म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाभर बिहिबार साँझ एसियाका तारा महामानव गौतम बुद्धको २६४४औं जन्मजयन्ति मनाइएको छ । बुद्धको सम्झना तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्तिमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत राष्ट्रसेवक र स्वयंसेवकप्रति उच्च सम्मानसहित दीप प्रज्ज्वलन गरिएको हो ।
यूवा बौद्ध संघ म्याग्दीले बेनी नगरपालिका–७ संगमचोकमा बुद्धजयन्तीको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य लगायतको उपस्थिती रहेको थियो । विश्व कोरोना भाइरसको चपेटामा परेको अवस्थामा म्याग्दी जिल्लामा जिल्लास्थित सरकारी कार्यालय, संघसंस्थालगायत सर्वसाधारणले दीप प्रज्ज्वल गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो ।
बेनीबजारबासीले आफ्नो घरअगाडी, छत, मन्दिरमा समेत दीपावली गरेका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । जिल्लाको ग्रामिण क्षेत्रमा समेत दीपावली गरिएको छ ।


बुद्ध जयन्ती तथा कोरोनाविरुद्ध अग्रपङ्तिमा खटिएको सम्मानमा दीप प्रज्ज्वलन
By -
On: May 7, 2020 9:13 PM











