बन्दाबन्दीले तालमा घुम्न जानेहरू छैनन्, यो समयमा चहलपहल हुने ताल सुनसान छ । म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी जाने पर्यटकहरूलाई बाटोमै रोकेर केही समय तालमै रमाउन बाध्य बनाउने म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको बराह ताल प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।बिमको बाइन्दाफाँट विमराङमा रहेको धार्मिक र पर्यटकीय गन्तव्यको अनुपम स्थल बनाउन सकिने बराह तालको उचित प्रचार र आवश्यक पूर्वाधारको अभावमा ओझेलमा परेको हो। करिब आधा रोपनी क्षेत्रफलमा फैलिएको यो तालमा म्याग्दीकै प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिर र धौलागिरि हिमालको प्रतिबिम्ब देखिन्छ । त्यसका साथै गुर्जा हिमालको मनमोहक दृश्य र सुन्दर ग्रामीण वस्तीहरु, वनजंगल, पहाड यहाँबाट देख्न सकिन्छ । जैविक विविधताका अनेक सम्पदाहरुलाई समेटको बराह ताल प्राकृतिक सुन्दरताका साथै धार्मिक हिसावले पनि महत्वपूर्ण मानिने बिमका नविन जुग्जालीको बताए । बाइन्दाफाँट गाउँको शिरमा अवस्थित गोलो आकारको बराहताललाई धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने जुग्जालीको भनाई छ ।
आधा रोपनी क्षेत्रफलमा फैलिएको, तीन मिटरभन्दा गहिरो र समुन्द्री सतहदेखि दुइ्र्र हजार तीनसय मिटरको उचाइमा अवस्थित यस तालको माथिल्लो पट्टी बराह थान रहेको छ। सोही बराहा थानको नजिकै रहेको पानीको मूलबाट ताल बनेको छ ।
यस तालको संरक्षण र प्रचारप्रसार गरी पूर्वाधार निर्माण गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यो ताल आकर्षणको केन्द्र बन्नसक्ने भएपनि सम्बन्धित निकायबाट अपेक्षा गरे अनुसारको पूर्वाधार प्राप्त नभएको स्थानीयको गुनासो छ । यस तालमा रहेको जलवराहाको पूजाआजा तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । वडा कार्यालयले मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि यहाँसम्म पुगेको सडकलाई विस्तार गरेर प्रसिद्ध धार्मिकस्थल मालिकाको धुरीसम्म जोड्ने तयारी गरेको र यसको संरक्षण तथा प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको मालिका गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रेशम जुग्जालीले बताए । उनले विगतमा जस्तै ओझेलमा नपर्ने बताए । बाइन्दाफाँटमा रहेको बराहा ताल आसपासबाट मालिकाधुरी जाने सडक विस्तार भएकाले भविस्यमा ताल सुन्दर गन्तब्यको रुपमा विकास हुने मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाको भनाई छ ।
धार्मिक, ऐतिहासिक, पर्यटकीय र अन्य सम्भावनाहरु रहेका क्षेत्रहरुको विकास र प्रवद्र्धन गरी ती स्रोतहरुलाई गाउँपालिकाको चिनारी र जनताको आय आर्जनको माध्यम बनाउने गरी गुरुयोजनामै समेटेको अध्यक्ष रोकाले बताए । तालमा स्थानीयले समेत विभिन्न पूर्वाधार बनाउन धेरै श्रमदान गरेका छन् । ताल नजिकैबाट हेर्दा निकै आर्कषक र सुन्दर देखिन्छ ।
तालको इतिहाँसिक महत्व
बुढापाकाहरुको मौखिक भनाइ अनुसार यो तालको बनावट सुरुदेखि नै सुन्दर गोलाकारमा रहेको छ। यस तालमा धौलागिरी हिमाल र मालिका धुरी प्रतिबिम्बित हुँदा अझै सुनमा सुगन्ध भने झैं अनुपम सुन्दरतामा सजिएको दृश्यले जो कोहीको मनलाई सजिलै सम्मोहित गरिदिन्छ । ठुला ठुला आकर्षक रुखहरुको काखमा रमेको यो बराह ताल प्राकृतिक रुपमै सुन्दर छ।
यस बराहक्षेत्रलाई थप भौतिक पूर्वाधार निर्माणकार्य हुन सकेको खण्डमा धार्मिक पर्यटकीय क्षेत्र बन्न सक्ने प्रचुर संभावना देखिन्छ । यहाँ तालको नजिकै एउटा सुन्दर मन्दिर रहेको छ। यहाँ हरेक वर्षको उघौंली र अधौंली अर्थात कार्तिक महिना र बैशाख महिनामा गरि वर्षे्नि दुई पटक पुजाआजा गर्ने परम्परा रहेकोे छ।पुरानो समयमा कुनै आमा छोरी बराहक्षेत्रमा घुम्न जाँदा त्यहाँका बराह देवताले छोरी चाहिँलाई लुकाएकोले त्यस दिनदेखि ती आमा आफ्नो छोरीको वियोगमा हरेक पल तड्पि रहिन्।
धेरै समयपछि फेरि छोरीलाई खोज्दै बराह ताल नजिक पुगिन् र ती आमाले आफ्नो छोरीलाई चिच्याएर बोलाउन थालिन् यत्तिकैमा तालभित्रबाट आफ्नो छोरीको स्वर सुन्छिन्। र आमाले आफ्नो छोरीलाई बाहिर आउन आग्रह गर्दा मेरो गर्भमा बच्चा भएकोले मलाई बाहिर आउन अनुमति छैन भनिन् ।ती आमाले भनिन् त्यसो भए तिम्रो बच्चालाई हेर्न चाहन्छु भनी जिद्दी गरेकोले एकछिनपछि त्यहाँ एउटा सर्प पो आयो।यो देखेर ती आमा भागिन्।उता सर्प पनि मरेछ।
साँझपख बराह घरमा आउँदा आफ्नो बच्चा मरेको देखेर बराहले सोधपुछ गरे। र आफ्नो पत्नीले सबै वृत्तान्त बताइन् । यसपछि बराहको मनमा क्रोध पैदा भयो। तीर चलाए, त्यो तीर आफ्नो पत्नीको आँखामा लाग्यो। रगतको धारा बगेका कारण केहि समय त्यस तालको रंग रातो भयो। त्यसपछि कहिले निलो कहिले खैरो हुने गर्दथ्यो। यसका साथै यस तालमा रुखका सुकेका पातहरु खसिरहन्थ्यो।ती पातहरुलाई दुइवटा चराले टिपेर फ्याँक्ने गर्दथ्यो भन्ने जस्ता पुरानो किवदन्ति छ।
बि सं १९२५ देखि पुजाआजा गर्ने परम्परा चलेको हो भन्ने कुरा छ। र यस तालमा कुनै बेलाको कुरा हो एकचोटि घोडाले पानी पिउदा केही वर्ष ताल न सुकेको थियोे रे। तिर्खाएका एक हल गोरुले पानी पिउँदा हल गोरुलाई नै त्यस तालले लुकाएको थियो रे। त्यहाँ कसैले गएर फोहोर मैलो गरिदियो भने असिना, हुरी, खडेरी पर्ने गर्छ।