काठमाण्डौमा बसोबास गर्ने म्याग्देलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड-१९ को सम्भावित सङ्क्रमणबाट जोगिन गृहजिल्लामा आवश्यक पर्ने स्वास्थ्य साम्रागी सहयोग गरेका छन् । रोजगार, ब्यापार लगायत पारिवारिक सिलसिलामा काठमाण्डौमा बस्ने समाजसेवी ज्योती शेरचनको अगुवाईमा साढे तीन लाख मुल्य बराबरको साम्रागी शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा काठमाण्डौमा रहेका म्याग्देली अगुवाहरूले हस्तान्तरण गरेका हुन् ।

बेनीमा आयोजित कार्यक्रममा अगुवा शेरचन, उम बहादुर पुन, राजु पुन, बोम बहादुर चोचाङ्गी र प्रताप पुनले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रशासन कार्यालय र जिल्लाका ४५ वटै वडाका स्वास्थ्य संस्थालाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) ११० थान सहित सर्जिकल माक्स, एन ९५ मास्क र ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले म्याग्देलीको सहयोगमा रचनात्मक सहयोगबाट कोरोना रोकथामको अभियानमा सहज भएको बताए। ‘तपाईहरुको सहयोगले कोरोना रोकथाम ठूलो राहत मिलेको छ,‘राज्यको स्रोतसाधनले मात्रै महामारीबाट जोगिन मुस्किल छ’ प्रजिअ ढकालले भने ।

कार्यक्रममा कोरोना बिरुद्धको अभियान सहित अन्य सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गर्ने अगुवा शेरचनले बताए । ‘आफ्नो जन्मभूमिलाई आवश्यकता परेमा सधै सहयोग गर्न तयार छौ,‘साम्रागीको उचित संरक्षण गरी प्रयोग गर्न अपिल गछौं’ शेरचनले भने ।

जिल्लामा एकै समुहमार्फत धेरै पिपिई सहित स्वास्थ्य साम्रागी हस्तान्तरण गरेको यो पहिलो भएको बताइएको छ । कोरोना रोकथाममा सक्रिय संघसंस्थासँगै आवश्यकता परेमा प्रयोग गर्ने गरी प्रशासनमा समेत थप १० पिपिई उपलब्ध गराइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी, प्रहरी नायव उपरिक्षक किरणजंग कुँवर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply