धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।

लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र निको भएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो ।बिहिबार पाँचौ रिपोर्ट नेगेटिभ आएसँगै छैठौं पटक शुक्रबार स्वाब परीक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उक्त परीक्षणको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

चैत ४ गते बेल्जियमबाट कतारको दोहा ट्रान्जिट भएर नेपाल आएकी उनलाई चैत १५ गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।उनलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । उनको अवस्था सामान्य रहेकाले आजै डिस्चार्ज गर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र वि. पोखरेलले बताउनुभयो ।

उहाँले अस्पतालबाट डिस्चार्ज भएपनि २ हप्ता होम क्वारेन्टाइनमै बस्नुपर्ने बताउनुभयो ।यससँगै कोरोना पोजेटिभ भएर अस्पतालमा उपचाररत दुवै जना घर फर्किएका छन् । यस अगाडी ती युवतीसँगै बेल्जियमबाट आएकी बानपा–३ गौडाकोटकी ६५ बर्षिय मनकुमारी पौडेलले कोरोनालाई जितेर ६ बैशाखमा घर फर्किएकी छिन् ।

Leave a Reply