म्याग्दीमा पछिल्ला केही दिनयता चितुवाले आतङ्क मच्चाएको छ । सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा दैनिकजसो चितुवाले कुखुरा, कुकुर, बाख्रा मार्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । केही दिनअघि बेनीको क्याम्पसचोकस्थित रुची सिनेमा घरमा दुई वटा बच्चासहित पोथी चितुवा भेटिएको थियो । गत वैशाख १२ गते बेनी बजार नजिकै रहेको खबरास्थित प्रेम कुँवरको कुखुराको खोरभित्र बयस्क चितुवा परेको थियो ।

सिनेमा घरमा आएको चितुवा नियन्त्रणमा लिने प्रयास गर्दागर्दै आफैँ भागेर जङ्गलतर्फ गएको बताइएको छ । खबरामा भेटिएको चितुवा प्रहरी र वन प्राविधिकले नियन्त्रणमा लिएर जङ्गलमा लगेर छाडेका थिए । करिब पाँच किलो तौल भएको सो चितुवाले कुँवरको १२ वटा कुखुरा मारेको थियो । यसैगरी तीन दिनअघि बेनी बजारकै अस्पताल चोकमा चितुवा देखिएको स्थानीयवासी डकमाया पाइजाले जानकारी दिनुभयोे । उहाँका अनुसार चितुवाले कुकुरलाई मारेर जङ्गलतर्फ भागेको थियो । बस्तीमा आउने चितुवाले मानिसलाई आक्रमण गर्ने डरले स्थानीय त्रसित भएका छन् । ‘लकडाउन’ लम्बिँदै जाँदा वातावरण शान्त भएपछि वन्यजन्तु आहाराको खोजीमा बस्तीमै आएका वन प्राविधिकले बताएका छन् ।

सवारी साधन र मानिसको चहलपहल घटेपछि वातावरण शान्त भएको र वन्यजन्तु आहाराको खोजीमा बस्तीमा आएका डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो । “वन्यजन्तु बस्तीमा आउनुको मुख्य कारण आहराको खोजी नै हो”, उहाँले भन्नुभयो, “लकडाउनपछि वातावरण शान्त भएकाले बजारभित्र आएका हुन सक्छन् ।” चितुवाको मुख्य आहारा रतुवा र घोरल हुन् ।

पहाडी क्षेत्रको जङ्गलमा झाडी बढेपछि घोरल र रतुवा मृग फराकिलो ठाउँ खोज्दै बस्ती नजिकका वनमा चरनका लागि झरेका छन् । घोरल र रतुवा मृग खोज्दै चितुवा पनि बस्ती नजिकको वनमा आएको हो । गत हप्ता रघुगङ्गा गाउँपालिका–२ भगवतीमा खरबारीमा रतुवा मृगको पाठो भेटिएको थियो । सो पाठोलाई वन प्राविधिक, प्रहरी र जनप्रतिनिधिको रोहबरमा जङ्गलमा लगेर छाडिएको फरेष्टर राम्जी शर्माले बताउनुभयो ।

वन प्राविधिकका अनुसार साँझको समयमा व्यक्ति नबलेको, आँगनमा बालबच्चा खेलेको, बाख्राको खोर भएको जङ्गल छेउको घरमा चितुवाले आक्रमण गर्ने गरेको पाइएको छ । जङ्गल छेउमा घर भएकाहरुलाई सतर्कता अपनाउन वन डिभिजन कार्यालयले आग्रह गरेको छ ।

नेपालमा बिरालो परिवारका १२ प्रजातिका वन्यजन्तु पाइन्छ । पाटेबाघ, हिउँ चितुवा र चितुवा ठूला हुन्छन् । चरीबाघ, ध्वाँसे चितुवा, लिंक्सलगायत नौ वटा साना हुन्छन् । नेपालमा ३८ वटा संरक्षित वन्यजन्तु (२६ स्तनधारी, नौ पक्षी र तीन सरीसृप) मध्य बिरालो परिवारका पाँच वटा (पाटेबाघ, हिउँचितुवा, ध्वाँसे चितुवा, चरिबाघ र लिंक्स) पर्छन् । file photo source:जीवनशैली अन्लाईन

Leave a Reply