दिल शिरीष/ बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर–३ की ३० वर्षीया सम्झना किसानको ‘आत्महत्या’ प्रकरण थप रहस्यमय बनेको छ ।
बागलुङ नगरपालिका–२ माझकोट स्थित डेरामा गत मंगलबार आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । विहान ११ बजे सम्म पनि ढोका बन्द भएको र नउठेको पाए पछि घरबेटीले ढोकाको भेन्टिलेशनबाट हेर्दा सिलिङमा सलको पासो लगाई झुण्डिएको देख्ना साथ प्रहरीलाई खबर गरेका थिए ।

आत्महत्याको खबर लगत्तै घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले घटनास्थलको अवस्था हेर्दै मुचुल्का संकलन गरेर शव पोस्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा लगिएको थियो । उनको शवको पोस्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।

प्रहरीले मुचुल्का संकलन गरेर फर्किए पछि स्थानीय महिलाहरुले कोठाको खोज तलास गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको ‘सुसाइड नोट’ फेला परे पछि घटना थप रहस्यमय देखिएको छ । प्रहरीका नाममा लेखिएको ‘सुसाइड नोट’मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडी सँग आँफु प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउदा वेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख छ । गैरदलित युवासँग विवाह गरेकी उनले आरोपित दवाडीकै कारणले श्रीमानसंग सम्बन्ध विच्छेद भएको सुसाइट नोटमा उल्लेख गरेकी छिन् ।

उनको पूर्व पति तर्फको एक सानी छोरी छिन् । ‘सुसाइड नोट’मा श्रीमानसँग पनि सम्बन्ध विच्छेद गरेको र प्रेम सम्बन्ध पश्चात सम्पर्कमा रहेका प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि आफु यता न उता भएर आत्महत्याको बाटो रोज्नुपरेको जनाएकी छ । सोही ‘सुसाइड नोट’ मार्फत उनले आफुले आत्महत्या गरे पनि पेटमा भएको बच्चाको डिएनए परीक्षण गरेर भए पनि दोषीलाई कडा कारबाही गर्न माग गरेकी छिन् ।

‘सुसाइड नोट’ फेला परेसँगै सम्झनाका माइती र आफन्तहरुले ‘आत्महत्या’ गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गरेका छन् । मृतक सम्झनाका बुवा खड्कबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य पारिएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’को मुद्धा दर्ता समेत दर्ता गराएका छन् ।

‘प्रेमको नाटक रचेर यौन स्वार्थ लुटेर अलपत्र पार्ने नियतका कारण छोरीले मृत्युको बाटो रोजेको पायौ,’ खड्कबहादुरले भने, ‘आत्महत्याका पछाडी प्रहरीनै कारक रहेको पाइयो, रक्षक नै भक्षक भए पछि के लाग्दो रहेछ र ? हामीले छोरी गुमाए पनि न्यायको आशा सहित दुरुत्साहन मुद्धा दर्ता गराएका छौ ।’

‘महिला मृत अवस्थामा फेला परेको सूचना पाए लगत्तै घटनास्थलमा पुगेर मुचुल्का संकलन गरेर अनुसन्धान थालेका छौ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले भने, ‘घटनास्थलमा प्रहरीले फेला नपारेको तर पछि ‘सुसाइड नोट’ समेत हाम्रै नाममा भेटिएको पाइएको छ, त्यो कहाँबाट कसरी देखियो भन्ने बारेमा प्रहरीले बिस्तृत रुपमा अनुसन्धान गरिरहेको छ ।’

मृतक महिलाले आरोपित गरेका प्रहरी जवानसँग प्रेम सम्बन्ध रहेको खुले पनि अरु बिषयमा अनुसन्धान जारी रहेको एसपी भट्टले जानकारी दिए । ‘प्रहरी होस् या अरु जो कोही होस्, अपराध कर्म गरे पछि सजायको भागिदार हुन्छ र हुनैपर्छ,’ उनले भने, ‘यदी प्रहरीले अपराध गरेको छ भने उम्कन सक्दैन, आरोपितलाई अब नियम कानुन अनुसार अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउछौ ।’

Leave a Reply