म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ शिखमा निर्माण गरिएको शिख स्वाँत जोड्ने आर्क मोटरेबल पुल ६ महिना पनि नपुग्दै जीर्ण भएको छ ।

पूर्वाधार विकास योजना कार्यालयले २ करोड १० लाखको लागतमा स्वच्छन्द गौचन जेभी मार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो ।

३१ मिटर लम्वाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेका स्थानीय पत्रकार सेते तिलिजाले जानकारी दिए ।कमसल निर्माण सामाग्रीको प्रयोगका कारण पुलको अवस्था जीर्ण बनेको र ठेकेदारले लापरबाही गरेको स्थानीयले बताएका छन् ।तर ठेकेदार कम्पनी स्वच्छन्द गौचन जेभीका प्रतिनिधि लोभर सियर सुनम बरालले पुल निर्माणको अवधि चैत मसान्तसम्म रहेकोमा कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले चैत ११ गतेबाट देशव्यापि लकडाउन गरेका कारण काम स्थगित गरिएको बताए । उनले पुलको स्टकचरमा कुनै क्षति नपुगेको तर वर्षाका कारण पुल वरपरको भाग अलिकति भासिएको प्रतिक्रिया दिए ।स्थानीयले भने पुलमा नै दुईवटा भ्वाङ परेको र जोखिमपूर्ण तरिकाले वारपार गर्नु पर्ने अवस्था आएको बताएका छन् ।यता जिल्ला पूर्वाधार विकास समितिका प्रमुख ओमलाल ढुंगानाले ठेकेदार कम्पनिका प्रतिनिधि र कामदाहरुले काम गरिरहेको अवस्थामा लकडाउन भएका कारण चैत १७ गते पास दिएर घरमा पठाइएको र बाँकी काम लकडाउन खुले पछि गरिने बताए ।तर स्थानीयले भने पुल दायाँबायाँको भागको जमिन भासिएको र पर्खाल समेत भत्किन थालेकोले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएका छन् ।पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको उनीहरुको भनाइ छ ।

ठेकेदार कम्पनिले पुल निर्माण गर्दा कमशल गुणस्तरहिन सामाग्री प्रयोग गरेको जनप्रतिनिधिहरुलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकोले यस्तो अवस्था आएको स्थानीय सुबोध बरुवाल क्षत्रीले सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन् ।

पुलको बीचमा प्वाल परेको र वरपरको जमिन पनि भासिदै गएकोले जुनसुकै बेला पनि दुर्घटना हुने भयले स्थानिय चिन्तित छन् । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीयले पनि चासो नराखेको हुँदा ६ महिना पनि नवित्दै पुल भत्किने अवस्थामा पुगेको उनीहरुको भनाइ छ ।

तस्वीर सौजन्य सेते तिलिजा पुन

Leave a Reply