म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका १ हजारभन्दा बढी घर परिवारलाई मास्क र साबुन वितरण भएको छ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को विरुद्ध संक्रमणबाट बच्नका लागि पुलाचौरमा रहेका सबै घर परिवारलाई मास्क र साबुन वितरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको संयोजन, बेनपा–५, पुलाचौर वडा कार्यालयको समन्वय र विभिन्न व्यक्तिहरुको सहयोगमा स्थानीयलाई घरघरमै पुगेर स्वास्थ्य सामग्री वितरण गरिएको उपशाखाले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नलाई मिचीमिची साबुन पानीले हात धुन तथा नियमित रुपमा मास्कको प्रयोग गर्नका लागि सचेतनामूलक कार्यक्रम अन्तर्गत मास्क र साबुन वितरण गरिएको छ ।

उपशाखाको संयोजनमा रेडक्रस जिल्ला शाखा म्याग्दी र पुलाचौरस्थित विभिन्न व्यक्तिहरुको आर्थिक तथा जिन्सी सामग्री सहयोगसहित कुल ५५ हजार तीनसय ९५ रुपैयाँ बराबरको मास्क र साबुन वितरण गरिएको रेडक्रस पुलाचौर उपशाखाका सभापति शिव बानियाँले जानकारी दिए । उनका अनुसार साविक पुलाचौर गाविसको ९ ओटै वडामा रेडक्रसका पदाधिकारीसहित विभिन्न समूह बनाएर मास्क र साबुन वितरण गरिएको थियो ।

साबुन र मास्क वितरण कार्यक्रममा पुलाचौरका वडा अध्यक्ष लक्ष्मण बानियाँको विशेष उपस्थिति रहेको थियो । रेडक्रसको यस अभियानमा स्थानीय अर्जुन बानियाँले २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । ‘सेवा नै धर्म हो’ भन्ने मूल मर्मसहित रेडक्रसले समुदायमा सचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply