कुखुराको शिकार गर्न भनी खोरभित्र पसेको चरिबाघलाई नियन्त्रणमा लिएर सामुदायिक वन क्षेत्रमा छाडिएको छ । म्याग्दीको बेनी नगरपालिका–२, खबराका प्रेमबहादुर कुँबरको घरको आँगनमा रहेको कुखुराको खोरमा पसेको संरक्षित स्तनधारी वन्यजन्तु चरिबाघलाई शुक्रबार नियन्त्रणमा लिई छाडिएको हो । खोरभित्र पसेर कुखुराको शिकार गर्न थालेको थाहा पाएपछि घरधनीले खोरको ढोका लगाई प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । खबरलगत्तै वन कार्यालय, सशस्त्र तथा नेपाल प्रहरी, स्थानीय सामुदायिक वनका पदाधिकारीको पहलमा उक्त चरिबाघलाई वन कार्यालयको फलामे खोरमा राखिएको थियो ।

नियन्त्रणमा लिइएको चरिबाघलाई रघुगंगा गाउँपालिका–२, बैंसरीस्थित सिरुबारी ठाडिखोरिया सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सन्तोष खनालले जानकारी दिनुभयो । नियन्त्रणमा लिएर छाडिएको भाले प्रजातीको सो चरिबाघ अन्दाजी ५ केजी तौल, ३ फिट लम्बाई, एक फिट उचाई र बयस्क उमेरको रहेको सहायक वन अधिकृत खनालको भनाइ छ । कुखुराको शिकार गर्न पुगेको चरिबाघले प्रेम कुँबरले पालेका स्थानीय जातको १२ ओटा कुखुरा मारिदिएको छ ।

उक्त चरिबाघ खबरास्थित भसभसे सामुदायिक वन क्षेत्रबाट आहाराको खोजीमा कुखुराको शिकार गर्न गएको हुनसक्ने अनुमान गरिएको छ । कोरोना भाइरसका विरुद्ध जारी लकडाउनको समयमा मानिसको आवतजावत रोकिएका कारण बन्यजन्तु जनावरको आक्रमण बढ्न थालेपछि समुदायमा त्रास फैलिएको छ ।

Leave a Reply