केहीदिन यता नेशन पुन हातमा खाद्यान्न साम्रागी बोकेर दिनभरी ब्यस्त हुने गरेका छन । लकडाउनले पोखरामा समस्यामा परेकालाई खाद्यान्न वितरणसँगै पुनले कोराना भाइरसको संक्रमणबाट नागरिकलाई जोगाउन निरन्तर खटिएका सडकमा भेटिने सुरक्षाकर्मीलाई समेत सहयोग हस्तान्तरण गर्ने गरेका छन् ।

लकडाउनमा पोखरामा विभिन्न चोक, गल्लीमा भेटिने पुनले समस्यामा परेकालाई सहयोग जुटाउने अभियानमा आफुँले सकेको सहयोग गरेको बताए । ‘मानवीय सेवाका बारेमा यस्तो बेलामा थाहा हुने रहेछ,‘लकडाउनले खाद्यान्न सकिएकाहरुको घरमै पुग्ने अवसर मिलेको छ’ पुनले बेनीअनलाइनलाई भने ।उनले खाद्यान्न सहयोग गर्न चाहनेहरुको पसल, गोदाम वा बोलाएको ठाउँमा पुगेर सहयोग जुटाएर समस्यामा परेकालाई वितरण गर्ने गरेको बताए ।

नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडल–३ मा उत्कृष्ट पाँचभित्र पर्न सफल भएका पुन लकडाउनका कारण शो स्थगित भएपछि पोखरामा छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,चित्रे स्थायी घरभई हाल पोखरामा बस्दै आएका पुनले पोखरामा अलपत्र परेका म्याग्देलीहरुलाई सहयोग जुटाउने अभियानमा सक्रिय छन् । पुनसँगै अभियानमा म्याग्दीकै नारायण पुन, प्रकाश पौडेल लगायत छन् ।

म्याग्दीबाट शिक्षा, रोजगार तथा विभिन्न कारणले पोखरामै अलपत्र परेकालाई सहयोग जुटाएर हस्तान्तरण गर्ने गरिएको छ । करिव १ सय म्याग्देलीलाई राहत वितरणमा नेशनको सहभागीता रहेको छ । उनले लकडाउन अवधिभर यस्तै रचनात्मक कार्यहरुमा सहभागी हुने बताए । समस्यामा परेकालाई राहत वितरण निकै खुसी लागेको बताउँदै सांगितिक क्षेत्रसँगै सामाजिक कार्यमा समेत सक्रिय हुने बताए । पोखरामा समस्यामा परेकालाई सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् ।

Leave a Reply