म्याग्दीको एक गाउँपालिकाले सामाजिक दुरी कायम गरी विद्यालय भर्ना अभियान सुरू गरेको छ । कोरोनाभाइरस संक्रमण देखिएपछि सरकारले जारी गरेको लकडाउन लम्बिएपछि पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाले बार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै भिडभाड नगरी विद्यालय भर्ना अभियान सुरू गर्ने निर्णयसँगै गाउँपालिका भित्र रहेका विद्यालयले शैक्षिक सत्र २०७७ को भर्ना अभियानको सूचना गरेका छन् ।

लामो लकडाउनले शैक्षिक क्यालेन्डरलाई असर गरेको अवस्थालाई मध्यनजर गरी गत बैशाख २४ गते गाउँपालिका अध्यक्ष थमसरा पुन मगर, उपाध्यक्ष रेशम छन्त्याल लगायतको उपस्थितीमा बैशाख २८ गते देखि जेष्ठ ५ गतेसम्म भर्ना अभियान सुरू गरिएको शिक्षा शाखाका स्रोतब्यक्ति गिरीप्रसाद छन्त्यालले बताउनुभयो ।

‘सामाजिक दुरी कायम गरी भर्ना अभियान सञ्चालन गर्नेछौ,‘किताब र पोशाकको ब्यवस्थापन गरेपछि लकडाउन लगत्तै पढाई सुचारु हुन्छ’ छन्त्यालले भन्नुभयो । उहाँले यो समयलाई सदुपयोग गरी विद्यालयको एकिकृत सुचना अभिलेखको काम समेत गरिने बताउनुभयो ।

अब लकडाउन खुकुलो हुन सक्ने आँकलन गर्दै भर्ना अभियान, पुस्तक ब्यवस्थान गरेपछि लकडाउन खुलेको भोलिपल्टबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने जानकारी प्राप्त भएपछि अभियान सुरु गरिएको ताकम माविका प्रधानाध्यापक ओमकार पौडेलले बताउनुभयो ।

‘गाउँपालिकाको सूचना अनुसार नै अगाडी बढेका छौ,‘भर्ना अभियानका गृहकार्य सुरु भइसकेको छ’ प्रअ पौडेलले भन्नुभयो । गाउँपालिकामा १० मावि, १८ आधारभुत तह गरी२८ वटा सामुदायिक विद्यालयमा गतबर्ष ३ हजार ४५७ सय विद्यार्थी अध्ययनरत थिए । यता शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र अनुसार नयाँ शैक्षिक सत्रका लागि अहिले नै भर्ना नलिन आग्रह गरेको छ।

गत सोमबार मन्त्रीस्तरीय निर्णयले कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र लकडाउनसमेत खुकुलो नभएको अवस्थामा भर्ना अभियान र नयाँ भर्ना लिने अवस्था नरहेको पत्र प्राप्त भएको प्रमुख दलबहादुर थापा मगरले बताए । ‘अर्को सूचना जारी नहुञ्जेल नयाँ भर्ना नलिन सबै स्थानीय तहलाई पत्र पठाइएको छ,‘तत्काल भर्ना अभियानलाई प्राथमिकता दिनु हुदैन’ प्रमुख थापा मगरले भने ।

 

Leave a Reply