कोरोनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमले ग्रामिण बस्तीहरू समेत सुनसान छन् । सरकारले जारी गरेको लकडाउनले एक गाउँबाट अर्को गाउँमा प्रवेश गर्ने सडक तथा पैदलमार्गहरु बन्द गरिएको छ । नाका–नाकामा बार लगाइएको छ ।

गाउँभित्र समेत छिमेकीको घरमा समेत जान डराउनुपर्ने अवस्थामा उमेर नपुगेका एक जोडीले लकडाउनको मौका छोपी सुटुकक भागेर विवाह गरेपछि जनप्रतिनिधि, प्रहरी र बाल सञ्जालको प्रयासमा बदर गरिएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीकी १५ बर्षिया किशोरी र मंगला गाउँपालिका–३ का १९ बर्षिय किशोरले बैशाख १ गते भागेर विवाह गरेको जानकारी पाएपछि जनप्रतिनिधि, समुदायका अगुवा र नेपाल युथ काउन्सिलका प्रतिनिधिको प्रयासमा जिल्ला प्रहरी कार्यालयमा कानूनले तोकेको उमेर नपुग्दै भएको बालविवाहलाई बदर गरी दुवैजनालाई अभिभावको जिम्मा लगाइएको थियो ।

विद्यालय उमेरमै भागेर विवाह गरेको जानकारी पाएपछि किशोरकिशोरीका अभिभावकलाई बोलाएर कानुनले तोकेको उमेर पुगेपछि विवाह गर्ने सहमतिमा छोडिएको स्थानीयको भनाई छ । विवाहयोग्य उमेर २० बर्षको भएपनि भागीविवाह गरेका किशोरकिशोरीलाई अभिभावकले समेत अघोषित रुपमा साथ दिएको बुझिएपछि प्रहरी चौकी सिंगा तातोपानीका सरोज थापा सहितको टोली घरमै पुगेको थियो ।

‘अहिले आफ्नै घरमा बस्ने, उमेर पुगेपछि विवाह गर्ने सहमति भयो,‘नगरपालिकाभित्रै कलिलै उमेरमा विवाह गर्ने रोकिएको छैन’ बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भने । उनका अनुसार लकडाउनलाई कार्यान्वयनमा ब्यस्त रहेको बेलामा गाउँबाट बालविवाह भएको जानकारी पाएपछि आवश्यक सहयोग गरेको बताए ।

गाउँमा कम उमेरका किशोरकिशोरीको विवाहको तयारीका बारेमा जानकारी पाएलगत्तै संस्थामा आवद्ध सदस्यलाई बुझ्न पठाउने, वडा कार्यालयबाट जन्ममिति तथा अन्य आधिकारिक विवरणको खोजी २० बर्ष पार नगरेको भेटिएमा तत्काल प्रहरीलाई जानकारी दिने गरिएको नेपाल युथ काउन्सिल म्याग्दीका अध्यक्ष छवि आर्चायले बताए ।

उनले बैशाख महिनामा ग्रामिण बस्तीमा परिवारकै मिलेमतोमा समेत विवाह हुन सक्ने भन्दै जानकारी गराउन अनुरोध गरेका छन् । चिनजानमा रहेका किशोकिशोरी बिच प्रेम झाँगिएमा १५ बर्षकै उमेरमा विवाह गर्ने गरेको अवस्थामा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्ने गरिएको बताए । उमेर नपुग्दै विवाह गर्नेहरुले आधारभुत तहमै पढाई छोड्ने गरेको अवस्थामा यसबर्ष बेनी नगरपालिका, मंगला, धवलागिरी गाउँपालिकामा बालविवाह रोकिएको छ ।

Leave a Reply