म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ रुम पात्लेका दर्पण घर्ती लकडाउनका कारण घरमा आउन नपाएपछि पोखरामा अलपत्र परेका छन् । विगत ६ महिनादेखि काँस्कीको घाटीछिना भन्ने ठाउँमा सडक निर्माण कार्यमा कामगर्दै गरेका घर्ती सहित म्याग्दी,रोल्पा,दाङ,वर्दिया लगाएतका जिल्लाका पचास भन्दा बढि मजदुरहरु कोही हिडेरै आफ्नो गृहजिल्ला तिर लागेका छन् भने कोही पोखरामा नै अलपत्र परेका छन् ।

सडक निर्माणको जिम्मा लिएको ठेकेदार शेरबहादुर भन्ने व्यक्ति सम्पर्कमा नआएपछि सडक निर्माणमा खटिएका मजदुरहरुको विचल्ली भएको पीडित दर्पण घर्तीले टेलिफोनमा बताए । पीडित घर्ती भाइ कृष्ण घर्ती भाडामा बस्दै आएको पोखराको सिद्धार्थ चोक स्थित एक घरमा आश्रयको लागि पुगे । त्यहाँ घरबेटीले बस्न नदिएपछि अलपत्र परेका घर्तीलाई पोखराकै मनकारी सूर्य प्रसाद बरालले आश्रय दिएका छन् ।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका १ गुर्जा घर भै बेनी नगरपालिका वडा नं २ बगरफाँटमा ज्याला मजदुरी गर्दै आएका जसविर विक,लक्षुमन विक,जीवलाल विक र कालु विक गाउँ जान नपाएपछि बगरफाँटमा नै अलपत्र परेका छन् ।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरु लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि भोकभोकै वस्नुपर्ने अवस्था आएको बताएका छन् । वडा कार्यालयले दिएको राहत (खाद्यान्न) सकिएको र अव खानाका लागि आफूहरुसंग केही नभएकोले भोकभोकै वस्नु पर्ने अवस्था आएको लक्षुमन विकले बताए ।

आफ्नो गाउँ गुर्जा जानभनेर धवलागिरि गाउँपालिकाको धारापानीसम्म पुगेका विक त्यहाँबाट अघिवढ्न स्थानीयले नदिएपछि बाध्यभएर फर्किनु परेको बताउँछन् ।यी केही प्रतिनिधि पात्रहरु मात्र हुन् ।

म्याग्दीका विभिन्न ठाउँहरुमा यस्तै अलपत्र अवस्थामा रहेका गरिब र श्रमिकहरुको संख्या धेरै छ । यसरी विभिन्न ठाउँहरुमा अलपत्र परेका मजदुरहरु आफ्नो गाउँ फर्किन चाहन्छन् । तर,कोरोनाको संक्रमणबाट जोगिन विभिन्न ठाउँका नाकाहरुमा ओहोरदोहोर हुन नदिनका लागि बार लगाएर हिड्डुल गर्न प्रतिवन्ध लगाएपछि उनीहरु गाउँ जान सकेका छैनन् ।

म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि,सामाजिक संघसंस्था र केही मनकारी व्यक्तिहरु अलपत्र परेका,खान र बस्नको समस्या भएका व्यक्तिहरुको उद्धारमा लागेका छन् । तर ठाउँठाउँमा लगाइएका बारका कारण उनीहरु ती व्यक्ति वा संघसंस्थाको पहुँचसम्म पुग्न सकेका छैनन् ।
आश्रय पनि पाएका छन्  :दालभात पनि खाएका छन्

मनकारी व्यक्ति, र सामाजिक संघसंस्थाको सम्पर्कमा आएका केही गरिब र श्रमिकहरुले भने राम्रै सुविधा र आश्रय पनि पाएका छन् । म्याग्दी सदरमुकाम बेनीमा सडकमै अल्पत्र अबस्थामा भेटिएकाहरुलाई एक परिवारले निःशुल्क खानाको ब्यबस्था गरेका छन् । विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत आबद्ध रहेका नेकपाका युवा नेता बालकृष्ण सुवेदीको परिवारले बेनीका सडकमा रात विताउँदै आएकाहरु लकडाउनबाट थप समस्यामा परेपछि निःशुल्क खाना खुवाउन थालेको छ ।

लकडाउनको समयमा बेनीका सडकमा अल्पत्र र वेवारिसे अबस्थामा भेटिएका ८ जनालाई जिल्ला प्रहरी कार्यालयको अगुवाईमा उद्धार गरि बेनीको खुलामञ्चका रहेको स्टेजको टहरामा राखिएको छ ।
खुला आकासमुनी रहेकाहरुलाई उद्धार गरि एकैठाउँमा राखेर उनीहरुलाई अरुको सम्पर्कमा जान नदिने र निशुल्क र सहज रुपमा खाना खाने र सुत्ने ब्यबस्था मिलाईएको छ ।

सडकमा वेवारिसे मानिसहरु भेटिएपछि उनीहरुलाई पनि खानाको लागि समस्या नहोस भन्ने उदेश्यले आफुहरुले विहान र बेलुका भोजनको ब्यबस्था गरेको सुवेदीले बर्ता । ‘घरमै खाना पकाएर ल्याएर खुवाउने गरेका छौँ, वेवारिसे र अल्पत्र परेकाहरुलाई कम्तीमा भोकै बस्न नपरोस भन्ने हाम्रो चाहना हो’–सुवेदीले भने ।

संक्रमणबाट जोगिन बार लगाउनुको विकल्प रहेन
मानिसबाट मानिसलाई नै संक्रमण हुने कोरोनाबाट बच्न पूर्व सावधानीको पहिलो उपाय भनेकै मानिस मानिसबीचमा दुरी कायम गर्नु नै हो । दुरी कायम गर्नका लागि शारिरीक रुपमा एकअर्काको नजिक नआउनु र बढि चहलपहल हुन नदिन जिल्लाका विभिन्न ठाउँहरुमा बार नै लगाएर सडक मात्र होइन चल्तीका पैदलमार्गमा समेत हिड्डुल गर्न नदिनुको विकल्प नरहेको स्थानीय युवाहरुले बताएका छन्।

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका सानालेखमा बागलुङको मालिकासंग सीमाना जोडिएको ग्रामिण सकडमा स्याउला र काठको बार लगाएर स्थानीय युवाहरु पालो गरी बस्ने गरेका छन् । यस्तै अवस्था जिल्लाका सवै स्थानीय तहका वडाहरुमा रहेको छ ।

सुरक्षित हुने एउटा उपाय बाहिरबाट आउने जुनसुकै व्यक्तिलाई पनि गाउँमा प्रवेश नदिइनु भएता पनि यसवाट गरिब र श्रमिकहरु भने मारमा परेका छन् । ज्याला मजदुरीका लागि गाउँबाट बाहिर गएकाहरु आफ्नै गाउँमा फर्किन नसक्दा विभिन्न ठाउँमा अलपत्र पर्नु परेको उनीहरुले बताएका छन्।

Leave a Reply