आफैंले राखेको नाम

आफैंले बिर्सिने पण्डितहरुजस्तै

आफैंले दिएको आश्वासन

आफैं बिर्सिने नेताहरुजस्तै

आफैंले खाएको कसम

आफैंले बिर्सिने प्रेमी–प्रेमिकाजस्तै

उनीहरुले पनि बिर्सिएका हुन्

आफ्नो घर, गाउँ र माटो

तर, आज फेरि ‘सुरक्षा’ खोज्दै

दाजै ! उनीहरु गाउँ आएका छन् ।

भुलेर रन–वन, पाखा–पखेरा

सरापेर पूख्र्याैली घरगाउँ

रमाएर शहर र रेमिट्यान्समा

बाहना बनाउँदै बुढेसकालका बाआमा

पठाउँदै बृद्धआश्रमहरुमा

भर्खर जन्मेका नाबालक सन्तान रुवाउँदै

जर्बजस्त राखेर होस्टेलहरुमा

उनीहरु गएका थिए शहर

शहरभन्दा पर–परदेश ।

गाउँमै हलो जोतेर,

घन हानेर खाने बले दाइ

श्रम बेचेर जिविका चलाउने हर्के काका

दैनिक ज्यालामा काम गर्ने अमिकला भाउजू

असीन पसीन भएर घरगोठ गर्ने साइँली दिदी

यी सबलाई तिनीहरुले

लाहुर र शहरबाट आउना साथ

निकै स्मार्ट बनेर भने थे–

यस्तो गाउँमा पनि अब को बस्छ ?

उजाड बन्दै गरेका घरहरुमा

ऐठन हुन्छ होला सुत्दा पनि

यस्तो ठाउँमा अब को बस्ला ?

त्यसबखत

एकसाथ भनेथे गाउँलेले–

यो गाउँमा तबसम्म बसिरहनेछन् मानिसहरु

जबसम्म ‘आदर्श’ र ‘इमान’हरु बाँकी रहनेछन्

हामी गाउँलेलाई यति मात्र थाहा छ

बैंशको रहरको शहरहरु त

पैसाको रहरको परदेशहरु त

बर्षाैंमा ‘लाहुरे’ घरगाउँ आउँदा

बसाउन छर्किने अत्तरजस्तै न हो ।

हामी गाउँलेलाई त

गाई, भैंसी, बाख्राका गोबर पनि बसाउँछन्

र त मल बनाउँछौं, हुर्काउछौं अन्नबाली

र हात फैलाउनुपर्दैन सरकारले जस्तो

लाजसमेत लजाउने गरी देश दुनियाँमा

हामीलाई तिमी ‘लाहुरे’ दाइजस्तो

कदापि कृत्रिम बसाउनु छैन

रुवाएर आफन्त, मारेर आफ्नै आत्मा

देखावटी हाँसो हसाउनु छैन

आफ्नै मान्छे पनि अपरिचित ठान्ने

आफ्नै मान्छे पनि बिरानो लाग्ने

त्यो शहर, त्यो परदेशभन्दा

बाँच्नुको नाममा सबथोक गर्न तयार

त्यो शहर, त्यो परदेशभन्दा

हाम्रो गाउँ कति हो कति सुन्दर छ

हाम्रो ठाउँ कति हो कति पवित्र छ ।

ओ, दाजै !

देशमा आउने हर संकट र विपत्तिमा

हर मान्छेको सम्झनामा आउँछन् गाउँघर

जसरी हर मानिस खुट्टामा ठेस लाग्दा

एैया ! आमा भन्दै आफ्नी आमालाई सम्झन्छ

हो, दाजै !

अहिले ‘आदर्श’ र ‘इमान’हरु मात्र होइन

गाउँमै छन् ‘शान्ति’, ‘सुरक्षा’ र ‘सन्तुष्टि’ पनि

जहाँ,

क्रान्ति गर्छौं भन्नेहरुलाई पनि

पटक–पटक दिइएको थियो आश्रय

संरक्षण र न्यानो आतिथ्य

भलै ती कथित क्रान्तिकारीले बिर्सिए

गाउँ बदल्छु भन्ने अठोटहरु ।

दिल शिरीष..–बाग्लुङ

Leave a Reply