मुस्ताङबाट बिरामी लिन आएको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठेबोटमा दुर्घटना भएको छ । सुत्केरीलाई लिन आएको लेते स्वास्थ्य चौकीको ग १ झ ३०११ नम्बरको एम्बुलेन्स कालिगण्डकी नदीमा खस्दा चालक सुजन विक बेपत्ता भएको छन् । एम्बुलेन्स सडकबाट कालिगण्डकीमा खसेको अवस्थामा भेटिएपनि मुस्ताङ थासाङ गाउँपालिका–४ का चालक विकको अवस्था अज्ञात रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।
‘चालकको अवस्था अज्ञात छ, घटनास्थलमा खोजीकार्य भइरहेको छ’ प्रनाउ कुँवरले भन्नुभयो । प्रहरीको सुरक्षा पोष्टमा दर्ता भएको चालकको विवरणमा समेत सुत्केरी ल्याउन जाने खुलेको छ । घटनास्थलमा प्रहरी, नेपाल रेडक्रस सोसाईटी लगायत स्थानीयले चालकको खोजीकार्य गरिरहेका छन् । दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । बिरामी लिन बेनीतर्फ आइरहेको एम्बुलेन्समा चालक बाहेक कोही नभएको बुझिएको छ ।
सुत्केरी लिन आएको एम्बुलेन्स बैसरी नजिक दुर्घटना, चालक बेपत्ता
On: May 17, 2020 8:24 PM








