म्याग्दीको सदरमुकाम बेनीको प्रवेशद्धार पक्की पुलमा ’होलबडी’ स्यानिटाइजर टनेल राखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट जोगिन बेनी नगरपालिका–८ कालिपुलस्थित पक्की पुलको चेकपोष्टबाट प्रवेश गर्नेलाई लक्षित गरी टनेल राखिएको हो ।लायन्स क्लव बेनी पिस सिटी र मोना मकाउको आर्थिक सहयोगमा निर्मित टनेलमा जिल्लाबाहिरबाट आउनेको पूरै शरीरै स्यानिटाइजेसन गरिने लायन्स क्लव पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले बताए । स्वचालित रुपमा सेनिटाइजर स्प्रे छर्कने बताए ।

म्याग्दी उर्जा प्राविधिक सेवा केन्द्रका सञ्चालक दुर्गाप्रसाद श्रेष्ठ र खत्री इलेक्टोनिक्सका सञ्चालक कृष्ण खत्रीको प्राविधिक सहयोगमा निर्मित टनेलको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसीले टनेलमा प्रवेश गरेर पूरै शरीरै स्यानिटाइजेसन गरी उद्घाटन गरेका थिए ।एक लिटर स्यानिटाइजरले १०-१२ जनाको शरीरलाई स्यानिटाइज गर्ने सकिने प्राविधिक खत्रीले बताए ।  प्रतिव्यक्ति होलबडी स्यानिटाइजर गर्दा कम्तिमा १० सेकेण्ड लाग्छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन देशका विभिन्न स्थानमा प्रयोग भएको यो प्रविधि उपयोगी भएकाले म्याग्दीमा समेत पहिलोपटक प्रयोग गर्न लागिएको हो ।

होलबडीलाई स्यानिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने भएकाले धेरै भीडभाड हुने प्रवेशद्धारमै राखिएको सहयोगी संस्थाले जनाएका छन् । स्यानिटाइजर टनेल बनाउँदा करिव ६० हजार खर्च भएको छ । स्यानिटाइजर टनेललाई लकडाउन हटेपछि पनि प्रयोग गर्ने योजना बनाइएको छ ।प्रवेशद्धारमा रहेका सुरक्षाकर्मीलाई उक्त टनेल हस्तान्तरण गरिएपनि आवश्यक पर्ने स्यानिटाइजर सहितको प्राविधिक सहयोग गरिने सहयोगी संस्थाले जनाएको छ । बेनी अस्पतालभित्र समेत अर्को स्टेशन बनाउने तयारी भइरहेको छ । सवारी साधनमार्फत पनि मानिसमा कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले सवारी साधनमा स्यानिटाइजर छर्केर जोखिममुक्त बनाउने कार्य समेत भइरहेको छ । साविकको धौलागिरी अञ्चलका चार जिल्लामा म्याग्दीमा पहिलोपटक प्रयोग गरिएको हो ।

Leave a Reply