ग्रामीण भेगमा नै डेंगुरोगका संक्रमितहरु भेटिएपछि हिमाली जिल्ला म्याग्दीमा डेंगुरोग नियन्त्रणसम्बन्धी कार्ययोजना निर्माण गरिएको छ । पछिल्लोपटक आइतबार मात्रै ३ जनामा डेंगुको संक्रमण पोजिटिभ देखिएपछि मङ्गलबार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको वैठकले डेंगु नियन्त्रणसम्बन्धी वडास्तरीय कार्ययोजना बनाएको हो ।

जिल्लास्तरीय कमाण्ड पोष्टको विस्तारित वैठकले ‘घर, परिवार र सम्पूर्ण समुदायको सहभागिता, डेंगुमुक्त म्याग्दी जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नारा तय गरी कार्ययोजना निर्माण गरेको जनाएको छ । कार्ययोजना अनुसार लामखुट्टेको बासस्थान, लार्भा खोज र नष्ट गर्नका लागि वडा अध्यक्षको अगुवाइमा स्थानीयस्तरमा वडा समितिमार्फत हरेक मङ्गलबार तथा शनिबार सरसफाइसम्बन्धी कार्यक्रम गरिने उल्लेख गरिएको छ ।

यसैगरी घर, कार्यालय, होटल, संघसंस्था वरपरको स्थानमा लामखुट्टे खोज्ने र नष्ट गर्ने, टोल भित्रका सार्वजनिक स्थानहरुको सरसफाई गर्न संघसंस्थाका व्यवस्थापक, कार्यालय प्रमुख, नागरिक समाज, राजनीतिक दल, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकामार्फत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाइएको छ । त्यस्तै डेंगुविरुद्ध समाजमा जनचेतना जगाउन विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम गर्न विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य शिक्षकहरु, स्वास्थ्य संस्था, प्याव्सन, ऐनप्याव्सन र वडा समितिले हरेक महिनाको एकपटक कार्यक्रम गर्ने जनाइएको छ ।

टोल विकास र नागरिक समाजका व्यक्तिहरुसँग अभिमुखीकरण गर्न वडा समिति, वडाध्यक्ष, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुमार्फत आवश्यकता अनुसार कार्यक्रम गर्नुपर्ने कार्ययोजना बनाइएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिए । उनका अनुसार सञ्चारमाध्यमहरुबाट सचेतनामूलक सन्देश प्रसारण गर्नका लागि पत्रकार महासंघ, स्थानीय तह, स्वास्थ्य कार्यालयको सहजीकरणमा एफएम, रेडियो, पत्रपत्रिका, टेलिभिजनमार्फत प्राइम टाइममा सूचना प्रसारण तथा प्रकाशन गरिनेछ ।

यसैबीच नियमित रुपमा डेंगुरोगको विरुद्धमा परामर्श र स्वास्थ्य शिक्षा जिल्ला अस्पताल, क्लिनीक र स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालय प्रमुख लम्सालले बताए । रोगको निदान, उपचार, बिरामीका लागि झुलसहित डेंगुकर्नर स्थापना, सर्भिलेन्स, अभिलेख र प्रतिवेदन तयार गर्न अस्पताल, क्लिनीक, स्वास्थ्य संस्था, नागरिक समाजले सहयोग गर्ने उनले बताएका छन् ।

सदरमुकाम बेनीबजारसहित स्थानीय तह आसपासका क्षेत्रमा रहेका वर्कशप, ग्यारेज, कवाडी, र टायरजन्य फोहोरमैला व्यवस्थापन गर्न बेनी नगरपालिका, वडा कार्यालयलाई जिम्मेवार निकायका रुपमा तोकिएको छ भने प्रहरी प्रशासनलाई सहयोगी निकायका रुपमा राखिएको छ । प्रजिअ ढकालको अध्यक्षतामा सम्पन्न उक्त वैठकले टायरजन्य फोहोरमैलाको तुरुन्तै व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

डेंगुरोग नियन्त्रण गर्न दीर्घकालीन नियमनका प्रावधानहरुका लागि प्रदेश सरकार तथा स्थानीय सरकारलाई जिम्मेवार निकाय तोकिएको छ भने अनुगमन तथा प्राविधिक सहयोग गर्न स्थानीय तह र जिल्ला कमाण्ड पोष्टलाई राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कमाण्ड पोष्टको विस्तारित वैठकलाई सम्बोधन गर्दै म्याग्दीका प्रजिअ ढकालले तत्कालै सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले बजारसहित अन्य क्षेत्रमा लामखुट्टे नियन्त्रण गरिने भन्दै समुदायस्तरमा डेंगुविरुद्ध सचेतनामूलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका छन् । गएको माघ महिनादेखि हालसम्म म्याग्दीमा ५ जना डेंगुरोगका संक्रमित पहिचान भएपछि जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेंगु भेटिएपछि जिल्लामा डेंगुको जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Leave a Reply