कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदैं जिल्लामा भित्रिनेलाई अनिवार्य क्वारेन्टाइनमा राखिने भएको छ। लकडाउनको एक महिना पुरा भएको अवस्थामा आफ्नो जन्मभूमिमा आउनेहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन बसेपछि स्वास्थ्य परीक्षण गरेर मात्रै घर पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।

पछिल्लो तीनदिनमा करिब ३ सयभन्दा बढी जिल्ला बाहिरबाट भित्रिएपछि भित्रिने सबैले स्थानीय तहको क्वारेन्टाइनमा १४ दिन विताएरमात्रै घर जानुपर्ने प्रजिअ ढकालको भनाई छ ।

बेनी नगरपालिका सहित जिल्लाका सबै स्थानीय तहमा आउनेलाई जिल्ला प्रवेशमै आवश्यक चेकजाँच तथा ट्राभल हिस्ट्रीका आधारमा क्वारेन्टाइन, होम क्वारेन्टानको टुंगो लगाउने बताउँदै संक्रमित देखिएका जिल्लाबाट आएकालाई प्रवेश नदिने कोभिड–१९ कमाण्ड पोष्टका सदस्य सुरत केसीले बताउनुभयो ।

जिल्लामा भित्रिनेहरुलाई नाकामै प्रारम्भीक चेकजाँच गदैं स्थानीय तहका प्रतिनिधिलाई जिम्मा लगाएर क्वारेन्टाइनमै राखेर जानकारी गराउनुपर्ने छ । जिल्लाका स्थानीय तहका प्रमुखले समेत विना जानकारी पठाउने गरेको भन्दै असन्तुष्ट पोख्न थालेको अवस्थामा यस्तो निर्णय भएको हो ।

क्वारेन्टाइनमा राखेको जानकारीसँगै समय पुगेपछि चेकजाँच गरेर समेत बाहिरिएको विवरण पठाउनुपर्ने छ । जिल्लामा भित्रिएर क्वारेन्टाइनमा बस्न आनाकानी गर्नेलाई आवश्यक कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

 

Leave a Reply