म्याग्दीका युवा व्यवसायी नारायण जिसीले जिल्लाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छन् । उनले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्न मास्क र स्यानीटाइजर उपलब्ध गराएका हुन् ।

निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका युवा व्यवसायी जिसीले जिल्लाभर कुल २२ सय थान सर्जिकल मास्क र ४० लिटर स्यानीटाइजर सहयोग गरेको जानकारी दिए । उनले सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत बेनी अस्पताल र बेनी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

उक्त सामग्री प्रजिअ ढकालले बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल र बेनपाको स्वास्थ्य शाखाका संयोजक लिला गौतमलाई हस्तान्तरण गरेका थिए । जिसी ग्रुप एण्ड इण्डष्ट्रिजबाट जिल्लामा सञ्चालित स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई अति आवश्यक पर्ने मास्क र स्यानीटाइजर सहयोग गरिएको जिसी ग्रुपले जनाएको छ ।

बेनी अस्पताललाई ५ सय थान मास्क र १० लिटर स्यानीटाइजर तथा बेनी नगरपालिकालाई ३ सय ५० थान मास्क र ५ लिटर स्यानीटाइजर सहयोग गरिएको छ । यसैगरी रघुगंगा गाउँपालिकालाई ४ सय थान मास्क र ५ लिटर स्यानीटाइजर तथा अन्नपूर्ण गाउँपालिकालाई ३ सय थान मास्क र ५ लिटर स्यानीटाइजर सहयोग गरिने युवा व्यवसायी जिसीले बताए।

त्यस्तै मालिका गाउँपालिकालाई २ सय ५० थान मास्क, ५ लिटर स्यानीटाइजर, मंगला र धवलागिरी गाउँपालिकालाई २ सय थानका दरले सर्जिकल मास्क तथा ५ लिटरका दरले स्यानीटाइजर सहयोग गरिने भएको छ ।

उक्त स्वास्थ्य सामग्रीहरु सम्बन्धित स्थानीय तहमै पुगेर सहयोग गरिने जनाइएको छ । यसअघि युवा व्यवसायी जिसीले नेपाली सेनालाई २ सय थान मास्क, १ लिटर स्यानीटाइजर, सशस्त्र प्रहरी बललाई १ सय थान मास्क, १ लिटर स्यानीटाइजर र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीलाई ५० थान मास्क सहयोग गरेका थिए ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयलाई १० लिटर स्यानीटाइजर र जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि ५० थान मास्कसहित १ लिटर स्यानीटाइजर सहयोग गरेका छन् । युवा व्यवसायी जिसीले बेनी नगरपालिका–५, बगुवाखोलामा जिसी क्रसर उद्योग सञ्चालन गरेका छन्भने उनी त्यस क्रसर उद्योग र बि.एन. कन्टक्सनका सञ्चालक समेत रहेका छन् ।

Leave a Reply