म्याग्दीको सदरमुकाम बेनीबजारमा चितुवा प्रवेश गरी कुकुर मारेको छ। बेनी नगरपालिका–८ मगर संघको सभाहल आसपासमा घरको पेटीमा बसेका कुकुरमाथि आक्रमण गरेको स्थानीयको भनाई छ ।

शिक्षामार्ग तथा मगर संघको सभाहल आसपासमा नजिकैको जंगलबाट प्रवेश गरेको चितुवाले कुकरलाई मारेर लगेको अवस्थामा देखिएको मगर संघ म्याग्दीकी अध्यक्ष डमायाँ पाईजाले बताउनुभयो ।

‘चितुवामाथि कुकुरले प्रत्याक्रमणको प्रयास गरेपनि सफल हुन नसकेको देखिन्छ्,‘रातको समयमा बजार आसपासमै चितुवा देखिनुले सर्तक हुनुपर्ने अवस्था भएको छ’पाईजाले भन्नुभयो ।

लकडाउनले साँझपख नै सुनसान हुने भएकाले बजार नजिक रहेको सामुदायिक बनबाट चितुवा प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ। शुक्रबार विहान चितुवाले कुकुरलाई आक्रमण गरेको आसपासका क्षेत्रमा रगतै रगत देखिएको र नजिकै रहेको जंगलमा कुकुरको टाउको भेटिएको स्थानीयको भनाई छ ।

‘यस आसपासका क्षेत्रमा पहिलोपटक चितुवा देखिएको छ । शुक्रबार नै बेनी नगरपालिका–२, खबराका प्रेमबहादुर कुँबरको घरको आँगनमा रहेको कुखुराको खोरमा पसेको संरक्षित स्तनधारी वन्यजन्तु चरिबाघलाई नियन्त्रणमा लिइएको छ ।

खबरादेखि रत्नेचौरसम्मको जंगलमा बेलाबेलामा चितुवा समेत देख्ने गरिन्छ ।खोरभित्र पसेर कुखुराको शिकार गर्न थालेको थाहा पाएपछि घरधनीले खोरको ढोका लगाई प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए । भाले प्रजातीको सो चरिबाघ अन्दाजी ५ केजी तौल, ३ फिट लम्बाई, एक फिट उचाई र बयस्क उमेरको रहेको छ ।

उता रघुगंगा गाउँपालिका वडा नं २ भगवतीको खरबारीमा भेटिएको रतुवालाई समेत उद्धार गरी जंगलमा छोडिएको छ। जंगली जनावरहरु बस्ती आसपासमा देखिएमा तत्काल सम्बन्धि निकायलाई खवर गर्नुपर्ने डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

चितुवा र कुकुरको सांकेतिक तस्विर गुगल ।

Leave a Reply