ऐतिहासिक तथा पर्यटकीयस्थल भएर पनि रानीले कपाल कोर्ने डिल ओझेलमा परेको छ । पर्यटकीय सम्भावना भए पनि म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित सौरबोटमा पर्ने रानीले बसेर कपाल कोर्ने डिल पछाडि पर्दै जान थालेको हो ।

प्रचारप्रसारको अभाव तथा पर्यटकीय पूर्वाधारहरु नबन्दा रानीले कपाल कोर्ने डिलका रुपमा रहेको ठाउँ ओझेलमा परेको स्थानीयवासीले बताएका छन् । सौरबोटसम्म पुग्ने सडकमार्गको पहुँच नहुनु, भूगोलका हिसाबले दुर्गममा रहेको उक्त स्थानमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि विकास हुन सकेको छैन । रानीले कपाल कोर्ने डिलका नामले प्रख्यात रहेपनि आवश्यक प्रचारप्रसारको अभाव भएको छ ।

सौरबोट नजिकै रहेको उक्त डिल १४औं शताब्दीकाताका तत्कालीन राजा दिलिपबम मल्लको धर्मपत्नी रानीले बसेर कपाल कोर्ने गरेको हुँदा उक्त डिलको नाम रानीले कपाल कोर्ने डिलका रुपमा स्थापित भएको गाजनेका स्थानीय निलकण्ठ शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालमा बाईसे–चौबीसे राज्य कायम रहँदा गाजने गाउँभन्दा माथि ऐतिहासिक डढेकोट दरबार रहेको थियो । सोही दरबारमार्फत ऐतिहासिक पर्वत राज्यको राजकाज सम्हालेका दिलिपबम राजा दरबारदेखि केही तल सौरबोटमा रहेको पानीको कुवामा दैनिक नित्यकर्मसहित नुवाइधुँवाई गर्न जाने गर्दथे ।
सरसफाई गर्न राजपरिवार सौरबोटमा रहेको पानीको धारा तथा कुवामा जाने क्रममा रानी पनि सङ्गै गएको र कुवाको नजिकमा पर्ने डिलमा बस्ने गरेको हुँदा रानीले कपाल कोर्ने नामले चिनिएको किम्बदन्ती रहेको बताइएको छ । रानीले कपाल कोर्ने डिल ऐतिहासिक, पर्यटकीय तथा अत्यन्तै रमणीयस्थलका रुपमा रहेको जगन्नाथ आधारभूत विद्यालय गाजनेका प्रधानाध्यापक समेत रहनुभएका शर्माले जानकारी दिनुभयो ।

रानीले कपाल कोर्ने डिलबाट बेनी नगरपालिकाको घतान, पात्लेखेतसहित उत्तरी रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, राखुपिप्ले, भगवती, दग्नाम, चिमखोला, पाखापानी, कुईनेमङ्गले देखिन्छ । यसैगरी अन्नपूर्ण गाउँपालिकाको रिम, हिस्तान, राम्चेका साथै पर्वत जिल्लाको जलजला गाउँपालिकाको मल्लाज, सालिजा, लेखफाँट, धाईरिङ र पाङ क्षेत्र समेत त्यस ठाउँबाट देखिन्छ । उक्त डिलबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी तथा अन्नपूर्ण रेन्जको सबै हिमालसहित मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

सो डिल र सौरबोटको प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधार निर्माण गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरु भिœयाउन सकिने सम्भावना रहेको छ । सौरबोट क्षेत्रमा रहेको खाली जग्गाको प्रयोग तथा रानीले कपाल कोर्ने डिलको विकास गर्न तयारी अगाडि बढाइएको गाजनेका स्थानीय यामबहादुर बानियाँले बताउनुभयो ।

Leave a Reply