झण्डै तीनमहिना अगाडी म्याग्दीमा सडक बनाउने काम गर्न आएका नारायणगढ गितानगरका पूर्ण कार्की एकसातासम्म भोकभोकै बसे। कोरोना त्रास र जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनको मौका छोपी ठेकेदारले अलपत्र छोडेर भागेपछि बेनीको खुल्लामञ्चमा भेटिएका कार्कीले खानेबस्नेको अभाव भएपछि करिब एक साता खुल्ला आकाशमै भोकभोकै रात विताए ।

घर जान भनेर झोला ठिक्क परेको अवस्थामा ठेकेदार सम्पर्क विहिन भएपछि कार्कीसँगै काम गर्ने नुवाकोटका कान्छा मिजार समेत खुल्लामञ्चमै छन् । निर्माणसम्बन्धि कामको खोजीमा बेनीमा आएका मिजारको समस्या पनि उस्तै छ । ‘दुई चार पैसा कमाउन आएका थियौं, लकडाउनले खुल्लामञ्चको बास बनायो’ कार्कीले भने । घरपरिवार नभएर पाटीपौवामा बस्नुपर्ने अवस्था नभएपनि ठेकेदारले बेइमानी गरेपछि पैदल हिडेर जाँदा बाटोमा समस्या हुने देखेर मागेर गुजारा गर्नेहरुसँगै बसेको कार्कीको भनाई छ । दिनहुँ पसिना बगाएर परिवार पाल्ने र गुजारा टार्नेहरुलाई यो बन्दले ठूलो समस्या पारेको भन्दै उनले भविस्यको चिन्ताले सताउने गरेको बताए ।

‘लकडाउनले काम पनि खोस्यो, माम पनि खोस्यो’ खुल्लामञ्चमा बेनीअनलाइनसँग कुराकानी गदैं उनले भने । मानवीय धर्म नभएको ठेकेदारले छोडेपछि अलपत्र अवस्थामा दिन विताइरहेको भन्दै ठेकेदारप्रति कुनै गुनासो नभएको बताए ।

केही समय पेटी ठेकेदारको रुपमा समेत काम गरेकाहरु समेत भोकभोकै फर्किएको बताए । काम गरेको पैसा समेत नपाएको उनको गुनासो छ।हिडेर जान सम्भव नभएको बताउँदै बेनीबजारको सडकमा बेवारिसे तथा मानसिक सन्तुलन गुमाएका तथा घरबारविहीनहरूसँगै एकैठाउँमा बसेका छन् ।

कोरोना भाइरसको जोखिम र भोकभोकै बस्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बजार क्षेत्रबाट जिल्ला प्रशासन, प्रहरीको सक्रियतामा उद्धार गरी खुल्लामञ्चमा राखिएकाहरूलाई कार्कीले नेतृत्व गरेका छन् । उनीहरुलाई लकडाउनले परिवारसँग समेत सम्पर्कविच्छेद बनाएको छ ।

लामो समयको लकडाउनले बेनीबजार सुनसान जस्तै भएको अवस्थामा बेवारिसे अवस्थामा रहेकालाई खुल्लामञ्चमा राखेर नियमित खाना, सुत्ने र बस्ने ब्यवस्था मिलाइएपछि उनीहरूलाई खुल्लामञ्चबाट बाहिर जान नदिने गरी राखिएको अवस्थामा बाध्यताले सडकमै बस्नुपरेपनि सहयोगले पेटभरी खान पुगेको अर्का मजदुर मिजालले बताए। ‘कोरोनाले धनीलाई घरभित्र, गरिबलाई सडकको बास बनायो’ मिजारले भने ।

धनीलाई घरभित्र खान र बस्न सुविधा भएपनि गरिबलाई सडकमा भोकभोकै बस्नुपर्ने अवस्था बनाएपनि सहयोगी हातले ज्यान जोगाउन सहज भएको बताए । कठोर परिश्रममा विश्वास गर्ने कार्कीले बेनीमा दिनभरि माग्ने, दिनभरि काम गरी साँझ मदिरा सेवन गरी सडकमै सुत्नेहरुसँग विगत पाँचदिनदेखि विताइरहेका छन् । विहानै देखि धूम्रपान र मध्यपानले सडकमै सुत्ने गरेका केही अम्मलीहरूलाई समेत उनले सम्झाउँछन् ।

मदिराको अम्मलीहरुलाई केही समस्या देखिएपनि खुल्लामञ्चमा भएका सबै खुसी छन् । मद्यपान र धूम्रपान गर्न नपाएपछि बिरक्तिएकाको दैनिकी समेत फेरिएको छ । यसैबीच आइतबारसाँझ देखि खुल्लामञ्चमा रहेका ९ जनालाई बेनी नगरपालिकाले खाना खुवाउने भएको छ ।

Leave a Reply