जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीको भेडिखाल्टा निशान बुढाथोकीले बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ७ मा अध्ययनरत छोरी मनिषा बुढाथोकीको बार्षिक परीक्षाको नतिजा मोवाइल बक्सको म्यासेजमा आयो। बुढाथोकी जस्तै पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँकी चन्द्रा रोका आचार्यले छोरा आग्रह आचार्यको कक्षा ५ को नतिजा समेत एसएमएसमार्फत नै पाईन् ।

कोरोना भाइरस कोभिड–१९ को जोखिम नियन्त्रण गर्न सरकारले लकडाउन गरेपछि बालबच्चा सहित गाउँतर्फ लागेका अभिभावकलाई तत्काल विद्यालयमा आउन समस्या हुने भएकाले विद्यार्थीको पढाईको स्तर सहित बार्षिक नतिजा मोवाईलमार्फत पठाइएको प्रधानाध्यापक राजु केसीले बताए ।

‘अभिभावकलाई एसएमएसको माध्यमबाट नतिजा पठाइएको छ,‘नयाँ प्रयोगले अभिभावक समेत उत्साहित हुनुहुन्छ’ प्रअ केसीले भने । उनका अनुसार सदरमुका बेनी आसपासमा रहेका अभिभावकलाई समेत घरभित्रै सुरक्षित बस्न अनुरोध गरी मोवाइल र इन्टरनेटको माध्यमबाट नतिजा पठाइएको बताए ।

लकडाउनले शैक्षिक क्यालेन्डरमा असर गरेको अवस्थामा समयमै नतिजा प्रकाशन गर्न नसकिरहेको अवस्थामा विद्यालयले कक्षा ८ को नतिजा बाहेक ११ सय १३ जना विद्यार्थीको नतिजा एसमएसमार्फत पठाएको छ । विदेशमा रहेका अभिभावकलाई सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमार्फत पठाइएको विद्यालयले जनाएको छ ।

परीक्षा दिएर पनि नतिजा थाहा पाउन नसकेर चिन्तित छोरालाई नतिजा सुनाएपछि उत्साहित भएको अभिभावक चन्द्रा रोकाले बताईन् । ‘विद्यालयले प्रयोग गरेको विधिले सहज भएको छ,‘कुनै विषयका बारेमा जानकारी लिन परेम विषयगत शिक्षकलाई सोध्न सकिने सुविधा समेत छ’ उनले भनिन् ।

धेरै अभिभावकले आफ्ना छोराछोरीको नतिजा समेत सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् ।रोजगार र शिक्षाको सिलसिलामा जापानमा पुगेका बेनपा–४ सिंगाका कमल बानियाँले लकडाउनले नतिजा र पढाईको चिन्ता लागिरहेको अवस्थामा नतिजा डिजिटल माध्यमबाट जानकारी पाएको बताए । जिल्लाका अन्य निजि तथा सामुदायिक विद्यालयले समेत अभिभावकलाई विद्यालयमा नपुग्ने गरी विभिन्न माध्यमबाट नतिजा प्रकाशित गरेका छन् । लकडाउन थपिएको अवस्थामा विद्यालयहरूले सूचना टाँस गरी नतिजा प्रकाशित गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी मोवाइलको म्यासेज निकै भरपर्दो भएको जानकारहरू बताउँछन् ।

अभिभावकलाई फोन गरेर अनौपचारिक रुपमा नतिजा जानाकरी दिने गरिएको अवस्थामा लकडाउनका कारण जिल्लामा पहिलोपटक मोवाईलको म्यासेज र अनलाइन मार्पmत् नतिजा प्रकाशित गरिएको विद्यालयले जनाएको छ । लकडाउनको समयलाई सदुपयोग गर्न विद्यालयले विभिन्न माध्यम अपनाएपनि ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण भने विद्यालयले सोचेजस्तो लाभ लिन सकेका भने छैनन् ।

Leave a Reply