पछिल्लो दुई दिनमा विभिन्न जिल्लाबाट धमाधम म्याग्दीमा भित्रिन थालेपछि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सीमा नाकामा थप सजकता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनको एक महिना पुरा भएको अवस्थामा आफ्नो जन्मभूमिमा आउनेहरुलाई अनिवार्य स्वास्थ्य चेकजाँच सहित संक्रमित देखिएका जिल्लाबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

‘जिल्ला बाहिर गएकाहरु पदैल हिडेर घर फर्कर्ने क्रम पनि बढेको छ,‘जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धि पालिकाले ब्यवस्थापन गर्नुपर्छ’ प्रजिअ ढकालले भन्नुभयो ।

बेनीअनलाइनसँगको कुराकानीमा प्रजिअ ढकालले लकडाउनको समयावधी लम्बिदै गएपछि म्याग्दीलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन नागरिकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो ।

‘एकमहिनासम्म म्याग्दीलाई हामीले सुरक्षित राख्न सफल भएका छौ,‘अबको समय थप चूनौतीपूर्ण छ’ प्रजिअ ढकालले भन्नुभयो। बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा आउनेलाई जिल्ला प्रवेशमै आवश्यक चेकजाँच तथा ट्राभल हिस्ट्रीका आधारमा क्वारेन्टाइन, होम क्वारेन्टानको टुंगो लगाउने प्रजिअ ढकालको भनाई छ ।

एकमहिनाको प्रयासलाई हेल्चेक्राई गरिए पूरै असफल हुने बताउँदै सम्पूर्णलाई सतर्कता अपनाउन र घरभित्रै सुरक्षित बस्न समेत अपिल गर्नुभएको छ ।

दैनिकजसो कोरोनाको संक्रमित फेला पर्न थालेको अवस्थामा कुन पालिकामा जाने हो सो कुराको यकीन गरि सम्वन्धित पालिकालाई खबर गर्ने र त्यही पालिकाले पठाएको सवारीसाधनमा उनीहरुलाई सम्वन्धित स्थान पठाइने व्यवस्था मिलाउने बताउँदै पहुँचको आधारमा विना प्रक्रिया आउनेलाई फिर्ता पठाउने समेत उहाँले बताउनुभयो ।

घर फर्केका व्यक्तिहरुलाई पालिकाहरुले स्थापना गरेको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नु पर्ने नियम बनाइएको छ । १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरेपछि पालिकाले नै अर्को निर्णय गर्न सक्ने छ । दुईदिनमा १ सय २१ जनाभन्दा धेरै पालिकासँग समेत समन्वय नगरी आएपछि प्रशासनले कडा कदम चाल्ने संकेत देखाएको छ ।

Leave a Reply