उपहारको “समय”

0

सन्दिप खत्री/ समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ ।

कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ । यतिबेला मैले पनि कोरोनाले मेरो जीवनमा पारेको सकारात्मक प्रभाव अझ भनौ कोरोनाले “उपहारको रुपमा दिएको समय” को बारेमा चर्चा गर्दैछु ।देश पुरै लकडाउन भएकाले सधै विहान उठेदेखि रातिअबेरसम्म कम्प्युटरमा व्यस्तताको जीवन, एक हिसाबले भनौ पंक्षीले जस्तै स्वतन्त्रता पायो ।

झन्डै एक महिना हामी घरभित्र थुनिएर भएपनि सबैले आ–आफ्नै ढंगले समयको सदुपयोग अवश्य ग¥यौ । कैयौन वर्षदेखि परिवारलाई दिन नपाएको समय प्रशस्त दिन पायौ । घरपरिवारका सदस्यहरुवीचको सम्बन्ध अझ मजबुद बनाउन पायौ । प्रशस्त स्मरणयोग्य कामहरु भए तर मैले भने एक पटक आफूलाई १० वर्ष पहिलेको अवस्थामा फर्काउने प्रयास गरे । नयाँ ठाउँमा जाने, केही नयाँ अनुभव बटुल्नु मेरो शोख नै हो । तर यस पटक भने मैले नयाँ ठाउँमा गएर नयाँ अनुभव बटुल्ने भन्दा पनि पुरानो ठाउँमा गएर पुराना दिनहरुलाई दिमागमा पुर्नताजगी गर्ने प्रयास गरे । एक पटक बालापनका दिनहरु सम्झने प्रयत्न गरे । हामी गाउँमा जन्मिएका मानिसहरुको बालपानको उमेर घर र विद्यालय पछि धेरै समय व्यतित गर्ने ठाउँ भनेको वनजंगल नै हो । समय परिस्थिती अनुसार घाँस काट्ने, दाउरा काट्ने, त कहिले सोत्तर काट्ने, पस्र्याैला सोहोर्ने, भैसी–गाइ–बाख्रा चराउने बाहनामै किन नहोस् । हाम्रा कैयौ अतितहरुका पानाहरु यिनै वनजंगलसँग जोडिएका हुन्छन् । विहान उठ्यो वनजंगल गयो, आयो खाना खायो र विद्यालय गयो । विद्यालयबाट घरमा आएपछि खाजा खाएर वा खाजालाई गोजिमा हालेर फेरि वनजंगल नै गयो । यसरी नै झन्डै ८÷१० वर्ष जंगलसँग जोडिएको सम्बन्ध २०६६ सालमा एसएलसी उत्तिर्ण गरि बजार झरेपछि एकाएक टुटेको थियो । तर कोरोना भाइरसले फेरि त्यो सम्बन्ध जोड्ने मौका मिल्यो । मातातिर्थ औशीको अवसरमा लामो समय पछि घरमा जाने अवसर जु¥यो । घर नजिकै घना वनजंगल भएकाले एक नजर वनजंगलतिर पुग्यो । मानस्पटलमा पुराना स्मृतिहरु धुमिल तस्विरका रुपमा उपस्थित भए । झण्डै झण्डै विर्सन लागेका यादहरु मानस्पटलमा नाँच्न थाले । एकाएक दिमागमा आयो किन जंगलमै गएर ति यादहरु पुनर्ताजगी नगर्ने ? दिन धुमिल नै थियो, कतिबेला पानी पर्ला झै भएको थियो, तर पनि यो मनले आट्यो भने आट्यो । मेरो साईलो दाई नविन, भतिज मनोज, रिजन, मामाको छोरा सुदिपलाई कुरा शेयर गरेपछि सबैजना तयार भए । भान्जाबाबु दिप्सनले पनि जाने इच्छा व्यक्त गरे । बाबा र ममिले “अरु त केटा केटी नै भए तैलेपनि के केटाकेटी पारा लाको” भन्दै हुनुहुन्थ्यो, हुन पनि म साँच्चि केटाकेटी नै भएको थिए किनभने सानै उमेरदेखि वनजंगलमा जाने भनेपछि हुरुक्क हुने मान्छे हुँ म । अपर्झट योजना बन्यो, सबैकुराको बन्दोवसत मिल्यो र दिनको पौने ३ बजेतिर यात्रा जंगलतिर ओरालियो २ रात जंगलमै वस्न गरि । यात्रा तय भयो रातडाँडाको, हामीले खरकाट्नका लागि प्रयोग गर्ने अत्यन्तै सुन्दर ठाउँ थियो, जुन ठाउँ राहुघाट खोला नजिकै पर्छ । पानी पर्नै आटेको थियो, घरबाट हिडेको आधा घण्टा नवित्दै परिहाल्यो, पानीमा भिज्दै भएपनि गयौ । ओरालोबाटो, चिप्लोबाटो तैपनि दौडिरह्यौ । अलि तल पुग्दै थोप्ले (हाम्रो घरमा पालेको कुकुर) पनि हामीलाई भेट्न आईपुग्यो । गन्तव्य स्थलमा पुग्दा पानी विदा हुनै लागेको थियो, बस्ने स्थल बनाउने भनेर खोज्दै थियौ, तर ठाउँ हेर्न पाउँदा नपाउँदै पानी खन्याएझै दर्कन थाल्यो । पूर्वनिर्धारित योजना नभएकाले टेन्ट लैजाने अवस्था थिएन त्यसैले घरबाट २ वटा त्रिपाल लगेका थियौ । एउटा पालले सामान छोप्यौ र एउटा पाललाई समाएर कोहीले खाँबो गाड्ने खाडल खन्यौ, कोही खाँबो र अन्य आवश्यक काठ काट्न लाग्यौ । बनाउन खोजेको टेण्ट जस्तै तर ठूलो झरिका बीचमा झन्डै १५ मिनेटमा बन्यो गोठ । गोठको बसाईले भने नयाँ अनुभव दिने पक्का थियो । वस्ने स्थान निर्माण गरेपछि पनि पानी पर्ने क्रम नरोकिएकाले हामीले अरु केही गर्ने अवस्थामा थिएनौ त्यसैले पानी विदा हुने समय कुरिरह्यौ । पानी विदा भएपछि सबैभन्दा पहिले त खाजा, खाना बनाउने चुल्हो वन्दोवस्त गर्नु थियो, दाउरा काट्नु थियो । त्यसैले कोही दुई ठुला ढुङ्गा लिएर चुल्हो बनाउन लाग्यौ कोही दाउरा खोज्न लाग्यौ । लगभग सबैकुराको व्यवस्थापन भईसक्दा घडिले साँझको ६ बजाउनै आटेको थियो । पानी परेकाले मौसम एकदमै चिसो थियो । जंगलमा गएपछि जंगलकै केही चिज त चाख्नु प¥यो नी यति भन्न नपाउँदै मनोज, रिजन, सुदिप तिजु खोज्न हानिए ।

तिजु खानकै लागि शनिबार दिनभर झोला बोकेर ४,५ जना साथीभाइ मिलेर यही ठाउँमा आएको याद पुनरावृत्ति भयो । आमाले खर काटेर घर फर्कदा धरोको एककुनाबाट “कान्छा तेरो लागि ल्याईदिएको तिजु ला” भन्दै काखमा राखेर तिजु खुवाउनु भएको हिजो जस्तै लाग्यो । हामी बसेको ठाउँभन्दा अलि तलको तिजुको रुख थियो कसले हो कुन्नी सबै हांगा काटिदिएछ, बेसी तिजु त्यही रुखमा पाइन्थ्यो । तर त्यहाँ चढ्न जोखिम पनि उत्तिकै थियो ।

“वान मिस लाईफ फिनिस” भने जस्तै थियो, तल सिधै रघुगंगा खोला । एकैछिनमा केटाहरुले अलिकति मात्रै तिजु लिएर आए । रात पनि पर्न आटेको र पानी परेका कारण रुख चिप्लो भएकाले त्यो साँझ त्यत्तिमै चित्त बुझायौ । साँझ ढल्किदै थियो, नविन दाइले खाना बनाउन सुरु गर्नु भयो, मनोजले घरबाट ल्याएको लोक्कल कुखुरा बनाउन, रिजन क्याम्प फायरको तयारीमा । एकैछिनमा मनोज मादल लिएर घन्काउन थाल्यो, चराचुरुङ्गी वास वस्नका लागि चिरविर–चिरविर गर्दै थिए । रात ढल्किदै गयौ वातावरण संगीतमय बन्दै गयो । हाम्रो परिवार संगीतप्रेमी नै छ । कलाको क्षेत्रमा पोख्त त कोही छैनौ तर सामान्य गाउँन, बजाउन र नाच्न नजान्ने पनि कोही छैनौ ।

सबैजनामा केही न केही गुण अवश्य पनि छ । “शिरमा रिवन, बेनीको बजार, छिनको छिनैमा, बनको काफल बनको चरिलाई, असारे महिनाम पानी प¥यो, घरआगन” लगायतका गीतहरुको तालमा रातको १२ बज्नै आटेछ । त्यहाँ हामी कोही पनि दाइ–भाइ–अंकल–भतिज–मामा–मान्जा थिएनौ, थियौ त केवल सबै दौतरी । ११ वर्षका भन्जादेखि लिएर ३३ वर्षको दाइसम्म हामी सबै एउटै दौतरी भएर रमिरहेका थियौ ।

भोलिपल्ट विहानको झन्डै साढे चार वा ५ बजेको हुँदो हो, चराहरुको चिरविर चिरविर आवाजले निन्द्रा खुल्यो, मोबाईलमा बज्ने गरेको ६ बजेको आलरार्मले फेल खायो । जीवनमा पहिलोपटक त्यसरी जंगलको वीचमा नै रात कटाइएको थियो । चराचुरुङ्गीको आवाजले मनमा छुट्टै तरङ्ग पैदा ग¥यो, मन रोमाञ्चित भएको थियो । चराहरुको चिरविरले वातावरण संगीतमय भयो ।

धेरै लामो समयपछि स्वच्छ हावाको झोक्काले छोएको थियो, मन शान्त, ज्यान एकदमै हल्का भएको थियो । लाग्दथ्यो वास्तविक जीवनको उमंग यही हो । आँखा चिम्म गरेर हावालाई सकेजति स्वासको मार्फत लिएँ । रघुगंगा खोला नजिकै भएकाले सम्भव भएसम्म माछा मारेर ल्याउने योजना सहित म, मनोज, रिजन र सुदीप खोलातर्फ लाग्यौ । पहिले हामी खरकाट्न आउने ठाउँ थियो रातडाँडा, आजभन्दा १०÷१२ वर्षपहिले ठूलो खालि ठाउँ थियो तर यतिबेला भने जंगल गजबसँग भरिएछ ।

पहिले खोलामा जाने ठूलै बाटो थियो तर अहिले बाटो कताबाट थियो भन्ने कुरा एकिन गर्न गाह्रो भयो । अनुमानकै भरमा पाईलाहरु खोलातर्फ सोझिए । खोला नजिकै पुग्नेबेलामा बनतरुलको ठुलै बेली देखियो । विहानदेखि खोज्दा नभेटिएको वन तरुल भेटिएपछि नखन्ने कुरै भएन । हामी तरुल खन्ने योजनामा नभएकाले तरुल खन्ने हतियार केही थिएन, तर बालापनदेखि हातै वा काठको खन्ती खन्ती (तरुल खन्न प्रयोग गरिने साधन) बनाएर खनेको अनुभव चाहि प्रशस्तै थियो।

मनोजले २ वटा काठको खन्ति बनायो सुदिप र मनोज एकातिर म र रिजन अर्कोतिर भएर २,३ ठाउँमा खन्न थाल्यौ । माटो र धुलै हुनेगरि अझ भनौ घरमा पुग्दा आमाले नचिन्ने अनुहार हुन्थ्यो हाम्रो तरुल खन्दा । कैयन पटक पदम विश्वकर्मा र म यसरी नै ६,७ कक्षामा पढ्ने बेलामा तरुण खन्न आएको याद छ ।

यसपटक पनि अनुहार, शरिर त्यो बालापन भन्दा पटक्कै फरक थिएन, धुलै, मैलै तर सारथी फरक थिए, परिवेश फरक थियो । यो तरुल खन्ने समय पटक्कै होईन तर हामी जबरजस्त खन्दै थियौ । धेरै लामो समयको अथक प्रयासपछि बेलुकाको तरकारी एकछाक पुग्ने गरि तयार भयो ।

हाम्रा जिजुबाजे पनि गोठ लिएर नै औलमा वस्दा सायद यस्तै गर्दा हुन त्यही अनुभूति भयो । बालापनमा पनि गोठ वस्ने प्रशस्तै प्रचलन भएपनि हाम्रा परिवार भने त्यसबाट टाढै थियो । यतिबेलासम्म हामी बालापनमा फर्किएका थियौ । मनमा केही कुराको डर थिएन, केही पिरचिन्ता थिएन, भोक प्यास केहीले छोएको थिएन ।

हामी पुरापुर स्वतन्त्र थियौ । न्याउली चरीको “न्याउल” “न्याउल” वरिपरि नै गुञ्चायमान भईरहेको थियो । केटाहरु सबै आआफ्नो तालमा, म आफ्नै पारामा गुनगुनाउँदै थिए, मनोज र सुदीपले सुशेली हाल्दै थिए, रिजनले गुलेली समाएर चरा मार्ने असफल प्रयास गर्दै थियो । यसरी नै कैयन पटक दिनभर लगाएर कहिले झोला भरि तरुल त कहिले खालि झोला बोकेर घरमा अनुभवहरु एकाएक ताजगी भए । बालापनका साथीहरुसँगका उट्पट्याङ पनि मथिङगलमा घुमिरहे । खोलामा जान हिडेका हामी बाटोमा तरुल खन्दाखन्दै जाडो बढ्न थालेपछि र पानी पर्ने संकेत देखिपछि माथि नै फर्किने निर्णय ग¥यौ ।

उकालो चढ्न निकै गाह्रो भयो यी तिनै बाटाहरु र भिरहरु थिए जहाँ को छिटो माथि जाने भनेर हामी वीच प्रतिस्पर्धा हुन्थ्यो, कसले छिटो भिर काट्ने भनेर उकालो चढ्थ्यौ, जोश त्यही थियो, मन त्यही थियो तर खुट्टाहरुले साथ दिएनन् । दोस्रो रातको बसाई केही विशेष नै हुँदै थियो किन भने तरुल पाक्दै थियो ।

खाना बनाउनमा माहिर नविन दाइले अनेकन परिकारहरु बनाउँदै हुनुहुन्थ्यो । भान्जाले दिनभरको आफ्ना अनुभवहरु सुनाउँदै थिए, गुलेली समाएर वन चाहरेका, जसले पुरानो दिनको याद गरायो । हामीहरु चरा मार्न भनेर दिनभर ढुङ्गा कुदेर गोलि बनाएर यसरी नै वन डुल्थ्यौ तर सिकार भने शुन्य । भान्जाको हालत पनि यही थियो । दिनभरमा ५० भन्दा धेरै निसाना खेर गएछन् । भोलिपल्ट त घरमा जानु थियो त्यसैले सबैले दिल खोलेर रमाईलो ग¥यौ रिजन र मेरो दोहोरी पनि निकै जम्यो, नविन दाइको यानिमायाले छुट्टै छनक दियो ।

सम्भवत जंगलको बीचमा बसेर यसरी रमाईलो फेरि होला नहोला तर यस भन्दा पहिले भने कहिल्यै पनि भएको थिएन । पारिपट्टी मौवाफाँट, राखु, बाँसखर्क लगायतका वस्तिहरुमा एकपछि अर्को गर्दै सबै वत्तिहरु निभ्दै गए त्यसपछि बल्ल थाहा भयो की हामीले त खाना नै खाएका छैनौ । रातको साढे ११ बजे खाना खायौ । म त विहानै उठ्नु पर्छ भनेर सुतिहाले मनोजहरु मादल बजाउँदै थिए कतिबेला सुते पत्तो पाईन ।

बेलुकाको अबेल बसाई र तरुल खनाइएको थकानले विहान साढे पाँचबजेतिर निन्द्राले छाड्यो । चराचुरुङ्गीहरु लगभग सबै आआफ्नो वासस्थानबाट उडिसकेका थिए, वातावरण स्वच्छ थियो, आकाश पुरै खुलेको थियो । सबै सामान प्याक गरेर घरतिर उकालियौ । आउनेबेलामा हामी गाउँहुँदै आएका थियौ जानेबेलामा भने हामी घाँस दाउरा गर्दा हिड्ने बाटो हुँदै जाने निधो ग¥यौ । यो दश वर्षमा जंगल धेरै परिवर्तन भएछन् ।

खुल्ला घाँस काट्ने डिल, चौरहरुमा पानीअमला र बनमाराले अड्डा जमाएछ । टंकीखोला, ठूलो खोला यिनै खोलाहरु पार गर्दै जानु पथ्र्यो । घाँस काट्न आउँदा पानीको ताल बनाएर कतिपटक पौडेका थियौ । बाटो भरी स्याउला भरिएछ, रुख उम्रिएछन् ।

लामखोरियातर्फ उकालो लाग्दै गर्दा खानीको डिल देखियो । हामीले लुकीलुकी घाँस काट्ने भिर थियो । घाँस काट्न आउँदा पानी पर्दा बस्ने ओढार अलिक तलथियो । यो त्यही भिर थियो जहाँ हामीले कसले छिटो भारी पु¥याउने भनेर प्रतिस्पर्धा गथ्र्यौ । मलिन रोकालाई सबैभन्दा बढी सम्झिए मैले, उनी मेरा सबैभन्दा मिल्ने बालशखा थिए ।

उनी र म एउटै टिममा भयौ भने चाहे घाँस काट्न होस्, भलिबल खेल्न होस्, फुटबल खेल्न होस्, क्रिक्रेट खेल्न होस्, दाउरा काट्न होस् कसैले पनि जित्न सक्दैनथे । पहिले गाउँमा भन्दा जंगलमा चहलपहल र प्रशस्त बाटाका चोकहरु हुन्थे । घाँस काट्न जाँदा गुच्चा, खोप्पी र राज्य खेलेका जंगलभित्रका चोकहरु यतिबेला सुनसान थिए । हामीले खानेका खाल्डाहरु कति भरिएर हराईसकेका थिए त कति हराउने क्रममै थिए । बाटोको कुनै निशाना थिएन, वस अनुमान लगाएर मात्र हिड्न सकिन्थ्यो ।

अलिक माथिपुगेपछि हामीले प्रतिस्पर्धा गरेर चढ्ने गरेको रुख भेटियो । अहिले त हर्लक्क बढेर अंगालोमा हाल्दा पनि नभरिने भएछ । म, मलिन, गणेश, रवि, राम, पदम, डेके, किस्मत लगायतका साथीहरु पार्टर थियौ । स्याउला काट्न र घाँस काट्न वेशी आउने गर्दथ्यौ । लामखोरियामा एउटा गोठ थियो पानी पर्दा बस्ने, तर अहिले त भग्नावशेष मात्रै बाँकी रहेनछ । कयौ पटक विहान घाँस काट्न आएर भारी पु¥याएर गुच्चा र खोप्पी खेल्दा खेल्दै विद्यालय नगईकन १०÷११ बजेका यादगार पलहरु घुम्न थाले ।

रात परेर आमा बाबाहरु खोज्न आएका पलहरु पनि कम्ति छैन् । यो जंगलसँग छुट्टैप्रकारको साईनो थियो, यतिबेला मनमा छुट्टै प्रकारको अनुभूति भयो । यति बेला मसँग समय थियो, त्यही बालपन विताएको ठाउँ थियो, सबै साथीभाइ एकसाथ भएर ती यादहरु ताजा गर्ने कोरोनाले अवसर दिएको थियो तर थिएनन् ती बालसखाहरु ।

सकेजतिको भारी बोकेर एक घण्टामा उक्लिने बाटो यसपटक भने रित्तो ज्यान हुँदा नि झन्डै पौने २ घण्टा लाग्यो । विहानदेखि बेलुकासम्म कम्प्युटरमा वसेको र शरीरलाई व्यायाम चाहिएको गतिलो महसुस भयो । यो त्यही उकालो थियो जहाँ हामी कसले भारी नविसाईकन उक्लने भनेर हिड्थ्यौ ।

म र मलिन नै प्रायः पहिलो र दोस्रो हून्थ्यौ । घाँस राहै्र राम्रो हुन्थ्यो यहाँ । यहाँको घाँस काटेर लैजादाको दिनमा एक डाडु दुध धेरै खान पनि पाइन्थ्यो, यहाँको घाँस खाँदा दिनमा भैसीले पनि दुध अलिक बढी नै दिन्थ्यो । साँच्चि यसपटकको प्रकृतिसँगको प्रत्यक्ष साक्षात्कारले जीवनभरलाई पुग्ने बालपानका यादहरु ताजा गराइदियो ।

बालसखाहरु कहाँ छन् कहाँ तर उनीहरुसँगको सम्झना भने ताजा भयो । कतिपय बालसखाहरुसँग त सम्पर्क पनि हुन नपाईरहेको बेलामा जंगलको बसाईले पुरै बालापन याद गराईदियो । धुमिल बनेर स्मृतिका बसेका ती यादहरु पुन कहिल्यै नमेटिने गरी ताजा भएका छन् ।

केही समय भएपनि सारा दुनिया भुलेर निस्फ्रिक्री र निश्चिन्त भएर आफ्नो बालापनको सम्झनामा रम्ने अवसर प्राप्त भयो । यी अनमोल पलहरु यी शब्दमा कहाँ अटाउँन सकिन्छर, मन भित्र भएको अनुभूति, आभाष कहाँ बाड्न सकिन्छ र यद्यपी यी अक्षरहरु मार्फत यादलाई ताजा राख्ने प्रयास भने भयो । धन्यवाद कोरोना तिमीलाई यो सुन्दर समय उपहारका लागि, प्रिय बालसखा साथीहरु सबैलाई धेरै सम्झना छ है……………..२०७७÷०१÷१४

Leave a Reply