ठाकुर सुबेदी/अर्मन
बस्ती माथिबाट अव्यवस्थित सडक निर्माण हुँदा म्याग्दीको मंगला गाउँपालिका-५ अर्मन गाउँ उच्च जोखिममा परेको छ । गत वर्षदेखि निर्माण सुरु गरेको किमचौर–कमिरे हुँदै धारा जोड्ने सडक तलको अर्मन पहिरोको जोखिम बढाएको हो । अर्मन बस्तीको सिरानीबाट स्थानीयको सहमति बिना सडक विस्तार गरेपछि तत्काल १२ घरधुरी उच्च जोखिममा रहेको स्थानीय तुलसी सुबेदीले बेनीअनलाइनलाई बताईन् । ‘सिंगो अर्मन बस्ती नै पहिरोको चपेटामा पर्ने खतरा बढेको छ,‘लगातारको बर्षाले कुनैपनि बेला विस्थापित हुनुपर्ने अवस्था आएको छ’ सुबेदीले भनिन् । ठूल्ठूला ढुंगा बस्नी नजिक आइपुगेकाले तत्काल ब्यवस्थापन नगरे स्थानीय घनश्याम सुबेदी,डण्डपानी सुबेदी, लक्ष्मी सुबेदी, बुद्धिप्रसाद कँडेल लगायत १२ परिवार विस्थापितको खतरा रहेको भन्दै स्थानीयले शनिबार जनप्रतिनिधिलाई ध्यानार्कषण गराएका छन् ।सडक विस्तारले शिशु कल्याण मावि नै जोखिममा परेको भन्दै लगातारको बर्षाले कुनैपनि बेला असर गर्नेतर्फ वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्रीको समेत ध्यानार्कषण गराइएको स्थानीयको भनाई छ । ‘वडा अध्यक्ष गाउँमै हुनुहुन्छ,‘हामी विकास विरोधी होईनौ, गाउँ नै विस्तापित गर्ने अवस्थामा चुप लागेर बस्न सक्दैनौ’ प्रेम बहादुर रोकाले भने । भिरालो जमिनमा बस्तीमाथिबाट डोजरले सडक खनिएकाले पनि जमिन हल्लिएर पानी पर्नासाथ पहिरो खस्न थालेको उनको भनाइ छ । करिब ८० लाख लागत अनुमान गरिएको सडक विस्तारको क्रममा कडा चट्टान पन्छाउनुपर्ने भएकाले समेत तत्काल ब्यवस्थापन नगरे अर्मन गाउँका करिब ५० घरधुरी बाढीपहिरोको जोखिममा बस्नुपर्ने स्थानीयको भनाई छ । स्थानीयले भौगोलिक र वातावरणीय मूल्यांकनबिना नै धमाधम बस्तीमाथिबाट सडक निर्माण गरेको आरोप लगाएका छन् ।

‘सानो पानी आउँदा पनि पहिरो खस्न थालेको छ,‘बर्खाको समयमा रातभर जागराम बस्नुपर्छ’ धनमायाँ सुबेदी गौतमले भनिन्। डोजरले खनिएको कच्ची सडकमा स्थानीयले तत्काल रोक्नुपर्ने माग गरेका छन् । गाउँमाथिबाट ठूला ढुंगा खस्ने थालेको अवस्थामा बस्तीलाई सुरक्षित बनाउन ढुंगा फुटाउन समेत स्थानीयले माग गरेका छन् । यता वडाअध्यक्ष खत्रीले निर्माणको कामलाई ब्यवस्थित अगाडि बनाउने आश्वासन दिएका छन् ।

Leave a Reply