मालिका गाउँपालिका–४, ओखरबोटको सिस्नेरीकी होममायाँ घर्तीले आफ्नो छोराको बार्षिक परीक्षाको नतिजा घरमै हेरिन् । घरबाट करिब डेढ घण्टाको दुरीमा रहेको गाउँपालिकाकै वडा नं ५ देविस्थानमा अवस्थित भिम माविमा कक्षा ८ मा अध्ययनरत छोरा जिवनको नतिजा मोवाईलमै प्राप्त गरेपछि तत्कालै विद्यालयमा जानकारी गराईन् ।

सेवाक्षेत्र भित्र सबैभन्दा टाढाको बस्ती सिस्नेरीका अभिभावकले पहिलोपटक विषयगत नतिजा मोवाइलबाटै हेर्न पाए । ‘यो नयाँ सुविधाले विद्यालयसम्म पुग्न परेन्,‘कमजोर विषयमा शिक्षकले निगरानी राख्ने प्रतिबद्धता जनाउनुभएको छ’ होममायाँले भनिन् । उनले मोवाइलमार्फत समय–समयमा विद्यालयबाट बालबच्चका बारेमा जानकारी समेत लिने गरेको बताईन् । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले गरेको लकडाउनले नतिजा ल्याउन विद्यालय जाने तयारीमा रहेकी देविस्थान घरथोकीकी इन्द्रकुमारी घर्तीले कक्षा ७ मा पढ्ने आफ्नो छोरा धिरजको नतिजा मोवाइलमै आएपछि उत्साहित भएको बताईन् ।

‘यो समयमा धेरै हिड्न हुदैन भनिन्छ,‘घरमै नतिजा आएपछि स्कुल जानु परेन’ उनले भनिन् । लकडाउन थपिएको अवस्थामा विद्यार्थीको पढाईले चिन्ता थपिएको अभिभाकको भनाई छ । विद्यालयको सबैभन्दा टाढाको सेवा क्षेत्र सिस्नेरी, जुग्जा र घरथोकका साथै विद्यालय अवस्थित पन्थोकका अभिभावकलाई समेत मोवाइलमै नतिजा हेर्न सुविधा मिलाइएको विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीले बताए ।

‘सूचना टाँस गरी नतिजा प्रकाशन गर्दा सबैको पहुँच हुने देखिएन्,‘सफ्वयरको प्रयोग गरी तयार गरिएको नतिजा मोवाइलमै हेर्न मिल्ने गरायौं’ घर्तीले भने । नतिजा प्रकाशन लगत्तै विषयगत शिक्षकले आफ्नो नतिजाको समिक्षा समेत गरेको गणित शिक्षक यामनाथ पौडेलले बताए ।

लकडाउनको समयलाई सदुपयोग गर्न विद्यालयले विभिन्न माध्यम अपनाएपनि इन्टरनेटको पहुँचको अभावले समस्या भएपछि लकडाउन खुलेलगत्तै शैक्षिक योजना बनाउने ब्यवस्थापन समितिका अध्यक्ष सु. दिलबहादुर पुनले बताए ।

उनले गाउँपालिका मार्फत प्राप्त हुने जानकारी अनुसार विद्यालयको गतिविधिलाई सञ्चालन गर्ने बताए । विद्यालयमा बालविकास सहित २ सय १५ विद्यार्थी अध्ययरत छन् । जिल्लाका अधिकांस निजी तथा सामुदायिक विद्यालयले विद्यालयमै नतिजा प्रकाशित गरी अभिभावकलाई सूचना दिने गरेका छन् ।

Leave a Reply