सन्तोष पोखरेल/लकडाउनको बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा पुगेपछि फैलिएको भन्ने थाहा पाउन परीक्षण गर्न थालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बाराको छिपहरमाई गाउँपालिकामा गत मंगलबार भेटिएका १४ जना कोरोना संक्रमित बागलुङको गलकोटबाट गएका मध्येका मजदुर थिए । बागलुङमा आई मजदुरी गरिरहेका उनीहरु वैशाख १३ गते बारा पुगेका थिए । त्यसपछि गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार बारामा भेटिएका संक्रमितको बागलुङ कनेक्सन देखिएपछि गलकोटका बासिन्दाको स्वाव परीक्षण गर्न थालिएको हो ।  मजदुरले काम गर्ने बागलुङको गलकोट नगरपालिकाका विभिन्न वडाका १ सय ५० जना बासिन्दाको स्वाव परीक्षण गर्ने तयारी भईरहेको छ।

बागलुङमै संक्रमित भएको भए अरुमा पनि संक्रमण फैलिएको हुनसक्ने सम्भावना रहेको उनले बताए । ‘करिब एकसय ५० जना गाउँलेको स्वाव परीक्षण गर्ने तयारी भईरहेको छ । एक–दुई दिनमा नमूना संकलन गर्ने हो,’ उनले भने ।  बागलुङको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैह्रेका अनुसार ती मजदुरले काम गर्ने क्षेत्र पहिचान गरेर कामदारको कन्ट्याक्ट ट्रेसिङ गर्ने प्रयास भईरहेको छ ।

विभिन्न वडाका एकसय ५० जनाको नाम संकलन गरेर पठाउने तयारी भएको छ ।’ नाम पहिचान गरेर पठाएपछि बल्ल स्वाव संकलनका लागि टिम आउने उनले बताए ।

नगरप्रमुख गैह्रेका अनुसार गलकोट–३ हटिया क्षेत्र, ५ नम्बरको हरिचौर बजार, ६ नम्बरको चौरी, ७ नम्बरको आँगाखेत क्षेत्रका बासिन्दाको परीक्षण गर्ने गरि नाम संकलन गरिएको छ । उनका अनुसार बागलुङमा कार्यरत ७९ जना बाराका मजदुर बैशाख ११ गते बाराका लागि हिडेका थिए । उनीहरु १३ गते मात्र बारा पुगेका थिए । बागलुङबाट हिडेका ती मजदुरसँगै रातामाटे, उपल्लाचौर र पर्वतबाट पनि थपिएका थिए । सबैगरि ९० जना जति मजदुर दुईवटा बस चढेर हिडेका थिए ।

बारा पुगेर क्वारेन्टिनमा बसेका मजदुरहरुले अव्यवस्थित र भीडभाडमा बस्नुपर्दा गृहजिल्लामै संक्रमित भएको भनेर बागलुङका बासिन्दालाई बताएका थिए । गाउँबाट बाहिरिएका मजदुरमा संक्रमण देखिएपछि नगरपालिकालाई सिल गरि आउजाउ कडाई गरिएको नगरप्रमुख गैह्रेले बताए ।  Source: nagariknews.com

Leave a Reply