बेनी नगरपालिकामा चारजनामा डेंगु पेजेटिभ भेटिएसँगै डेङ्गु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको छ । एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कार्य सहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखिकरण सहित टोल–टोलमा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन सुरू गरिएको हो । एकहप्तामै बेनी नगरपालिका भित्र ४ जना डेंगुका संक्रमित भेटिएपछि बेनीबजारमा सवारीसाधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाईमा टोल सुधार समिति सहितको भेला गरिएको बेनपा–७ का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोल–टोलमा अभियान सुरू गरेको छ भने वडा नं ८ ले बुधबार कार्ययोजना बनाएर सचेतनामुलक अभियानलाई तिब्रता दिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताउनुभयो । सरोकारवालाहरुको लागि अखिमुखीकरणका साथै डेङ्गु नियन्त्रणका लागि रणनीति तयार पारिएको अध्यक्ष बराईलीको भनाई छ । नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाई छ ।

बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोग समेत लिने जनाइएको छ । नगरपालिका भित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजिकरण गर्नुभएको छ । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ ।

डेंगुबाट जोगिन बनजंगलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने लगायतका सर्तकता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाई छ । कोभिड–१९ विरुद्ध जारी लकडाउनको समयमा ग्रामीण भेगमा डेंगु भेटिएपछि जिल्लामा डेंगुको जोखिम बढेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

Leave a Reply