म्याग्दीको मंगला गाउँपालिकाले डेंगुरोग नियन्त्रणसम्बन्धी वडास्तरीय कार्ययोजना निर्माण गरेको छ । गाउँपालिका भित्र २ जनामा डेंगुको संक्रमण पोजिटिभ देखिएपछि पाँचवटै वडाका बस्तीमा डेंगु रोग नियन्त्रण गर्न ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बसेको वैठकले डेंगु नियन्त्रणसम्बन्धी वडास्तरीय कार्ययोजनामा लार्भा खोज तथा नष्ट, जनचेतनामुलक कार्यक्रम र ब्यवस्थापन गरी पहिलो चरणमा तीनवटा कार्यक्रम तय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

‘घरघरमा अभियान पुग्ने गरी कार्ययोजना बनाइएको छ,‘समुदायको सक्रियतमा डेंगु रोग नियन्त्रणमा सफलता मिल्ने छ’ गौतमले भन्नुभयो । कार्ययोजनामा लामखुट्टेको बासस्थान, लार्भा, खोज तथा नष्ट अभियानको अगुवाई वडा अध्यक्षले गर्ने,जनचेतना अभिबृद्धि कार्यक्रम स्थानीय सञ्चारमाध्यमको सहयोगमा माईकिङ लगायतका गतिविधि र ब्यवस्थापन अन्तरगत परामर्श र स्वास्थ्य शिविर, वर्कशप, ग्यारेज, कवाडी, र टायरजन्य फोहोरमैला व्यवस्थापन गरिने जनाइएको छ ।

गाउँपालिका अध्यक्ष रोकाले जनचेतनामुलक कार्यक्रम मार्फत लामखुट्टेको बास्थान नै नष्ट गरी डेंगु सार्ने एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको पहिचान तथा नष्ट गर्ने अभियानका बारेमा गाउँपालिकाबासीलाई जानकारी गराउने बताए ।

‘हरेक घरधुरीमा यो अभियानको सन्देश पुर्याउने प्रयासमा छौ,‘डेंगुको जोखिममा गाउँपालिका परेको छ’ अध्यक्ष रोकाले भने । गतबर्ष समेत मंगलामा १ बृद्धामा डेंगु देखिएको थियो ।

Leave a Reply