उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङलाई ४० दिन लकडाउन गरिएको छ । वडाभित्र निर्माणधिन अवस्थामा रहेका साना–ठुला जलविद्युत आयोजना सहित अन्य विकास निर्माणमा बाहिरी जिल्लाबाट आउने मजदुरसँगै कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सिंगो वडामा ४० दिने लकडाउन गरिएको हो ।
बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुख्य प्रवेशद्धारमै गाउँलेले चौबिसै घण्टा पहरा दिँदै आएको अन्नपूर्ण यूवा क्लवका अध्यक्ष श्याम पूर्जाले बेनीअनलाइनलाई बताउनुभयो । ‘लकडाउन अवधिभर विना अनुमति गाउँमा प्रवेश गर्न पाइदैन्,‘भित्रिनेसँग अनिवार्य कोरोना संक्रमण नभएको मेडिकल प्रमाण चाहिन्छ’ पूर्जाले भन्नुभयो । उहाँका अनुसार बिहिबार रोल्पाका ३२ जना कामदारले जान चाहेकाले पठाइएको बताउनुभयो ।
पक्की र झोलुङे पुलमा आलोपालो ८ दिनसम्म चेकपोष्टमा स्वतस्स्फूर्त कार्ययोजना बनाएर खटिएका समुदायलाई जनप्रतिनिधिले समेत साथ दिएका छन् । पक्की पुलमा गेट राखेर ताला लगाएर रातदिनै पहरा दिइरहेको स्थानीयले नारच्याङलाई जोड्ने सबै झोलुङे पुलहरु बन्द गरेका छन् ।
लेक गाउँ, बगर गाउँ, बेंसी टोल र खेम्दी टोललाई जिम्मेबारी दिइएको छ । हरेक टोलले ८ दिनसम्म सिमा क्षेत्रमा खटिनुपर्ने छ भने यूवा क्लवहरूले समेत सोही अभियानमा साथ दिनेछन् । कोरोना भाइरसको संक्रमण फैलिका जिल्लाहरुबाट समेत नारच्याङमा मजदुरी गर्न आउनेलाई गेटबाटै फिर्ता पठाइने स्थानीयको भनाई छ ।
भारतसँग सिमाना जोडिएका जिल्लाबाट मजदुर गर्न आउनेलाई छिमेकी वडाबाटै पठाउने गरी यूवाहरु समेत परिचालन गरिएको छ । जनप्रतिनिधि र समुदायको पहलमा सुरु भएको अभियानले स्थानीय समेत उत्साहित भएका छन् । नारच्याङ भित्रको जनजीवन सरकारी लकडाउन अनुसार नै खुकुलो बनाउने बताइएको छ ।








