प्रशस्तै पर्यटकीय सम्भावना रहेका प्राकृतिक सुन्दरता,जैविक विविधता,ऐतिहाँसिक तथा धार्मिकस्थल दुरुलेक धुरी प्रचार–प्रसार र पूर्वाधारको अभावले ओझेलमा परेको छ । म्याग्दीको मालिका गाउँपालिका–२ रूम र छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–५ सिपको सिमानामा अवस्थित लेक पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थान भएपनि आवश्यक प्रचारको अभावले ओभेलमा परेको हो ।

समुद्र सतहदेखि करीब तीन हजार ५ सय मिटरको उचाइमा रहेको दुरूलेक धुरीसम्म पुग्ने पदैलमार्ग सहज भएपनि त्यहाँ आवश्यक रात विताउन आवश्यक पर्ने न्यूनतम पूर्वाधारको अभावले भ्रमणमा जाने पर्यटकले सास्ती खेप्नु परेको त्यहाँ पुगेर फर्किएका नविन जुग्जालीले बताउनुभयो । ‘अनकन्टार पहाडको एउटा सुन्दर गन्तब्य बन्छ,‘पछिल्लो समय यहाँ पुग्नेको ताँती देखिन्छ’योगा प्रशिक्षक समेत रहनुभएका जुग्जालीले भन्नुभयो । उहाँले दुरुलेक धुरीमा प्रकृतिले भएभरको सुन्दरता खन्याइदिएको बताउँदै त्यसलाई ध्यान दिएर पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो । म्याग्दी क्षेत्रबाट जानेले रूमका विभिन्न बस्ती हुदैं सहजै धुरीमा पुग्न सकिने भएपनि दुईचारदिन बस्नेलाई आवश्यक पूर्वाधार भएमा पश्चिम म्याग्दीको सुन्दर गन्तब्य बन्न सक्ने दरबाङका खड्क छन्त्यालले बताउनुभयो । तीनदिनको यात्रापछि फर्किनुभएका छन्त्यालले ग्रामिण पदयात्रामा समुह बनाएर जानेलाई दुरुलेक एउटा अविस्मरणीय गन्तब्य बन्न सक्ने भएकाले स्थानीय सरकारले प्राथमिकतामा राखेर विकास निर्माणका योजनाहरूलाई अगाडी बढाउनुपर्ने बताउनुभयो । छिमेकी बागलुङसँगको सिमानामा भएपनि लेकको मुख्य भाग म्याग्दी खण्डमा पर्ने भएपनि त्यहाँ हुने ठूला र महत्वपूर्ण गतिविधिमा बागलुङतर्फबाट धेरै प्राथमिकता दिने गरिएको पर्यटकको भनाई छ ।

भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा मानिसहरू दुखका साथ पुग्ने  गरेपनि अरु बेला चाहेर पनि पर्यटकहरु पुग्न सकिरहेका छैनन्। फागुन–चैत्र महिनामा सेतो, रातो लगायत विभिन्न प्रजातीका गुराँसफुल्ने,बहुमुल्य जडिबुटी लगायत विविधताले भरिएको यो क्षेत्रको विकास गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई पुर्याउन सहज हुने रुमका यूवा तुल बहादुर पुनको भनाई छ । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न स्थानबाट बनभोज तथा विद्यालयका विद्यार्थीलाई समेत शैक्षिक भ्रमण समेत लैजाने गरिएको छ । मालिका गाउँपालिकाले तयार गरेको पाँच वर्षे गुरुयोजनामा दुरु लेक सहित मालिका धुरी, भालेबास्ने ताल, बराह ताल, सोलेडाडाँ, गाईखर्क ताल र देवताभीर, गुफा लगायतका गन्तब्यको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माण उल्लेख छ ।

Leave a Reply