विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकारले गरेको लकडाउनले काठमाण्डौको सामाखुसीको भित्र कोठामा बस्ने बेनी नगरपालिका–५ पुलाचौरकी मृगौला पीडित निशा सुबेदी त्रिवि शिक्षण अस्पताललाई नियमित डायलासिसमा भाडाका सवारीसाधन रिजर्भ गरेर पुग्नुपर्ने बाध्यता थियो।

जन्मदिने आमाले मृगौला दिएपछि प्रत्यारोपणको तयारी गरिरहेको अवस्थामा लकडाउनले रोकिएपछि चिकित्सकको सल्लाह अनुसार डायलासिस गर्न जाने गरेकी छन् । लकडाउनपछि डायलासिस गर्न अस्पतालसम्म पुग्न फलामको चिउरा चपाउन सरह हुन थालिसकेको थियो ।

एकपटक होईन पटक–पटक एउटै किसिमको समस्याले निराश भएकी निशाले काठमाण्डौ सहरभित्रै रगतको साइनो र पारिवारिक साइनो भएका आफन्तको नजरमा नपरेपनि आफ्नै प्रयासमा अस्पतालसम्म पुगिरहेकी थिईन्।

रोगले छटपटाइरहेको अवस्थामा एकपटक भेट्न नआएका रगतको सम्बन्ध भएकालाई समस्या सुनाउनु विष सेवन गरेजस्तै महसुस गरेकी सुबेदीले काठमाण्डौमा अस्पतालसम्म लैजाने एउटा सहयोगीको खोजी भित्रभित्र गरेकी थिईन् ।

रोगसँग लडिरहेको अवस्थामा कागजपत्र सहित कोठादेखि अस्पतालसम्म लैजाने सहयोगी मन फेला पारिन् । भगवानले पनि दुखी गरिबलाई नै पिडा दिने बताउँदै आएकी सुबेदीको सम्पर्क म्याग्देली विद्यार्थी परिवारकी अध्यक्ष केशरी शर्माले स्कुटरमा अस्पतालसम्म पुर्याइदिएपछि सजिलो भएको बताईन् ।

‘सहयोगका लागि रगतको साइनो चाहिदैंन्,‘उहाँले मलाई ठूलो गुन लगाउनुभएको छ’ सुबेदीले भनिन् । कोठामा छटपटाइरहेको अवस्थामा म्याग्देली चेलीले नै आएर अस्पतालमा समेत आवश्यक सहयोग गरेको बताईन् ।

‘सबैको सहयोगले यहाँसम्म आएको छु,‘लकडाउन अवधिभर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ’उनले भनिन्। कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्ने अवस्थामा एउटा बिरामीलाई एम्बुलेन्स जस्तै सेवा दिएर मानवीय सेवाको नमुना प्रस्तुत गरेको भन्दै सुबेदीले धन्यवाद दिईन् ।

यता काठमाण्डौमा रहेका विद्यार्थीहरुको हितका लागि स्थापना भएको विद्यार्थी परिवारकी अध्यक्ष शर्माले समस्यामा परेकालाई उद्धारको योजना बनाएको बताईन् ।

उनले संस्थाको बारेमा बेनीअनलाइनले बनाएको समाचार हेरेर सम्पर्क परेपछि दुईपटक अस्पतालमा डायलासिसका लागि लगेको बताउँदै संस्थामार्फत आगामी दिनमा समेत सहयोग गर्ने बताईन् । ‘मलाई समाजिक सेवामा धेरै रुची छ,‘उहाँलाई सेवा दिन पाउँदा धेरै खुसी छु’ उनले भनिन् ।

लकडाउनमा काठमाण्डौमा समस्यामा परेकालाई सकेको सहयोग गर्ने उनको प्रतिबद्धता छ । साउन महिनाको २ गते पिसावमा खरावी देखिएपछि बेनी अस्पतालबाट पोखरा रिफर गरिएको मृगौला पीडित सुबेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप उपचारका लागि काठमाडौं पठाइएको थियो । उनले जन्मिएको छोराको न्वारन समेत अस्पतालमै गरेकी थिईन् ।

Leave a Reply