माननीय मुख्यमन्त्री ज्यू,
गण्डकी प्रदेश, पोखरा

हुन त तपाईकहाँ कार्यकक्ष र क्वाटरमै दैनिक दर्जनौ पत्रहरु आउँछन् । ती पत्रहरुको अनुक्रममा यस्ता पत्रहरु पढ्ने फुर्सद सायदै होला ? या यसले अर्थ राख्छ राख्दैन ? यसको मर्म र सन्देश निकटस्थद्धारा तपाईकहाँ पुग्छ पुग्दैन ? त्यो पनि थाहा छैन । तर, अप्रिय दुर्घटना पछि तपाईकै प्रदेश मातहतमा रहेको अस्पतालमा एक स्वास्थ्यकर्मीले खेपिरहेको दुखान्त दृश्यले अचाक्ली पीडा भए पछि एक नागरिकका हिसावले तपाई समक्ष केहि प्रश्न र सूचना सहित यो पत्र प्रेषित छ ।

धौलागिरी अञ्चल अस्पताल बागलुङमा सिनियर अहेवको रुपमा कार्यरत कविता शाक्य । त्यही पात्र हुन्, जसले आफ्नो स्वास्थ्य सेवाका २० बर्ष नागरिकको सेवामा बिताए पनि गाडी दुर्घटना पछि निकै सकसको जीवन बिताइरहेका छन् । दुर्घटना पछिको शारिरिक पीडा एकातिर छ । यसको दुखाई त औषधि (ब्रोफिन र पेन किलर)हरुले कम गर्ने प्रयास गरिरहेकी छिन् । तर, त्यो भन्दा भयानक पीडा त एक सकुशल स्वास्थ्यकर्मी दुर्घटना पछि जब अपांग भइन्, त्यसपछि सरकार र आँफु कार्यरत अस्पताल व्यवस्थापन समिति र उच्च पदस्थ व्यक्तिहरुले दिएको बारबारको दबाब, तनावबाट अपांगता हुनुको थप पीडाबोध गरिरहेकी छिन् । र भनिरहेकी छिन् एक भवितव्यमा परेर अपांग हुनु अपराध हो र ?

घटना यस्तो थियो
२०७१ साल असार १९ गते । सरकारी कामकै शिलशिलामा काठमाण्डौं गएर बागलुङ फर्किने क्रममा तनहुँको दमौली नजिकै माइक्रोवस दुर्घटना भयो । दुर्घटनामा परि स्वास्थ्यकर्मी शाक्य, नेपाली सेनामा कार्यरत उनका श्रीमान तिर्थराज श्रेष्ठ नाबालक सन्तान सहित दुर्घटनामा परे । जुन दुर्घटनामा शाक्य दम्पतिले आफ्नो सानो छोरालाई गुमाउन बिवश बने । दुर्घटनाको चार महिनामा उपचार पछि जिल्ला फर्किएर अस्पतालमै काम गर्न थाले । तर, शारिरिक जटिलता बढ्दै गए पछि २०७४ साल भाद्र २० गते उपचारका लागि काठमाण्डौं गइन् ।

मंसिरमा फर्किदा हिँड्डुलमा समस्या भो । त्यसपछि पुस २४ गते अपांगमैत्री कामकाज गरिपाउ भनेर अस्पतालमा निवेदन दिए । अस्पतालले निवेदनका आधारमा माघ १४ गतेदेखि थप आर्थिक भार नबढ्ने गरि अस्पतालको विमा क्लेमको इन्ट्रि गर्ने काम गर्न निर्देश ग¥यो । उनले अस्पताल परिसर बाहिर रहेको क्वाटरको दोस्रो तलाको कोठाबाटै दैनिक काम गरिरहिन् ।

अपांगताको बिशेष अवस्था पछि कार्यालय सहयोगी मार्फत हाजिर पनि उसै गरी गरिन् । अस्पतालमा नयाँ व्यवस्थापन समिति आयो । समितिले कोठामै आएर उनको अवस्था बुझ्दै बिशेष व्यवस्था र सहयोग गर्ने आश्वासन दिए । समिति मात्रै होइन, अस्पतालका माथिल्लो निकायका गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री, निर्देशकदेखि अरु उच्च पदस्थको उस्तै अपांगमैत्री बातावरण तयार गर्ने बचन पाइरहे । परिस्थितिले दिएको चोटबाट हार नखान ढाडस दिइरहे ।

तर, २०७६ भाद्र २७ गतेदेखि अस्पताल समितिको बचन उल्टियो । उनको अपांगता माथि थप धावा बोलियो र रोकियो हाजिरी । अनि रोकियो खाइपाइ आएको तलब । जसले गत बर्षको दशै, तिहार पनि निकै खल्लो बनाइदियो । बिर्सियो उनले २० बर्ष हजारौ सेवाग्राहीको उपचारमा दिन रात नभनि ओभरटाइम समेत गरेको काम । र संविधानको भावना, मर्म र स्वास्थ्य सेवाकै ऐन, नियम र निर्देशिकामा उल्लेख गरिएको अपांगमैत्री बिशेष व्यवस्था ।

मुख्यमन्त्री ज्यू,
स्वास्थ्यकर्मी शाक्य निश्चय पनि सपांग अवस्थामा जस्तो अहिले सकुशल सक्रिय छैनन् । तर, नेपालको संविधानले अपांगता भएकालाई बिशेष अवसर सहितको व्यवस्था गर्ने परिकल्पना गरेको छ । निजामति सेवा ऐनमै पनि अपांगता भएको कर्मचारीका लागि बिशेष व्यवस्था गरिएको छ ।
१. अपांगता भएको कर्मचारीको पदस्थापन वा सरुवा गर्दा निजको अपांगताको अवस्थालाई ध्यान दिई सम्भव भए सम्म उपर्युक्त स्थानमा गरिनेछ ।
२. अपांगता भएको कर्मचारीको कार्य सहजताका लागि कार्य बातावरण र कार्यालयको भौतिक संरचना अपांगमैत्री बनाउन तथा निजको कामलाई सहजीकरण गर्न कार्यालय प्रमुखले आवश्यक व्यवस्था गर्नुपर्नेछ ।
तर,गण्डकी प्रदेशकै उपप्रादेशिक अस्पतालमो परिचय बदल्दै गरेको धौलागिरी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले दुर्घटना पछिको अपांगता जीवन र त्यही कारणले भोग्नुपरेको अन्याय र पीडामा मुख्यमन्त्री ज्यू बेखबर बन्न मिल्दैन । अब खबर पाए पछि मुकदर्शक बन्न पनि मिल्ने छैन ।

म बिश्वस्त छु कि विगतका तपाईका काम र कदमबाट यो संवेदनशिल बिषयमा तत्काल चासो र पहल कदमी लिनु हुनेछ । र यदी स्वास्थ्यकर्मी शाक्यले दुर्घटना पछिको अपांगताका कारण पहिले जस्तो काम गर्न नसक्नुको सजाय बिदाइ, सरुवा वा अरु केहि हो भने पनि तपाईबाट स्पष्ट निर्देश होस् । संविधान र निजामति सेवा ऐन, नियम, निर्देशिकामा लेखिएका अक्षरहरु कोरा कागज हुन् भने पनि त्यो पनि प्रष्ट होस् । नत्र तपाई मातहतका निकायलाई संविधान, ऐन, कानुनका लेखिएका कुराको कार्यान्वयन गराएर न्यायका निमित्त यथोचित निर्देशन जरुर हुनेछ ।

मलाई यो पनि हेक्का छ कि यो काम स्वास्थ्य मन्त्री ज्यू मातहतको हो । यो पत्र यसर्थमा तपाइलाई नै सम्बोधन गरेर लेख्नु परेको छ कि प्रदेश स्वास्थ्यमन्त्री ज्यू यो घटना र गुनासाका अनेक कालक्रमसँग अपडेट हुनुहुन्छ । यो कुरा उहाँसँग पटक पटक पुगेर पनि सुनुवाई र सम्बोधन हुन सकेन । स्वास्थ्यकर्मी शाक्यको घण्टौ कुरा सुनिसके पछिको निचोडमा पुगेर तपाईलाई यो पत्र लेखिएको हो । अपांगमैत्री संरचना र बातावरण तयार भए आफ्ना हातहरुले काफी काम गर्ने शाक्य बताउँछन् ।

अस्पतालकै दोस्रो तलाको क्वाटरमा बसिरहेकी उनी त्यसका लागि ग्राउण्ड फ्लोरमा क्वाटरको व्यवस्था गरिदिए ह्वील चियरको सहारा लिएर बिरामी चेकअप (निशुल्क औषधि बितरण, बिमा क्लेम, डट्सको औषधि बितरण) लगायतको दैनिकी काम गर्न सक्ने दावी गर्छिन् । अस्पताल प्रशासन पनि यसमा कन्भिस छ । तर, अस्पताल व्यवस्थापन समिति शाक्यले अपांगता भएकै कारण काम गर्न नसक्ने दलिल पेश गर्छ । अस्पताल व्यवस्थापन समिति दुर्घटना पछि अपांगता भोगिरहेकी शाक्यको यति ठुलो आत्मबिश्वासमा बिश्वास नै गर्दैन । यसको एक अपांग मनमा कति आघात पुगिरहेको होला ?

यस्ता संवेदनशिल कुराको हिसाव किताव कसले गर्ला र ? अस्पताल व्यवस्थापन समिति त शाक्यलाई बिदा दिएर उनको दरबन्दीमा अर्को अहेव राख्ने चट्टानी अडानमा देखिन्छ । अस्पताल प्रशासन दोहोरो चपेटामा परेको आभाष हुन्छ । शाक्य यो बारेमा पनि आफ्नो पीडा सहितको तर्क पेश गर्छिन्–‘एउटा कुनै घटना दुर्घटनाले अपांग भएको छु, अपांग हुनु भनेको केहि गर्न नसक्ने हो र ? यो कुनै अपराध हो र ? काम नगरी तलब खान मेरो स्वाभिमानले पनि दिँदैन, म खाँदिन ।’

तर, संविधान, अरु ऐन कानुनको अपांगता सम्बन्धि बिशेष व्यवस्था अनुसारको काम, अवसर र सुविधा दिँदा समितिका कुनै अध्यक्ष, सदस्यको केहि जाने हो र ? बिडम्बना ! एक अपांग महिलालाई किन यसरी खेद्न खोजिएको छ ?

मुख्यमन्त्री ज्यू, यो बिषयलाई गम्भीरतापूर्वक लिइयोस् । मुख्यमन्त्री मात्र होइन, यो समाजका हर जागरुक मानिस यस्तो संवेदनशिल बिषयमा बेखबर बस्न मिल्दैन । नागरिक समाज, अपांगताका क्षेत्रमा काम गर्ने दर्जनौ संघ संस्था र निकाय चुपचाप रहेर मनपरीतन्त्रलाई प्रोत्साहित गर्न कदापी मिल्दैन । कि संविधान, ऐनमै यस्ता कुरा लेख्नु हुँदैन । म गर्छु, म सक्छु, भन्दा पनि बारबार सक्दैनस् भनेर दुर्घटनाबाट ठुलो पीडाबोध गरिरहेको स्वास्थ्यकर्मीको पीडाले तपाईलाई दुख्दैन ? त्यो मनमा अलिकति पनि पोल्दैन होला र मुख्यमन्त्री ज्यू ?

अन्त्यमा, यो पनि बुझिराख्नु पर्नेछ । अब यो सवाल एक अपांग,एक स्वास्थ्यकर्मी शाक्यको मात्रको रहेन र रहनु हुन्न । अपांगता र स्वास्थ्यकर्ममा रहेका नरहेका सबैको साझा सरोकारको बिषय बनोस् । मुख्यमन्त्री ज्यूले तत्काल पहलकदमी लिएर यसको शुरुवातदेखि वर्तमान सम्मको विकसित घटनाक्रम अध्ययन गरेर उपर्युक्त निकास र न्याय दिन सक्नुहोस् । अपांगता भएका र भवितव्यका बीच यस्तो नियति भोग्नेहरुलाई राज्यका निकायले थप पीडा होइन, राज्य हुनुको अपनत्व र आभाष गराओस् । सपांग मात्र होइन, हर अपांग र अरु सबले भनुन् हाम्रो प्रदेश, हाम्रो देश, हाम्रो मुख्यमन्त्री । वस् यति कामना मात्र ।  दिल शिरीष