म्याग्दीको सदरमुकाम बेनीको प्रवेशद्धारमा स्यानिटाइजर टनेल राखिने भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन बेनी नगरपालिका-८ कालिपुलस्थित पक्की पुलको चेकपोष्टबाट प्रवेश गर्नेलाई लक्षित गरी स्यानिटाइजर टनेल राखिने भएको हो ।

लायन्स क्लव बेनी पिस सिटी, मोना मकाउ र लायन्स क्लव ३२५ बि वान नेपालका चिप को–एडभाइजर चन्द्रकुमार केसीको पहलमा बेनीतर्फ प्रवेश गर्ने प्रत्येक ब्यक्तिको पूरै शरीरै स्यानिटाइजेसन टनेलबाट सङ्क्रमणमुक्त हुने गरी प्रयोग गरिने छ । म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठ र खत्री इलेक्टोनिक्सका सञ्चालक कृष्ण खत्रीले बनाइरहेका छन् । टनेलमा एकपटकमा ५० लिटरसम्म स्यानिटाइजर हाल्नुपर्छ ।

देशका विभिन्न स्थानमा प्रयोग भइरहेको उक्त टनेलमा प्रवेश गरेपछि पूरै शरीरै स्यानिटाइजेसन हुने केसीले बताए । ‘सावुन पानीले हात धोयर स्यानिटाइजर लगाउनुपर्नेमा अव टनेलभित्र प्रवेश गरेपछि शरीर पूरै स्यानिटाइजेसन हुन्छ’ केसीले भने । पहिलो प्रयास सफल भएमा जिल्लाको ब्यापारिक केन्द्रहरुका साथै स्थानीय तहको केन्द्रमा राख्ने योजना रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन देशका विभिन्न स्थानमा प्रयोग भएको यो प्रविधि उपयोगी भएकाले म्याग्दीमा समेत पहिलोपटक प्रयोग गर्न लागिएको हो । स्यानिटाइजर टनेल बनाउँदा करिव ५० हजार लागत अनुमान गरिएको छ । एक लिटर स्यानिटाइजरले करिब २० जनाको शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । प्रतिव्यक्ति होलबडी स्यानिटाइजर गर्दा १० रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।

जिल्लामा पहिलो अभ्यास भएकाले यसको लागत र प्रयोगको आधारमा थप बनाउन आवश्यक सहयोग गर्ने म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक श्रेष्ठले बताए । पछिल्लो समय देशका विभिन्न स्थानमा अलपत्र परेका धमाधम जिल्लामा प्रवेश गर्न थालेपछि उक्त विधि प्रभावकारी हुने अनुमान गरिएको छ । स्यानिटाइजर टनेललाई लकडाउन हटेपछि पनि प्रयोग गर्ने योजना बनाइएको छ ।

Leave a Reply