जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ दानाको एक सहकारीले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने साढे ५ सयभन्दा धेरै घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । सृजना महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनले हातमुख जोड्न मुस्किल भएका ५ सय ६५ घरपरिवारलाई राहत वितरण गरेको हो । शुक्रबार दानामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदीले प्रत्येक घरधुरीलाई एक बोरा चामल,१ लिटर खाना पकाउने तेल, र नुन हस्तान्तरण गर्नुभएको थियो ।राहत हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सुबेदीले एउटै ब्यक्तिलाई राहत दिने अवस्था नआउन जनप्रतिनिधिसँग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । ‘महिलाको प्रयासमा गरिएको यो काम निकै उत्कृष्ट छ,‘लकडाउनमा सामाजिक दुरी कायम गरी गतिविधि गर्नुपर्छ’ सुबेदीले भन्नुभयो ।महिलाको लगानीमा स्थापना भएको सहकारीले सामाजिक उत्तरदाहित्व अन्तरगत दानामा भोकभोकै बस्न पर्ने अवस्थाको अन्त्य गर्न अतिविपन्न, असहाय तथा दैनिक ज्यालामजदुरी गरी खाने वर्गलाई राहत उपलब्ध गराएको सहकारीकी अध्यक्ष बुद्धिकुमारी पूर्जाले बताउनुभयो । ‘जो समस्यामा हुनुहुन्छ उहाँहरुलाई राहत वितरण गरेका छौ,‘सहकारीले समुदायमा विभिन्न कार्यक्रम गर्ने गरेको छ’ अध्यक्ष पूर्जाले भन्नुभयो । खाद्यान्न हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नरसिंहबहादुर पूर्जा, पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचन, सहकारीका पदाधिकारी, सेयर सदस्यको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन सहकारीकी सचिव कमला खत्रीले गर्नुभएको थियो । वि.श २०५९ सालमा स्थापना भएको सहकारीले बचत तथा कर्जा प्रवाह सँगै जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply