म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिकाधुरीमा यसबर्षको वैशाख शुक्ल पूर्णिमाका दिन पूजाआजा गर्न नपाइने भएको छ। मन्दिरमा कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण आगामी बैशाख २५ गते मन्दिरमा पूजारी र मन्दिर ब्यवस्थापन समितिको उपस्थितीमा विधिपूर्वक पूजामात्रै गरिने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘लकडाउनभित्रै पर्ने भएकाले यो बर्ष नियमित पूजामात्रै हुन्छ,‘कोरोनाको जोखिमलाई मध्यनजर गरी सार्वजनिक सूचना समेत जारी गछौं’ अध्यक्ष रोकाले भने । जारी लकडाउनको समयअवधी बैशाख २५ गते राती १२ बजेसम्म छ । मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा समुन्द्र सतहदेखि करिब ३३ सय मिटरको उचाईमा अवस्थित मन्दिरमा पूजा गर्न जाने भक्तजनहरू अघिल्लो दिन मन्दिर आसपासका सत्तल, ओडार र खुल्ला आकाशमा रात विताउनुपर्छ । मन्दिरमा म्याग्दीका साथै देशका विभिन्न जिल्लाका भक्तजनहरु मनोकामना पूरा हुने विश्वास लिएर पुग्ने गरेका छन् । मालिकाधुरी मन्दिरमा दर्शन तथा बाली दिए मालिका, जालपा, कालिका देबीको शक्ति प्राप्त हुन्छ भन्ने विश्वासका साथ सयौं वर्षदेखि पुजा हुँदै आएको छ । कम्तिमा तिन पटक त्यहाँ पुगेर दर्शन गरेमा मनोकामना पूरा हुने भक्तजनको विश्वासले पनि हरेक बर्ष बैशाख पुर्णिमाका दिन करिब ७ हजार भक्तजनले रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, ठाडाखानी, मंगला गाउँपालिकाको कुहुँ, थाईवाङ,हिँदी र मालिका गाउँपालिकाको दरवाङ, उपल्लो दुखु हुदै घण्टौको पैदलयात्रा गरी पुग्ने गरेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताए ।

‘मन्दिरमा नियमित पूजाआजा बाहेक भक्तजनलाई नआउन अनुरोध गरेका छौ,‘सबैतिरबाट फोन आउने गरेको छ, भक्तजन नै अलमलमा पर्नुभएको छ’ पाईजाले भने । बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्ने मन्दिरमा पूर्वाधार समेत बनाइएकाले हरेक बर्ष भक्तजनको चाप बढ्ने गरेको छ । बि.श १९६६ सालदेखि नियमित पुजाआजा हुने गरेको मन्दिर बालबालिका देखी बृद्धबृद्धासम्म पुग्छन् ।

Leave a Reply