२नम्बर प्रदेशको पर्सा जिल्लामा ३९ र बारा जिल्लामा १ जना गरेर ४० व्यक्तिमा मंगलवार कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार संक्रमित व्यक्तिमध्ये १४ जना पर्साको छिपहरमाई गाउँपालिका र बाँकी २५ जना वीरगञ्ज महानगरपालिकाका रहेका छन् । वैशाख २१ गते वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको थियो । ‘पछि वैशाख २४ गते १७ नम्बर वडा पनि संक्रमण पुष्टि भएको थियो,’ घिमिरेले भने, ‘संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर स्वाब संकलन गरेर परीक्षण गराउँदा कोरोना संक्रमण बढेको पाइएको हो ।’

बाग्लुङबाट आएका १४ जनामा संक्रमण

पर्साको छिपहरमाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६२ जना व्यक्तिमध्ये १४ जनामा कोरोना संक्रमण पाइएको छ । गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताका अनुसार संक्रमित १४ जनाको समूह १७ दिनअघि वैशाख १३ गते बस चढ़ेर बाग्लुङबाट पोखरा हुँदै आएका थिए । बसमा ४२ जना आएका थिए ।

संक्रमितहरू बाग्लुङमा काम गर्दै आएका मजदुर हुन् । ‘उनीहरू आएको खबर पाए लगत्तै मैले सबैलाई दायाँबायाँ हुने मौका दिइनँ, सबै जनालाई क्वारेन्टाइनमा राखेको थिएँ,’ प्रमुख गुप्ताले लोकान्तरसँग भने, ‘२ दिनअघि वैशाख २८ गते उहाँहरूको स्वाब संकलन गरिएको थियो ।’

संक्रमितमध्ये १ जना भारतीय नागरिक रहेको, २ जना पर्सा जिल्लाकै धोबिनी गाउँपालिकाका र बाँकी ११ जना छिपहरमाई गाउँपालिकाका रहेका उनले बताए । source: Lokantar.com

 

Leave a Reply