एक ब्यक्तिले आफ्नो जन्मदिनको अवसर पारी दिवङ्गत पितृको स्मृतिमा बेनी नगरपालिका-९, गलेश्वरधाममा अवस्थित निशुल्क भोजन गराउने अन्नक्षेत्रमा १ लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिका–६ धाईरिङ स्थायी घर भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अगुवा एवम् यूकेमा सफल नेपाली ब्यवसायी कुलप्रसाद आचार्यले जन्मदिनको अवसरमा पृत्रि जयन्ती आचार्यको स्मृतिमा अन्नक्षेत्रमा १ लाखको कोष स्थापना गरी ज्येष्ठ नागरिक र विद्यार्थीलाई भोजन गराउनुभएको हो ।

अन्नक्षेत्रमा आयोजित कार्यक्रममा आचार्यका आफन्त रामजीप्रसाद सुबेदीले अन्नदान क्षेत्रका अध्यक्ष भिमनाथ पराजुली, उपाध्यक्ष बमबहादुर पुन, गलेश्वर आमा समुहकी अध्यक्ष गौमायाँ गर्बुजा लगायतको उपस्थितीमा १ लाख हस्तान्तरण, भोजन र ज्येष्ठ नागरिक, संस्कृत विद्यालयका विद्यार्थीलाई दक्षिण समेत वितरण गरिएको थियो । सहयोग हस्तान्तरण कार्यक्रम अन्नदानका अध्यक्ष पराजुलीले कोषमार्फत हरेक बर्ष भोजन गरिने बताउनुभयो ।सहयोगदाता आचार्यले यसअगाडी गलेश्वर एनआएनए यूकेको सक्रियतामा निर्मित ज्येष्ठ नागरिक आश्रम भवनमा समेत ५ लाख सहयोग गर्नुभएको थियो भने विभिन्न समयमा गलेश्वरमा सहयोग गदैं आउनुभएको छ । यसैबीच जन्मदिनको अवसरमा आचार्यले हरेक बर्ष कोष बृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँका आफन्त रामजीप्रसाद सुबेदीले जानकारी दिनुभयो । कोरोनाको महामारीले विश्व नै संकटमा परेका बेला जन्मदिनमा केक काटेर भोज खुवाएर फजुल खर्च गर्नुभन्दा आश्रममा बस्दै आएका ज्येष्ठ नागरिकलाई भोजन र सहयोग गरी मनाउने निर्णय गरेको आचार्यले बेनीअनलाइनलाई बताउनुभयो ।

Leave a Reply