जेनिशा पुरी/ कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनको महिना दिन पुग्नै लागेको छ । सहर–बजारमा घर भएकाहरू भाइरसको जोखिमबाट जोगिन घरभित्रै सुरक्षित छन्। उनीहरूसँग महिनादिन पुग्ने खाना छ ।

सहरमा डेरा गरेकाहरु गाउँ फर्किएका छन् तर, भारी बोकेर छाक टार्नेहरु, सडकपेटीमा सुत्ने, परिवारविहिन भएकालाई लकडाउनले भोकभोकै बस्नुपर्ने अवस्था आएको छ । सडकमा मागेर ज्यान पाल्नेहरू र दिनहुँ पसिना बगाएर परिवार पाल्ने र गुजारा टार्नेहरुलाई गाँस बासको चिन्ताले थप सताइरहेको छ ।उनीहरूलाई कोरोना भाइरसको संक्रमणभन्दा पनि विहान–बेलुकी हातमुख जोड्ने समस्याले सताइरहेको देखिन्छ । सडकमै खाने, सडकमै सुत्नेसँगै विभिन्न जिल्लाबाट घर बनाउने ज्यामी काम गर्नेलाई लकडाउनले बेरोजगार मात्रै बनाएको छैन खानबस्ने ठाउँ समेत नभएपछि खुल्ला आकाशमा दिन विताउन बाध्य छन्। यस्तै समस्यामा परेकालाई केही मनकारीले आफ्नो भान्सामा पाक्ने खाना खुवाइरहेका छन् ।

जसको एउटा उदाहरण म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा भेटिन्छ । कोरोना भाइरसको जोखिम र भोकभोकै बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बजार क्षेत्रबाट उद्धार गरी एकैठाउँमा राखिएका ९ जनालाइ बेनीबजारका एक दम्पत्तीले दैनिक विहानबेलुकी खाना खुवाउने गरेका छन् । आफ्नो लागी घरभित्र पाक्ने खाना बेसहारालाई खुवाएर मात्रै खान्छन् ।

बेनी नगरपालिका–८ गणेशटोलस्थित लिटल गार्डेन एकेडेमीका सञ्चालक बालकृष्ण र धर्मपत्नी कमला सुबेदीले निःशुल्क खाना खुवाउने पवित्र अभियान सुरु गरेका छन् । ‘यो कार्यलाई लकडाउन अवधिभर निरन्तरता दिन्छौ,‘विगत पाँचदिन देखि हामीले एउटै खाना खाइरहेका छौ’ कमलाले भनिन् । उनले सडकमा भोकभोकै बस्नेहरुलाई सेवा गर्न पाउँदा खुसी लागेको बताईन् ।

मानिसबाट मानिसलाई नै संक्रमण हुने कोरोनाबाट बच्न पूर्व सावधानीको पहिलो उपाय भनेकै मानिस मानिसबीचमा दुरी कायम गर्नु पर्ने अवस्थामा बजार क्षेत्रमा थप समस्या हुने देखेर अलग्गै राखेर नियमित खानाको सुविधाले दिनभरि माग्ने, दिनभरि काम गरी साँझ मदिरा सेवन गरी सडकमै सुत्नेहरु समेत खुल्लामञ्चमै जानुपर्ने बाध्यता भएपनि सन्तुष्ट छन् ।विहानै देखि धूम्रपान र मध्यपानले सडकमै सुत्ने गरेका केही अम्मलीहरू समेत खुसी छन् । चिसोमा सुत्नेलाई बेनीका उद्योगपति प्रमोद श्रेष्ठले उपलब्ध गराएको म्याटमा सुत्न पाएपछि सन्तुष्ट छन् । करिब तीनमहिना अगाडी म्याग्दीमा सडकमा काम गर्न आएका नारायणगढका पूर्ण कार्की एकसातासम्म भोकभोकै बस्नुपरेको अवस्थामा निशुल्क खाने सुविधाले बाँच्ने आसा पलाएको बताए।‘काम गर्न नपाउँदा छटपटि भइरहेको छ,‘मदिराको अम्मलीहरुलाई केही समस्या देखिन्छ,हामीले पाए खाइन्छ, सधै चाहिदैन’ उनले भने । मद्यपान र धूम्रपान गर्न नपाएपछि बिरक्तिएकालाई समेत निगरानीमा राखिएको छ ।बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै बेनीबजारका यूवाहरुले समेत विभिन्न रचनात्मक कार्यहरु गरिरहेका छन् ।

Leave a Reply