नेपाल टेलिभिजनले प्रत्येक दिन दिउँसो ४ बजेको समाचार बुलेटिनपश्चात् देशभरको कोरोना संक्रमणको ताजा अवस्थाको जानकारी गराउँछ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले कोरोना संक्रमण र सावधानीका उपायबारे जानकारी दिइरहेका बेला छेउमा उभिएर एक जना हात हल्लाइरहेका देखिन्छन्।

धेरैलाई यो दृश्य अनौठो लाग्न पनि सक्छ । कतिपयको मनमा ती व्यक्ति को हुन् ? त्यहाँ के गरिरहेका छन् ? त्यस्तो किन गरिरहेका छन् ? भन्ने पनि लाग्न सक्छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देखिने दुईजना मध्ये एक म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँका सागर सुबेदी हुन् ।

बहिरोपन भएका व्यक्तिहरूको संविधानप्रदत्त सूचनाको हक सुरक्षित गरी उनीहरूसम्म सूचना पुर्याउन सुबेदीसँगै नुवाकोटका दिनेश श्रेष्ठ समेत देखिन्छन् । राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघका केन्द्रीय सदस्य सुबेदी कोरोनाले देश लकडाउन भएपछि निकै ब्यस्त छन् ।

सिलापत्र अनलाइनले सुबेदी र श्रेष्ठको भूमिकाको बारेमा तयार पारेको समाचार अनुसार यो जिम्मेबारीबाट सुबेदी उत्साहित छन् । स्वास्थ्य मन्त्रालयको दैनिक बुलेटिनमार्फत् सेवा र्पुयाउन पाएकामा उनी खुसी छन् । राष्ट्रिय बहिरा महासंघका अध्यक्ष के.पी. अधिकारीले पनि धेरै डौदधुप गरे । सुरुमा मन्त्रालय उनीहरूको कुरामा सहमत देखिएको थिएन । तर धेरै चरणहरूमा उनीहरूले साङ्केतिक भाषाको महत्त्व बुझाएपछि मन्त्रालय सहमत भयो ।

अहिले यो कदमको राम्रो प्रतिक्रिया आएकाले मन्त्रालय पनि सन्तुष्ट छ । यसमा काम गर्नेहरू खुसी नहुने त कुरै भएन । स्वास्थ्य मन्त्रालयले साङ्केतिक भाषामा समेत कोरोनाको सूचना प्रवाह गरेको देखेपछि अन्य सरकारी निकायले पनि त्यसको आनुसरण गर्न थालेका छन् । आर्थिक रूपमा पनि सहयोग मिलेको छ । महासंघले यहाँ काम गर्नेहरूलाई दिनको ३ हजार रुपैयाँका दरले दैनिक भत्ता दिने निर्णय गरेको छ ।

सामान्यतया २ घण्टाभन्दा कम सेवा र्पुयाएबापत २ हजार रुपैयाँ र सोभन्दा बढी समय सेवा गरेबापत ३ हजार रुपैयाँ भत्ता पाउने व्यवस्था छ । आयआर्जन र सामाजिक कार्य एकसाथ भएकाले श्रेष्ठ आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छन् । अहिले देशमा करिव ३ लाखको हाराहारीमा बहिरोपन भएका व्यक्तिहरू छन् । तर, व्यावसायिक साङ्केतिक भाषा दोभाषेहरू २० जना मात्र छन् । ५० जनाले साङ्केतिक भाषाको प्रशिक्षण लिएका छन् तर व्यावसायिक रूपमा २० जनाले मात्र यस्तो सेवा प्रवाह गर्ने गरेका छन् ।

सागर सुवेदी
सागर सुवेदी अहिले २८ वर्षका भए । उनका ३ जना आफन्तहरूमा बहिरोपनको समस्या थियो । उनलाई ती ३ जनाको उपचार गर्न पाए पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो । विविध कारणले उनी डाक्टर हुन त पाएनन् तर डाक्टर भएर ३ जनाको सेवा गर्नुभन्दा साङ्केतिक भाषाको माध्यमले ३ लाखलाई उनीहरूको बोली बनेर सेवा र्पुयाउन पाउँदा उनी सन्तुष्ट छन् । बहिरोपन भएका आफन्तहरूसित घुलमिल हुँदा उनले केही साङ्केतिक भाषाको ज्ञान हासिल गरे । पछि उनले साङ्केतिक भाषाको ४ महिने प्रशिक्षण नै लिए । अहिले त्यस्तो प्रशिक्षण ६ महिनासम्म दिने गरिन्छ ।

सागरले १३ वर्षको उमेरमै बुबा गुमाए । उनी पढाइमा अब्बल थिए । त्यसैले उनले स्कुलको शुल्क तिर्नुपरेन । म्याग्दीकै माउण्ट एभरेस्ट स्कुलमा एसएलसीसम्म पढेका सागर कक्षामा सधैँ प्रथम हुन्थे । कक्षा १० सम्म पूरै निःशुल्क पढेका सुवेदीले २०६४ सालमा एसएलसी परीक्षा दिए । एसएलसीमा उनी जिल्लाभरमा चौथो स्थानमा आउन सफल भए । राम्रो अंक ल्याएकै कारण आईएस्सीमा उनले निःशुल्क पढ्ने अवसर पाए ।

उनी डाक्टर वा इन्जिनियर बन्न चाहन्थे । उनले त्यसको तयारी पनि गरे तर यी दुवैमा उनलाई स्वाद आएन । त्यसको धङधङीबाट छिट्टै नै बाहिर निस्किए उनी । अन्ततः उनी एक जना आफन्तमार्फत् राष्ट्रिय अपाङ्ग महासंघको सम्पर्कमा आए । त्यहाँ भने उनले मन लगाएर काम गर्न थाले । उनलाई उक्त काममा स्वाद पनि आउन थाल्यो ।

नेपाल कमर्स क्याम्पसबाट स्नातक तहको अध्ययन गरेका उनी अहिले आफ्नो पेसाप्रति सन्तुष्ट छन् । भन्छन्, ‘सुरुमा ३ जना आफन्तको उपचार गर्नकै लागि भए पनि डाक्टर बन्नुपर्छ भन्ने लागेको थियो तर अहिले ३ लाखको आवाज बन्न पाउँदा गौरवको अनुभूति हुन्छ ।’अहिले उनले आफन्त र चिनेजानेकाहरूबाट पनि प्रशंसा र प्रोत्साहन पाएका छन् । स्कुलका शिक्षकहरूले पनि ‘केटोले राम्रो गरेको छ’ भन्दै हौसला प्रदान गर्छन् रे !

यो त अरूको कुरा भयो उनी आफैँलाई चाहिँ के लाग्छ त ? ‘आम्दानी पनि ठीकै छ, समाजसेवा गरेको जस्तो पनि भयो’, सुवेदी भन्छन्, अहिले त टेलिभिजनमा पनि देखिन थालेको छु । एक हिसाबले सेलिब्रिटी जस्तै भएको छु । यो सबै देख्दा खुसी लाग्छ ।’मासिक तलबवापत उनी २६ हजार रुपैयाँ पाउँछन् । कुनै कार्यक्रम वा सभा, समारोहहरूमा जाने अवसर पाइएमा भने दिनको २ देखि ३ हजार रुपैयाँसम्म भत्तासमेत पाउँछन् । यसरी उनी मासिक औसत ४० हजार रुपैयाँसम्म कमाउँछन् । ‘कामबाट प्राप्त हुने आत्मसन्तुष्टिको त कुनै मूल्य हुने कुरै भएन, त्यो अमूल्य छ’, उनी भन्छन् ।

Leave a Reply