विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का विरुद्ध देशमा जारी लकडाउनलाई म्याग्दीमा थप कडाई गर्न लागिएको छ । यसैक्रममा मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा जिल्लाका सुरक्षा अधिकारीसहितको टोलीले बजारको अनुगमन गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालसहित सुरक्षा अधिकारीहरुको टोलीले बेनीबजारको स्थलगत रुपमा अनुगमन गरेको छ ।

पछिल्लोपटक सदरमुकाम बेनीबजारमा लकडाउनको उल्लङ्घन बढ्दै जान थालेपछि प्रजिअ ढकाल स्वयं अनुगमनमा निस्किएका हुन् । सोही क्रममा अनुगमन टोलीले बजारमा अनुमतिविना चलेका गाडी, मोटरसाईकल र स्कुटर गरी १९ ओटा सवारीसाधनको चाबी नियन्त्रणमा लिएको थियो ।

चाबी नियन्त्रणमा लिएका सवारी धनीहरुलाई आगामी दिनमा गल्ती नदो¥याउने प्रतिबद्धता गर्न लगाएर प्रहरी कार्यालयमार्फत फिर्ता गरिएको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुनाले लकडाउनको अवस्थालाई थप कडा बनाउनका लागि आफूहरु अनुगमनमा निस्किएको प्रजिअ ढकालले बताएका छन् । अनुगमनका क्रममा बेनीबजारमा लकडाउनको पालना कमजोर भेटिएको बताउँदै आवश्यक सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

प्रजिअ ढकालले बेनीमा सञ्चालित खाद्यान्न, तरकारी, डेरी, बैंक तथा वित्तीय संघसंस्थाहरुलाई लकडाउनको पूर्ण रुपमा पालना र सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् । उनले सबै पसल तथा बैंक वित्तीय संस्थाले अनिवार्य रुपमा साबुनपानी र स्यानीटाइजरको व्यवस्थापन गर्नुपर्ने बताए ।

बेनीमा लकडाउनको पालना जम्मा २० प्रतिशत मात्रै भएको अनुगमन टोलीको ठहर छ । यसैगरी छिमेकी जिल्ला पर्वतबाट बेनी आउन व्यक्तिगत परिचय खुल्ने, नागरिकता, मतदाता परिचयपत्र वा सम्बन्धित कार्यालयको परिचय खुल्ने कागजात अनिवार्य देखाउनुपर्नेछ ।

Leave a Reply