विश्वभर कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपालले पनि उच्च सतर्कता अपनाउँदै लकडाउन गरेपछि घरभित्रै सुरक्षित छन् । लकडाउनको तेस्रो सातासम्म सर्वसाधारण अत्यावसेक नभएसम्म बाहिर निस्किएका छैनन् । सहरबजारमा भाडामा ब्यवसाय गरेकाहरु समेत घर फर्किएका छन् ।

यही मौकामा छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका–३ बौरमा एक अज्ञात समुहले अनौठा शैलीको प्रयोग गरी चोरी गरेको पाइएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएका बिमल खत्रीको फ्रेस हाउस र खाजा घर चोरी भएको हो । चोरीमा संलग्नले केही नगद लगेर टन्न मासु र मदिरा सेवन गरी फरार भएका छन्।

लकडाउनको समयमा सञ्चालक गाउँ गएको सुईको पाएपछि घरको पछाडीबाट ताल्चा फोरेर घरभित्र पसेर चोरी गरेको वारीबेनी प्रहरी चौकीका इन्र्चाज भरत गौतमले बेनीअनलाइनलाई बताए ।‘पसलका मालिक बाहिर गएको मौकामा चोरी भएको छ,‘भित्रको अवस्था हेर्दा चिनजान गरेको मान्छे हुनसक्छ’ गौतमले भने ।

चोरी गर्न गएकाहरु भित्र प्रवेश गरेपछि ढुक्कसँग मासु र मदिरा खाएर बस्नु नै फ्रेस हाउसका सञ्चालकलाई नजिकबाट चिनजान गरेको हुनुपर्ने प्रहरीको भनाई छ ।‘चोरीको शैली देखेर प्रहरी समेत चकित परे,‘पाहुनाजस्तै बसेर चोरी गरेको देखिन्छ’ एक स्थानीयले भने ।

चोरीमा संलग्नहरु हतारहतारमा चोरेर फरार हुने गरेको अवस्थामा फ्रेस हाउसमा प्रवेश गरेकाले फ्रिजमा राखेको मासु र रक्सी किचनमै पकाएर खाएपछि बाहिरिएको जस्तो देखिएकाले चिनजानको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

फ्रिजमा भएको मासुलाई किचनमा पकाएर मदिरा समेत प्रयोग गरेको अवस्थामा केहीरात लगातार प्रवेश गरेको हुनसक्ने अनुमान प्रहरीको छ । यता सञ्चालक खत्रीका अनुसार सिरानी मुनी राखेको ४ हजार नगद समेत चोरी भएको छ ।

लकडाउनका कारण सुनसान जस्तै भएको मौकामा बौरमा प्रवेश गर्ने सम्पूर्ण नाकाहरु समेत बन्द भएकाले घरबाट फर्किन समस्या हुने देखेर चोरीमा संलग्नहरुले केही रात विताएजस्तो देखिएको स्थानीयको भनाई छ ।

चोरीमा संलग्नले घरको पछाडीबाट तिन वटा ताल्चा तोडेर दराज, सुत्ने विस्ताराको समेत प्रयोग गरेका छन् । सञ्चालकले करिब ४० हजार बराबरको क्षती भएको बताएका छन् । पसल चोरी भएजस्तै देखिएपछि छिमेकीले खवर गरेका थिए ।

Leave a Reply