शब्द÷तस्विर : प्रताप बानियाँ… विश्व यतिबेला कोरोना भाइरसको विरुद्ध लडिरहेको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड–१९) का विरुद्धमा विश्वका विभिन्न मुलुकहरुले लकडाउन जारी राखेका छन् । गएको डिसेम्बरको अन्तिम साता छिमेकी मुलुक चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विस्तारै एसियाभन्दा पनि युरोपका ठूला मुलुकहरुमा व्यापक रुपमा फैलिरहेको छ । हाम्रो देश नेपाल पनि कोरोना भाइरसको संक्रमणबाट अछुतो रहन सकेन । विश्वमा कोरोनाले विकराल रुप लिएपछि नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै अन्य कार्यक्रमहरु स्थगित ग¥यो । देशमा लकडाउन घोषणा गरी घर बाहिर आवतजावत रोकिएको छ । यसै सन्दर्भमा सरकारले भिजिट नेपाल २०२० का सबै कार्यक्रमहरु स्थगित गरेको छ । विश्वमा नेपाललाई चिनाउने गरी भ्रमण वर्षसम्बन्धी विभिन्न कार्यक्रमहरु तय गरिएको र पर्यटकीय सिजन सुरु भएको समयमा कोरोनाले सबै क्षेत्र नराम्ररी प्रभावित बनाएको छ । हिमाली जिल्ला म्याग्दी आफैमा पनि सुन्दर, आकर्षक र मनमोहक जिल्लाको रुपमा चिनिन्छ। संसारको सातौं अग्लो धौलागिरी र दशौं अग्लो अन्नपूर्ण हिमालसहित दजनौं हिमश्रृङ्खलाहरु म्याग्दीमा पर्दछन् ।म्याग्दी जिल्लाको जुनसुकै डाँडाकाँडामा पुग्दा पनि हिमाल नदेखिने ठाउँ सायद कमै होला । यस्तैमध्येको एउटा पर्यटकीय आकर्षण बोकेको गज्जबको गन्तव्य हो, प्रसिद्ध जगन्नाथ मन्दिर, गाजने गाउँ, केभहिल र ऐतिहासिक डढेकोट राजदरबार क्षेत्र । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित केभहिल पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढिरहेको छ । केभहिलमा अहिले निर्माणाधीन अवस्थामा जगन्नाथ भ्यु–टावर रहेको छ । म्याग्दीमा रहेका पर्यटकीय गन्तव्यका क्षेत्रहरुमध्ये केभहिल पनि एक हो । कभेहिलबाट म्याग्दी जिल्लाको साविकका ४१ गाविसहरुमध्ये ३६ ओटा गाविसहरु देखिनुका साथै छिमेकी जिल्ला बागलुङ र पर्वतलगायत अन्य जिल्लाको समेत डाँडाकाँडाहरु देख्न सकिन्छ ।यसैगरी धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथी, गूर्जा, चुरेनसहितका झण्डै डेढ दर्जन हिमाल तथा मनोरम हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । केभहिल नजिकै रहेको वनमा लालीगुराँस फुलेको पनि हेर्न पाइन्छ ।जगन्नाथ मन्दिरमा पुजाआजा र दर्शन गरी नजिकै रहेको केभहिलमा पुगेर रमाउन सकिन्छ । केभहिल र गाजने गाउँबाट करिब आधा घण्टाको दुरीमा ऐतिहासिक डढेकोट राजदरबार रहेको छ । त्यहाँबाट पनि आकर्षक दृश्यवलोकनसहित मनोरम हिमश्रृङ्खलाहरु नियाल्न सकिन्छ । प्रकृतिको अनुपम उपहारका रुपमा रहेको केभहिलको आफ्नै विशेषता छ । कोरोना भाइरसको विरुद्ध जारी लकडाउनको अवस्थाले गर्दा यतिबेला केभहिलसहित थुप्रै पर्यटकीय क्षेत्रहरु सुनसान बनेका छन् । वनजङ्गलमा ढकमक्क लालीगुराँस फुलिरहेको छ । कोरोना भाइरसको विरुद्ध लँडाई लड्नुपर्ने अवस्थाका कारण पर्यटकहरु नपुग्दा ती पर्यटकीय गन्तव्यका क्षेत्रहरु सुनसान मात्रै होइन रुँदै पर्खिरहेका छन् । लालीगुराँस भन्दैछन्, पर्यटकहरु आएर टपक्कै टिपेर सिरमा सिउरन्थेहोला । तर, अहिले लालीगुराँस त्यत्तिकै ओइलिएर झर्नेछ, कसैले पनि टिपेर लैजाने छैनन् । त्यसैले यसपटक यस्तै अवस्था रहेपनि छिट्टै कोरोना भाइरसबाट विश्व मुक्त होस् अनि पर्यटकीय क्षेत्र घुमौंला, रमाउला अहिलेका लागि भने यही नै कामना गरौं ।

Leave a Reply