्लामा अस्पताल प्रमुखको जिम्मेबारीमा काम गर्दा तत्कालिन समयमा पिता गोविन्दराज भण्डारीले अस्पतालमै पुगेर दिएको बधाईलाई अझै सम्झिन्छन् ।

प्रधानपञ्च समेत रहेका पिताले आफ्नै जिल्लामा सेवा गर्नुपर्छ भन्ने सन्देश पटक–पटक सम्झिन्छन् । उनले २०६३ सालमा समेत म्याग्दी अस्पतालमा कार्यरत थिए । अञ्चल अस्पताल बागलुङमा करिब ३ बर्षसम्म सेवा दिएका राजभण्डारीले सरुवा रोग बाहेक अप्रेसन सेवाबाट समेत धेरैको ज्यान जोगाएका थिए । सानो स्वास्थ्य समस्या देखिएपनि पोखरा जानुपर्ने समस्यालाई राजभण्डारीले तोड्ने प्रयास गरे ।

राजभण्डारीले मोफसलबाटै सेवा दिँदा धेरै सिक्ने अवसर मिलेको बताए । आफ्नो जन्म जिल्ला म्याग्दीलाई समेत आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको राजभण्डारीको भनाई छ । उनले पछिल्लो समय कोरोना भाइरसको संक्रमणभन्दा फोबियाले थप समस्या पार्ने अवस्थालाई रोक्नुपर्ने अवस्था रहेकाले जिल्लामा कुनै समस्या परेमा सम्पर्क गर्न समेत अनुरोध गरे ।

‘टोल–टोलमा टेष्ट गर्नुपर्छ’
काठमाण्डौमा थप दुई संक्रमित देखिएपछि जिल्लाहरुमा समेत आइडिटी टेष्टको दायरा फराकिलो बनाउनुपर्ने डा. राजभण्डारीको भनाई छ । कोरोना भाइरसको संक्रमण भए नभएको परीक्षण टोल टोलमा पुगेर गरिनुपर्ने अवस्थामा म्याग्दी जिल्लामा समेत उक्त कार्यको प्रयासमा सरोकारवालाहरु लाग्नुपर्ने उनको भनाई छ ।

संक्रमणको आशंका भएकाको परीक्षण गर्ने किट हुने भएकाले त्यसको प्रयाप्त ब्यवस्थापन गरी सर्वसाधारणलाई ढुक्क बनाउनुपर्छ । जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीलाई प्रोत्साहन गदैं तत्कालै गाउँ–गाउँमा पुर्याउन आवस्यक रहेको उनको भनाई छ ।

विदेशबाट फर्किएकासँगै सामान्य रुगाखोकी लागेका विरामीलाई स्वास्थ्यचौकीमै उपचार गर्नुपर्ने बताए । कोरोना बिरुद्धको युद्धमा होमिएका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सबै खालका हतियारहरु उपलब्ध गराउनुपर्ने बताए । यो समयमा काम गर्नेहरुको मुल्याङ्कन भविस्यमा हुने डा. राजभण्डारीको तर्क छ ।

Leave a Reply