म्याग्दीबाट ७ दिन हिँडेर काठमाडौं फर्किँदै गरेका वृद्धको मुटु हल्लाउने कहानी !

0
रामेछाप सदरमुकाम मन्थलीनजिकै रहेको सोमवारे हटियाका ६३ वर्षीय भीमबहादुर लामा कामको शिलशिलामा दुई महिनाअघि घरबाट निस्किन लाग्दा ८७ वर्षिया आमाले भनेकी थिइन्, ‘त्यति टाढा नगए हुन्न बाबु ? यता नजिकै काम पाइन्न ? उमेरले पनि नसक्ने भइसकिस्।’

 

छोरालाई रोक्न खोज्दै गर्दा ती बूढी आमाका आँखा रसाएका थिए । ‘नजा त कसरी भनौं ? परिवार पाल्ने तैँ होस् । सकेसम्म नजिकै काम खोजे हुन्थ्यो । ज्यानको ख्याल गरेस् । काम सकेर छिट्टै आउनु,’ गहभरि आँसु पार्दै आमाले दिएको सुझाव मंगलवार साँझ काठमाडौंको नागढुंगामा लोकान्तरकर्मीलाई सुनाइरहँदा भीमबहादुरका आँखा पनि रसाए ।

भीमबहादुरले रहरले घर छाडेका होइनन् । आफूलाई वर्षौंदेखि काम दिँदै आएका मन्थलीका एक ठेकेदारले काम गर्न मन लागेको छ भने म्याग्दीको परियोजनामा जाऊ भनेकाले उनी निस्केका रहेछन् ।

‘चिनेको ठेकेदार हो । यता छैन, काम गर्ने भए उतै हिँड भन्छ, जान्छु आमा, नत्र खर्च चलाउन गाह्रो हुन्छ । तिम्लाई औषधि कसले किनिदिन्छ फेरि ?’ आमासँग गरेको कुरा सम्झदै गर्दा उनी भक्कानिए, र भने– ‘म्याग्दीबाट हिँडेपछि एकपटक पनि फोनमा कुरा गर्न पाएको छैन । मेरो चिन्ताले आमा, श्रीमती, छोराछोरी, नाति–नातिना कति मुर्छित होलान् ?’ उनले लामो श्वास फेरे ।

उनी म्याग्दीको बेनीबाट हिँडेको मंगलवार १९औं दिन भएको छ । यसबीचमा शुरूका २ दिन र पछिल्ला ५ दिन गरी ७ दिन उनी लगातार हिँडे भने बाँकी दिन पोखराको होटलमा बसे ।

रामेछापबाट करीब साढे ३ सय किलोमिटर टाढा म्याग्दीको दरवाङमा ज्यामी काम गर्न जान लागेकोमा भीमबहादुरकी श्रीमती पनि खुशी थिइनन् । तर आफूसहित ७ जनाको परिवार पाल्नुपर्ने दुःख, पीडा र बाध्यातासामु आमा र श्रीमतीको मलिनो अनुहारले उनलाई छोएन । कुरा त उनीहरूको सुने, तर निर्णय आफैं लिए ।

कोरोना भाइरसको त्रास बढेसँगै उनीसँग काम गरिरहेका तीनजना साथी लकडाउन शुरू हुनुभन्दा ३ दिनअघि दरबाङबाट हिँडे । त्यसको भोलिपल्ट उनी पनि हिँड्न खोजेका थिए, तर ‘अन्तिम काम छ, तिमीले नै सकाएर जाऊ, अरूको विश्वास लाग्दैन’ भन्ने सुपरभाइजरको निर्देशनले उनी रोकिए ।

जब उनको काम सकियो अनि उनले अब रामेछाप फर्कनुपर्‍यो भनेर तयारी गर्न थाले । विचरा उनी, त्यतिञ्जेलसम्म लकडाउन शुरू भैसकेको र त्यसको असर स्वरूप गाडी नचलेकोबारे जानकार थिएनन् । जब उनले गाडीको टिकटबारे बुझ्न खोजे अनि मात्र सबै कुरा थाहा पाए ।

‘एकछिन त पत्यार नै लागेन,’ उनले भने, ‘जता सोधे पनि उही (गाडी नचल्ने, हिँड्न नपाइने) कुरा आएपछि पत्याउन बाध्य भएँ,’ उनले भने ।

कमाएको पैसा ठेकेदारले ‘उतै तिम्रो घरमा दिन्छु भनेकाले’ आफूले बुझन् नपाएको उनको भनाइ छ । आफूले पाउने पैसा साहुले सोझै घरका सदस्यलाई दिएको हुनुपर्ने उनको विश्वास छ ।आफूसँग भएको अलिकति पैसाले जेनतेन खान पुग्ला कि भन्ने उनको अनुमान पनि फेल खाइसकेको छ । पोखरामा बास बस्दा आफूसँग भएको पैसा सकिइसकेको उनले दुःख सुनाए ।

‘म्याग्दीको बेनीबाट हिँड्दै दुई दिनमा पोखरा आइपुगें । गाडी पाउने आशैआशामा नौ दिन पोखरामा होटलमा बास बसें । पोखराबाट हिँडेको ५ दिनमा काठमाडौं आइपुगें, अब २ दिनमा कसो घर नपुगिएला ?’ आशावादी देखिँदै लामाले भने ।

मंगलवार घाम डुब्ने बेलामा काठमाडौंको खाल्डोमा प्रवेश गरेका उनलाई अब भने घर पुगिने आशा पलाएको छ । उनी मंगलवार राति भक्तपुरको जगातितिरको प्रतिक्षालयमा बास बस्ने योजनामा थिए । म्याग्दीको दरवाङमा चाहिँ उनले विद्यालय भवन बनाउने काम पाएका थिए ।

यसरी भयो बेनीदेखि काठमाडौंसम्मको यात्रा (भीमबहादुरकै शब्दमा):

म चैतको २ गते नै हिँड्न खोजेको थिएँ । ठेकेदारले बाँकी रहेको काम तपाईंले नै गर्दिनुस् भनेपछि म अलिदिन बसें । काम सकेर हिँड्दा ७ दिन ढिला भयो । सरकारले लामो दूरीका बस चल्न रोक लगाएको रहेछ । बस चल्ने अन्तिम दिन ९ गते साँझ म म्याग्दी सदरमुकाम बेनी आइपुगेको थिएँ । म दुई घण्टा ढिला भएछु । दुई घण्टा छिटो आएको भए, काठमाडौं आउने नाइट बस फेला पर्ने रहेछ । ११ गतेबाट त सहज हिँडडुल गर्न पनि नपाइने भयो, म भने गाडी खुल्ला भन्ने आशामा १३ गतेसम्म बेनीको होटलमा बसें ।

तर पनि म्याग्दीबाट गाडी चल्ने कुनै छाँटकाँट देखिएन । एक जनाले पोखराबाट काठमाडौं जाने गाडी पाउन सकिन्छ भने । त्यसपछि म हिँड्ने निधो गरें । चैत १४ गते बिहानै बेनीबाट म पोखराका लागि हिडें । प्रहरीले भन्दिएपछि मालढुंगामा आएर खाना खान पाएँ । त्यो रात म कास्कीको लुम्लेनिरको काँडेमा बास बसें ।

भोलिपल्ट लुम्लेबाट हेम्जा हुँदै पोखरा आउँदै गर्दा बगरमा प्रहरीले रोक्योे । प्रहरीले कहाँ हिडेको ? हिँड्न पाइन्न भन्यो । मैले मलाई खाने बस्ने व्यवस्था गर्दिनुस्, म यहीँ बस्न तयार छु भनेपछि एकछिन रोकेर छाड्यो । पोखरा बसपार्कमा आएको काठमाडौं जाने एउटै गाडी पाइएन । धेरैबेर कुरें । दुई दिन हिँड्दा थकाइ लागेको थियो । त्यसपछि बसपार्क नजिकैको स्याङ्जा होटलमा बास बसें । सामान्य छाप्रो जस्तो होटलमा एक छाक खानाको १ सय ५० र राति सुतेको १ सय ५० तिर्नुपर्ने । होटलमा चितवनका पाँचजना पनि सँगै थिए ।

बन्द खुल्ला भनेर दिन गनेर बस्यौं । दिन गन्दागन्दै नौ दिन बित्यो । आफूसँग भएको पैसा सकिन थाल्यो । मसँग ३ सय ६० रुपैयाँ मात्र बाँकी भयो । चितवनका युवाहरूले ‘होइन अंकल, अब यसरी बसेर हुन्न । हिँड्दै भएपनि जाऊँ’ भने । उनीहरूले हिम्मत दिएपछि मैले हिँडेरै घर जाने निधो गरें ।

त्यसपछि हामी २७ गते बिहान ३ बजे पोखराबाट हिँड्यौं । होटलवालाले बिहान एककप चिया र बिस्कुट फ्रीमा दियो । अँध्यारोमा हिँडेका थियौं । विजयपुरमा आउँदा उज्यालो भयो ।

बिस्तारैबिस्तारै हिँड्यौं । कास्की र तनहुँको सीमामा पर्ने कोत्रेमा आएपछि प्रहरीले रोक्यो– ‘माथिको आदेश छ, जान मिल्दैन भनेर ।’ एकछिनपछि हवल्दारनी आएर जान दिइन् । प्रहरीचौकी छल्दै जानुहोला भनेर उनीहरूले सल्लाह दिए ।

त्यसपछि हामी पैदलै हिड्यौं । तनहुँको सदरमुकाम दमौली आउँदा रात पर्न लाग्यो । होटलहरू बन्द थिए । घरमा बास माग्दै हिँड्यौं, कसैले बास दिएनन् । तिर्खाले छटपटी हुँदा घरमा पानी माग्थ्यौं, तर कसैले दिएनन् । बाटोमा हिँडिरहेका बेला जब पानीको धारा र साना खोल्सामा पानी भेटिन्थ्यो, संसारै जितेजस्तो हुन्थ्यो ।

पोखराबाट हिँडेको दिन तनहुँमा बास माग्दामाग्दै ओठमुख सुक्यो । एकदम धेरै अनुरोध गर्दा पनि बास पाइएन । साँझपखको समयमा जब हामी बास माग्दै घरको आँगनमा पुग्थ्यौं, मानिसहरू देखेकोनदेख्यै गर्थे । एक शब्द बोल्दा पनि बोलेनन् । पानी माग्दा पनि दिएनन् ।

तर तनहुँको छिर्केनी भन्ने ठाउँमा एकजना लाहुरेनीले हामीलाई बास दिइन् । ‘काल आएको रहेछ भने ठेस लागेर पनि मरिन्छ, आउनुस् म तपाईंहरूलाई बास दिन्छु,’ भनिन् । खाना खान पनि दिइन् । राति हामी तिनै लाहुरेनी दिदीकोमा सुत्यौं । भोलिपल्ट बिहान चिया खाएर हामी हिँड्न शुरू गर्‍यौं ।

मलाई ती लाहुरेनी दिदी नै यो पापी संसारकी साक्षात देवी हुन् जस्तो लाग्यो । खल्तीमा जम्मा साढे ३ सय छ । त्यसैले किनेर खाउँ र सुतौंभन्दा पनि मानिस गाँसबास दिन्नन् । कस्तो स्वार्थी रहेछ सर दुनियाँ त !

मुग्लिनमा आएपछि चितवनका भाइहरू छुटे । मुग्लिन प्रहरीलाई मलाइ ट्रकमा पठाइदिनुस् न भनेको हामीले पठाउन मिल्दैन भने । त्यसपछि म बाटो लागें । दिउँसो मुग्लिनमा चाउचाउ बिस्कुट किनेर खाएँ । केबुलकार (कुरिनटार)निर आइपुग्दा रात पर्‍यो । मुग्लिनमा प्रहरीले केही खानेकुरा दिएको थियो ।

केबलकारभन्दा अलि वर एउटा मन्दिर रहेछ । मन्दिरमा दुईजना साधु थिए । आज राति म यहीँ बस्छु भनें । साधुले ‘बैठो भैया’ भने । उनीहरूले मलाई राति तरकारी दिए । त्यही तरकारीसँग मसँग भएको चिउरा निकालेर खाए । राति त्यही मन्दिरको आडमा सुतें । चिसो न चिसो भुइँ थियो सर । तर हिँड्दाखेरि बेस्सरी गलेकाले होला, भुसुक्कै निदाएछु ।

तेस्रो दिन बिहान ५ बजेतिर उठेर एक्लै हिँड्न थाले । लगातार दुई दिनको हिँडाइले ज्यान गलिसकेको थियो । दिउँसो घाममा आराम गर्दै हिँडें । सडकमा ट्रक र एम्बुलेन्स गुडेका थिए । ठ्याक्कै त कसरी भन्न सक्नु । तर मैले ७०/८० ट्रक र एम्बुलेन्सलाई रोक्नुस् भनेर इशारा गरें । अहँ, कसैले रोकेनन् । त्रिशूली नदीलाई हेर्दैहेर्दै म हिडें । त्यो दिन राति म घाटबेसीमा आइपुगें।

राति म सडक छेउमा रहेको प्रतिक्षालयमा सुतें । गाडी हिँडेका थिए । सुतेको ठाउँमा कुकुर थिए । झिंगा भन्केका थिए । कुकुरले मलाई चाटिरहेको जस्तो लाग्थ्यो । तर यति थकाइ लागेको थियो कि सुत्नासाथ झ्याप्प निद्रा लाग्यो । सपना के देखें भन्ने कुरा सम्झिन सकिनँ । दिउँसो त्यहीँ चिउरा, बिस्कुट र पानी किनेर खाएँको थिएँ । रातिका लागि मसँग खानेकुरा केही थिएन । पानी तिर्खा लागेको थियो । भोक लागेको थियो, तर न खाने कुरा किन्ने ठाउँ खुला छ, न त आफूसँग खाने कुरा छ । त्यो रात भोकै सुतें ।

चौंथो दिन दिनभरी हिँडेपछि गल्छीभन्दा अलि माथि मच्छेटार भन्ने ठाउँमा आइपुगें । दिउँसो गजुरी प्रहरीका इन्सपेक्टरले ३ वटा चाउचाउ दिएका थिए । बाटोमा पानी थापें र चाउचाउ खाँदै हिँडे । शुरू–शुरूमा ट्रकलाई हात दिएको कसैले रोकेनन्, त्यसपछि मैले रोकाउनै छाडें । चौथो रात मच्छेटार (ठाउँको नाम अहिले ठ्याक्कै बिर्से) मच्छेटार नै जस्तो लाग्छ । त्यहाँ बिताएँ । त्यो रात पनि मेरो पेट खाली रह्यो । दिउँसो चाउचाउ र पानी खाएकै थिएँ । साँझ न खाना दिने कोही भेटिए न किन्ने पसल भेटें । चौंथो रात पनि भोकै सुतें ।

आज बिहान मच्छेटारबाट हिँडेको घाम अस्ताउने बेला काठमाडौं आइपुगें । आज राति भक्तपुरमा बास हुन्छ होला । अघि नागढुंगामा प्रहरीले रोक्यो । बेकारमा मलाई दुई घण्टा नागढुंगामा रोक्यो । मेरो हिँड्ने ट्याम (समय) खेर गयो । नत्र म अहिले कलंकी पुगिसकेको हुन्थें । भोलि (आज बुधवार) भक्तपुरबाट काभ्रे कटेर झाँगाझोलीसम्म पुग्न सक्छु कि भन्ने लागेको छ । त्यसपछि पर्सि (बिहीवार) म खाल्डेबाट झोलुंगे पुल तरेर पुरानो बाटो हुँदै मन्थली लाग्छु ।

Source: यो खवर हेर्न लोकप्रिय अनलाइन lokaantar.com जानुहोला

Leave a Reply