विशेषतः पश्चिम नेपालमा बसोबास गर्दै आएका पुन समुदायका कुल देवता हुन् करबाकेली बाबा । तिनै बाबाको राष्ट्रियस्तरको थान म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको रामचनकुलचन डाँडा (२,३३२ मिटर)मा बनाइएको छ । थानभित्र करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन तथा कुलचनका पूर्ण कदका मूर्ति राखिएको छ ।

ग्रामीण शैलीको भवनभित्र मूर्तिहरू स्थापना गरिएको छ । करबाकेली अनुसन्धान समिति काठमाडौंको पहल एवं करबाकेली बाबा संरक्षण समिति, काफलडाँडाको संयुक्त प्रयासमा थान बनाइएको ।

थान नजिकै पुन संग्रहालय निर्माण भएको छ । करबाकेली संरक्षण समितिले सहयोग जुटाएर ग्रामीण शैलीमा संग्रहालय बनाएको । करबाकेली थान, संग्रहालय निर्माण र करबाकेली इको ट्रेक ब्राण्डिङमा बेलायती सेनाका रिटायर्ड लाहुरे चामबहादुर पुनले अगुवाई गरेका छन् ।

करबाकेली थानबाट धौलागिरि हिमाल आँखै सामुन्ने देखिन्छ । थान हातामा सामदायिक पाहुना घर छ जहाँ ४० जना बास बस्न सक्छन् ।

करबाकेली थान करबाकेली इको ट्रेककको केन्द्रविन्दु हो । खासमा पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै म्याग्दी सदरमुकाम बेनी बजारलाई जोड्ने नयाँ पदमार्गलाई ‘करबाकेली इको ट्रेक’ भनिन्छ ।

काफलडाँडास्थित करबाकेली संरक्षण समितिले काठमाडौंस्थित कन्सेप्ट नेपालसँगको सहकार्यमा ०७५ वैशाखमा यो पदमार्ग एक्सप्लोर गरेको ।

यो पदमार्गबाट गुर्जा हिमालदेखि धौलागिरि हुँदै अन्नपूर्ण हिम सृङ्खलासम्म दर्शन गर्न सकिन्छ । साथै पदयात्रामा जैविक विविधता, पुन समुदायको कला र संस्कृतिको सुवास पाइन्छ । करबाकेली क्षेत्रमा ग्रामीण जीवनशैलीमा रमाउन पाइन्छ ।

करबाकेली यात्रा गर्दा पोखराबाट वीरेठाँटीसम्म जीपमा । वीरेठाँटीबाट उल्लेरीको उकालोसम्म ५ घन्टा हिँडेर पहिलो बास बस्ने । दोस्रो दिन उल्लेरीबाट ४ घन्टा पदयात्रामा घोडेपानी बजार । तेस्रो दिन पुनहिल चढेर लन्च खान फूलबारी पुग्ने । र, फूलबारीबाट करिब ४ घन्टामा करबाकेली थान पुगेर बास बस्न सकिन्छ । फूलबारीमै पनि रात विताउन उपयुक्त हुन्छ ।

करबाकेली थानबाट बेनी निस्कने ४ विकल्प छन् । पहिलो,त्यहाँबाट बैसेरी झर्ने, बैसेरीबाट बेनीसम्म गाडीमा । दोस्रो, महभीर भएर बाँसखर्क, मल्लाज हुँदै बेनीसम्म पदयात्रा । तेस्रो, करबाकेलीबाट रिमा हुँदै औल गाउँ भएर बैसेरीसम्म पदयात्रा । चौंथो, करबाकेलीबाट नागी हुँदै पर्वतको फलामेडाँडा पुग्ने ।

एउटा सुझाब: करबाकेली इको टे«कका अभियन्ता एवं समाजसेवी चामबहादुर पुनलाई ९८४९६२६१२९ सम्पर्क गरेर पदमार्गबारे आबश्यक जानकारी लिएर यात्रा योजना बनाउनु बेस हुन्छ है !

कसरी पुग्ने: काठमाडौं–बेनी २८२ किमि, बसमा ९ घन्टा । बेनी बजारबाट–रिमा–काफलडाँडा हुँदै करबाकेली मन्दिरसम्म ४५ किमि सडक जोडिएको छ । जीपमा यात्रा गर्न सकिन्छ । अथवा बेनी–बैसेरी ९ किमि गाडीमा । बैंसेरीबाट ४ घन्टा उकालो पदयात्रामा करबाकेली थान । पदयात्रा भने बिरेठाँटीबाट । Source: barnanmedia.com

Leave a Reply