बेनीका युवा व्यवसायी नारायण जिसीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन अग्रपक्तिमा रहेर खटिएका सुरक्षा निकाय,स्वास्थ्यकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।
जिसी क्रसर उद्योगका संचालक समेत रहेका युवा व्यवसायी जिसीले शनिबार नेपाली सेना,शसस्त्र प्रहरी र म्याग्दी मिडिया सोसाइटीलाई मास्क,स्यानीटाइजर र हातधुने साबुन हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनालाई २०० पिस मास्क,एकसय पिस लाइफब्वाई साबुन, र एकलिटर हेनी स्यानीटाइजर र शसस्त्र प्रहरीलाई एकसय पिस मास्क,पचास पिस साबुन र एकलिटरको स्यानीटाइजर सहयोग गरेको जिसीले बताउनुभयो ।

यसै गरी नियमित रुपमा समाचार संकलनमा खटिएका पत्रकारहरुलाई पचास पिस मास्क र एकलिटर स्यानीटाइजर जिसीले म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीलाई हस्तान्तरण गर्नुभएको छ । दैनिक रुपमा समाचार संकलनमा खटिएका पत्रकारहरुलाई स्वास्थ्य सामग्रीले ठूलो सहयोग पुग्ने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी लकडाउनका क्रममा अग्रपक्तिमा रहेर रोकथाम र नियन्त्रणमा खटिएका सुरक्षा निकायका तिनवटै अंग,स्वास्थ्यकर्मी र पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउन आफूले उक्त सामग्री सहयोग गरेको जिसीले बताउनुभयो ।

एक नगरपालिका,बेनी अस्पताल र पाँचवटै स्थानीय तहका स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले पाउने गरी दुईहजार पाँचसय पिस मास्क र ४० लिटर हेनी स्यानीटाइजर वितरणको तयारी भइरहेको उहाँले बताउनुभयो । सवै सामग्री बेनी आइपुगेको र केही दिन भित्र स्थानीय तहका स्वास्थ्य संयोजक मार्फत स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण गरिने उहाँले बताउनुभयो ।

यस अघि जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई १० लिटर स्यानीटाइजर जिसीले सहयोग गरिसक्नुभएको छ। जिसीकै अगुवाईमा सदरमुकाम बेनी,दरवाङ,रत्नेचौर,पोखरेबगर र पर्वतको जलजला लगायतका क्षेत्रहरुमा क्लोरिनपानी छर्किएको थियो । शनिबार पनि बेनीमा क्लोरिनपानी छर्किएको छ ।

Leave a Reply