खोई म्याग्दीमा डेंगु बिरुद्धको अभियान ?

0

डेंगु एक प्रकारको ज्वरो हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथीे लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो ।डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो। एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ। डेंगु रोग क्लासिक डेंगु, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन ।

डेंगुको उपचारका लागि छुट्टै औषधी नभएकाले पनि संक्रमित भएको पुष्टी भएपछि चिकित्सकले उच्च निगरानीमा राखेर उपचार गर्ने गर्दछन् । डेंगुको भाइरस शरीरमा संक्रमण फैलिएमा उच्च ज्वरो आउनु, टाउको दुख्नु, पेट दुख्नु, वाकवाकी लाग्नु, आँखाको गेडी दुख्नु, जीउ, जोर्नी दुख्नु, उच्च ज्वरो आएको ३, ४ दिनपछि रातोरातो बिमिरा आउनु लगायतका लक्षण देखिन्छ। नेपालमा केही जिल्ला बाहेक सबैतिर डेगु फैलिएको छ। कोरोना भाइरस संक्रमणको जोखिमले म्याग्दी ४२ दिनदेखि लकडाउनमा छ ।

जिल्लाभित्र प्रवेश गर्ने नाकामा कडाई गरिएको अवस्थामा देशका राजमार्गबाट फाटफुट सवारीसाधनमार्फत जिल्लामा प्रवेश गर्ने गरेको अवस्थामा पनि जिल्लाभित्र नै धमाधम डेंगुका बिरामी भेटिइरहेका छन् । तराईका जिल्लामा देखिने भनेर प्रचार गरिएको डेंगु यसबर्ष मंगला गापा–५ सिर्कुमका एक यूवामा पहिलोपटक देखिएको छ । त्यसलगत्तै मालिका गापा–४ ओखरबोटमा अर्का यूवामा समेत देखियो ।

दुवै यूवाहरूको ट्राभल हिस्ट्री जिल्ला बाहिरको छैन् । सदरमुकाम बेनीसम्म पनि आइनपुगेकालाई गाउँमै खेतबारी, घाँसदाउरा गर्दा डेंगुको संक्रमण देखिएपछि म्याग्दीमा अभियानको सञ्चालन गर्नुपर्ने आवश्यकता छ । आइतबार एकैदिन बेनी नगरपालिकाभित्रका तीनजनामा डेंगु देखियो । बैशाख ९ गतेदेखि २१ गतेसम्म म्याग्दीमा ५ जनामा डेंगु पोजेटिभ देखिएको छ । यो समयमा म्याग्दी मात्रै नभई गण्डकी प्रदेशमै सबैभन्दा धेरै डेंगु देखिएको जिल्लामा म्याग्दी परेको छ।

आइतबार पोखरामा एक जनामा डेंगु देखिदाँ म्याग्दीमा ३ जना बिरामी भेटिनुलाई समान्य सम्झिन नहुने बेनी अस्पतालका चिकित्सक डा. नवराज बस्ताकोटीको भनाई छ । धमाधम ग्रामिण क्षेत्रमा डेंगुका बिरामी देखिन थालेपछि अस्पतालका चिकित्सक समेत आश्चर्य परेमा छन् । अहिलेको प्रमुख अभियान कोरोनाबाट जोगिने भएपनि पाँचजना बिरामी भेटिदाँसम्म जिल्लाका स्वास्थ्य संस्था, स्थानीय तहले डेंगु नियन्त्रणका लागि कुनै पहल गरेका छैनन् ।

गतबर्ष १२ जना बिरामी भेटिएकोमा यसबर्ष एकै महिना ५ जना भेटिदाँ समेत स्थानीय तहले कानमा तेल हालेर बसेका छन् । स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकहरुलाई डेंगुको जानकारी भएपनि जनचेतनामुलक कार्यक्रमका लागी सामान्य प्रयास गरेका छैनन् । ६ स्थानीय तहमध्ये म्याग्दीमा बेनी, मंगला र मालिकामा डेगुका बिरामी भेटिइसकेका छन् तर पनि स्थानीय तहमा अत्तोपत्तो छैन् ।

जनप्रतिनिधिहरुको भूमिका नै देखिदैन् । ग्रामिण क्षेत्रमै प्रवेश गरेको डेंगुका समान्य जानकारीलाई समेत स्थानीय तहले समुदायसम्म पु¥याउन नसक्नु चिन्ताको विषय हो । स्वास्थ्य संयोजकलाई आफ्ना अनुकुलका कार्यक्रम बनाउन, बैठकमा सहभागि हुन र नियमित कार्यक्रम कसरी सक्ने भन्ने चिन्ता छ? जनप्रतिनिधि भित्रका पनि नेताहरुलाई आफ्नो लोकप्रिय बन्नेमा ध्यान छ ।

वडास्तरमै ५ जना जनप्रतिनिधि छन् तर सदस्यको काम घरायसी र वडामा फाटफुट देखिने बाहेक केही भूमिका छैन् । पालिकाभित्रका जनप्रतिनिधिको महामारीको रुप लिएको डेंगुका बारेमा चासो नहुनुलाई बेवास्ता मात्रै होईन गम्भीर लापरवाही नै हो । डेंगुको संक्रमण फैलिरहँदा सरोकारवाला निकायको सक्रियता निराशजनक देखिएकोमा सर्वसाधारणले समेत आक्रोश पोखेका छन् ।

बेनी अस्पतालमा डेंगु परीक्षण गर्ने किट समेत प्रयाप्त छैन् । प्रयोगशालामा गरिने विभिन्न परीक्षणमध्ये मानिसको रगत किटबाट परीक्षण गरी डेंगुको संक्रमण भए नभएको पत्ता लगाइने किट समेत माग अनुसार आपूर्ती नहुदाँ विरामीको अवस्था हेरेर मात्र बिरामीलाई डेंगु भए–नभएको एकिन रुपमा परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

ज्वरो आएका बिरामीको सेतो रक्तकोष जाँच गर्दा ४ हजार भन्दा कम र रगत जम्ने पदार्थ प्लेटलेट एक लाख भन्दा कम भएमा त्यस्ता व्यक्तिमा डेंगु हुने सम्भावना रहन्छ । डेंगु पनि सरुवा रोग भएकाले यसलाई हेलचेक्राई गरिएमा महामारीको रुप लिने निश्चित छ । म्याग्दीका स्थानीय तहले प्राथमिकतामा राखेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने स्वास्थ्यका जानकाहरु बताउँछन् । राहत वितरणमा केन्द्रित जनप्रतिनिधिलाई सर्च एण्ड डिस्ट्रोय अभियान सञ्चालन गर्न दवाव दिनुपर्छ । बेनीबजार लगायत जिल्लाका बजारी क्षेत्रमा रहेका सवारीसाधनको ग्यारेजका टायर डेंगुको सबैभन्दा भरपर्दो बासस्थान भएकाले सरसफाई गर्ने, ग्रामिण क्षेत्रमा पानी राख्ने भाँडा र ट्यांकीको नियमित रुपमा सफा गर्ने, फोहर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाइ रहे नरहेको पहिचान गरी नष्ट गर्ने कार्यक्रम गर्न अव ढिलाई गर्नुहुदैन् । डेंगु फैलाउने लामखुट्टे र त्यसको लार्भा मार्न प्रभावित क्षेत्रमा औषधि छर्कन सकेमा पनि नियन्त्रणमा सहज हुन्छ ।

डेंगुको संक्रमणबाट जोगिन दिउँसोको समयमा पूरा बाहुला भएको वा शरीर पूरै ढाक्ने कपडा लगाउन, दिउँसो सुत्दा पनि झुल प्रयोग गर्न, बालबालिकालाई सुताउँदा पनि झुलभित्रै सुताउन, लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन, घरका झ्यालढोकामा जाली लगाउन र घर वरपर सफा सुगन्ध राख्न सकिने सन्देशलाई समेत जनताको माझमा पु¥याउने तत्कालै योजना बनाउनुपर्छ ।

Leave a Reply